केही समयको बहस र प्रयत्न पश्चात ‘नयाँ शक्ति’ ले केही दिनअघि राजधानीमा आफ्नो स्थापना सभा सम्पन्न गर्यो । मानिसहरु शुरुवातदेखि नै नयाँ शक्तिको वैचारिक धार के हो ? यो पुँजिवादी शक्ति हो कि साम्यवादी ? वामपन्थी हो कि लोकतान्त्रिक ? जस्ता प्रश्न उठाइरहेका छन् । एउटा आश्चर्यजस्तो पनि भएको छ । पुँजिवादीदेखि साम्यवादीसम्म, अनि प्रशासकदेखि कलाकारसम्म, चारतिर फर्किएका मानिसहरु एक ठाउँमा आएका छन् ? यस्तो खिचडी संरचनाबाट कसरी पार्टी बन्छ ? मानिसहरु अझै शंका गरिरहेका छन् ।
मोहन तिम्सिना
तर, मानिसहरुको शंका र आजको सामाजिक यथार्थ फरक छ । पुँजिवादी वा साम्यवादी विचारको पक्ष नलिई नयाँ पार्टीको औचित्य नै सिद्ध हुदैन भन्ने बुझाई नै शास्त्रीय हो । विश्वमा यतिबेला शुद्ध पुँजिवादी वा शुद्ध साम्यवादी कोही पनि छैन । कोही यस्तो बन्छु भन्छ भने त्यो सम्भव पनि छैन । दुवैथरि राजनीतिक बिचारका सान्दर्भीकता र प्रयोजन धेरै खुम्चीइसकेका छन् । ति बिचारधारा आफ्नै ऐतिहासिक सिमाका कारण खुम्चिएका हुन् । त्यसैले ‘नयाँ शक्ति’ जन्मने प्रकृयामा शास्त्रीय सोचको सीमा तोडिन सम्भव भएको हो ।
आजको समाज बदलिएको छ । मानवीय ज्ञान बदलिएको छ । विज्ञान, दर्शन एवं चिन्तन प्रणालीका बिषयहरु शास्त्रीय ज्ञानको तगारोबाट बाहिर आइसकेका छन् । विश्वमा नौला एवं बैकल्पिक चिन्तन प्रणाली स्थापित हुँदैछन् । जसका कारण राजनीतिमा असम्भव भनिएका विषयहरु सम्भव बन्दैछन् । सम्भव भनिएका बिषयहरु असम्भव बन्दैछन् । नेपालमा नयाँ शक्तिको जन्म र बिकास यस्तै असम्भव मानिएको तर सम्भव हुन सक्ने घटना हो ।
यान्त्रिक चिन्तनको प्रभावः
सोह्रौं शताव्दीबाट युरोपमा यन्त्र निर्माण एवं भौतिक बिज्ञानमा प्राप्त सफलताका कारण विश्वभरि नै यान्त्रिक चिन्तन परम्पराको हाइहाइ भयो । सिंगो प्रणालीभित्र स्वतन्त्र आधारभूत इकाई (बेसिक बिल्डिङ्ग ब्लक) को खोजी गर्ने र आधारभुत इकाइको अध्ययनका निश्कर्ष समग्र प्रणालीमा हुबहु लागु गर्ने पद्धति नै यान्त्रिक पद्धति हो । यस्तो पद्धति राजनीतिक बिचारधारामा मात्र होइन, तत्कालीन समाजशास्त्र, जीव विज्ञान, औषधि विज्ञान, मनोविज्ञान, सबैमा अपनाइयो । कतिसम्म भने, समाजशास्त्रका संस्थापक मानिने अगस्ट कम्प्टले आफ्नो विषयलाई ‘सोसियल फिजिक्स’ भनेका थिए । रेने डेकार्टले मानिसको शरीरलाई यन्त्रसँग तुलना गरेका थिए ।
बीसौं शताव्दीको उत्तरार्धसम्म आउँदा भौतिक विज्ञानको क्षेत्रमा ‘क्वान्टम भौतिकी’ र चेतना विज्ञानको क्षेत्रमा ‘प्रज्ञा विज्ञान’ -कग्नीटिभ साइन्स) को विकास भयो । यी खोजले यान्त्रिक चिन्तनका सिमालाई देखाए । भौतिक वस्तु र चेतनाको क्षेत्रमा भएका गहिरा अनुसन्धानले अन्त्यतः परम्परागत चिन्तन पद्दति नै बदल्नुपर्ने निश्कर्ष निकाल्यो । अर्थात यान्त्रिक विधिबाट अब विज्ञान सर्वाङ्गीण पद्धतिको विधिमा आइपुग्यो । यसले सामाजिक/राजनीतिक चिन्तनको क्षेत्रमा वैकल्पिक विचारका लागि बाटो खुल्ला गरिदियो । आज हामी यस्तै समयमा छौं । तर, हामीमा यो बहसले भर्खर मात्र प्रवेश पाएको छ । त्यसैले नयाँ शक्तिको स्थापना मूलतः यान्त्रिक चिन्तनबाट सर्वाङ्गिण चिन्तन तर्फको संक्रमण हो ।
एक मुहान तीन धाराः
यान्त्रिक चिन्तनको जग बसाउने काम युरोपका तीन चिन्तकले गरेका थिएः फ्रान्सिस बेकन (१५६१ -१६२६), रेने डेकार्ट (१५९६-१६५०) र आइज्याक न्युटन (१६४२-१७२६) । फ्रान्सिस बेकनले वस्तुगत अवलोकनमा जोड दिए । रेने डेकार्टले चेतना र पदार्थलाई अलग र स्वतन्त्र अस्तित्व दिए । न्युटनले स्थूल वस्तुको गतिको नियम सुझाए ।
औद्योगिक युगका विचाराधारहरु यिनै तीन व्यक्तिका निश्कर्षको वरिपरि घुमेका छन् । पुँजिवादी, जातिवादी र साम्यवादी बिचारधारा, माथिका तीन निश्कर्षको जगमा तयार भए । अझ यसो भन्न सकिन्छः पुँजीवाद, जातिवाद र साम्यवाद एउटै मुहानबाट पैदा भएका तीन धारा हुन् । यसो भन्दा आश्चर्य हुन सक्छ । तर, तीनै बिचारधारा निर्माणको पद्धति हेर्ने हो भने यो तथ्य स्पष्ट हुन्छ ।
पुँजिवादी र साम्यवादी विचारधाराले दैविक चिन्तनको खण्डन गरेका छन् । पुँजीवादका प्रणेता जोन लकले ‘व्यक्ति’को अध्ययनबाट र साम्यवादका प्रणेता कार्ल माक्र्सले ‘वर्ग’को अध्ययनबाट समाजलाई हेर्न खोजे । जातिवादीहरुले नस्ल वा वंशीय गुणको अध्ययनमा जोड दिए । जसरी सूक्ष्म र स्वतन्त्र पार्ट- पुर्जाको गठजोडबाट एउटा सिंगो यन्त्र तयार हुन्छ, त्यसरी नै जोन लकका लागि व्यक्ति, जातिवादीका लागि नश्ल र माक्र्सका लागि वर्ग त्यो आधारभूत इकाई हो, जसबाट समग्र सामाजिक प्रकृयाको अध्ययन गर्न सकिन्छ । सामाजिक चिन्तनमा उनीहरुका लागि जहिल्यै यी विषय प्राथमिकतामा रहन्छन् ।
सामाजिक गतिको नियमबारे जोन लक स्वस्फूर्त विकासमा विश्वास गर्दछन् । जसरी यन्त्रमा उर्जा प्रयोगबाट लगातार एउटै दरमा गति पैदा गर्न सकिन्छ, समाज पनि स्वस्फूर्त गतिमा चलायमान हुन्छ भन्ने उनको ठम्याइ छ ।
जातिवादीहरु समाजको गति जातीय विकासको सेरोफेरोमा घुम्छ भन्दछन् । अर्कोतिर माक्र्सले ‘क्रिया र प्रतिक्रिया बराबर र विपरीत हुन्छन’ भन्ने न्युटनको यान्त्रिक गतिको नियमलाई आफ्नो सामाजिक विचारधारामा लागु गरेका छन् । समाजमा विपरीत वर्गवीचको द्वन्द्वले नयाँ र गुणात्मक परिवर्तन हुन्छ र यो एकल रेखीय दिशा -लिनियर डाइनामिक्स)मा अगाडि बढ्छ भन्ने उनको ठम्याइ छ ।
जोन लक, समाज गोलचक्कर (साइक्लीकल) को शैलीमा गतिशील हुन्छ भन्दछन् । फलतः उनी पुँजिवादी व्यवस्थालाई नै चिरस्थायी देख्दछन् । जातिवादीहरु जातीय गोलचक्करमा विस्वास गर्दछन् । अर्कोतिर माक्र्स एकल रेखीय (लिनियर) विकासमा विश्वास गर्दछन् । त्यसैले उनले आदिम साम्यवाद- दास युग-सामन्ती युग-पुँजीवादी युग-समाजवादी युग र साम्यवादी युगको एकल रेखीय परिपथ कोरेका छन् । यसरी पुँजीवाद, जातिवाद र साम्यवाद यान्त्रिक पद्धतिको एउटै मुहानबाट पैदा भएका तीन शास्त्रीय विचारधारा हुन् ।
बैचारिक संकट:
यान्त्रिक युगका ज्ञान र विचारधारा आज कामै नलाग्ने भए भन्ने होइन । जस्तो कि व्यक्तिगत स्वतन्त्रता र व्यवसायिक स्वतन्त्रताको वकालत, बहुदलीयता, आवधिक निर्वाचन, जनप्रतिनिधिको महत्वमा जोड, प्रकाशन एवं वाक स्वतन्त्रता, कानुनको आँखामा सबै समान जस्ता मान्यता पुँजीवादी विचारधाराका सान्दर्भिक विषय हुन् । सामुदायिक संवेदनशीलतामा जोड दिनुपर्छ भन्ने जातिवादीहरुको विचारलाई पनि आजको युगमा नजरअन्दाज गर्न सकिँदैन ।
त्यसैगरी कमजोर वर्गको पक्षधरता, महिला अधिकार, ट्रेड युनियन अधिकार, शोषणविरुद्ध जवरजस्त संघर्ष, राष्ट्रिय स्वाधीनतामा जोड, शक्तिशाली एवं जनताप्रति उत्तरदायी राज्य जस्ता मान्यता साम्यवादी बिचारधाराका सान्दर्भिक विषय हुन् । साथै यी सम्बन्धित विचारधाराका सवल पक्ष पनि हुन् ।
यी सवलता हुँदाहुँदै पनि तीनवटै विचारधाराको दोष के हो भने यिनीहरु एकांगी छन् । सर्वाङ्गीण चरित्रको प्रकृति र सामाजिक प्रणालीलाई यिनीहरु टुक्रा टुक्रामा हेर्दछन्, साथै यान्त्रिक परिवर्तनको आग्रह राख्दछन् । जुन असम्भव छ । यस्तै दोषका कारण मानव समाज पुँजीवादी, जातिवादी वा साम्यवादी नेताले परिकल्पना गरेको बाटो हिँडेन ।
विभिन्न वाद र विचारका नाममा मानवीय सभ्यताले आज पनि चरम शोषण र शक्ति अभ्यास, मानवता बिरोधी नेतृत्व, लैंगिक बिभेद, साम्राज्यवादी होडबाजी, साम्प्रदायिक द्वन्द्व, प्राकृतिक श्रोतको अन्धाधुन्द दोहन, वातावरण विनास र मनोसंकटका समस्या भोगिरहेको छ । आजका परम्परागत राजनीतिक बिचार वा दलसँग यि बैश्विक संकट समाधानको विधि छैन । त्यसैले बैश्विक/बैचारिक संकट नै यतिबेलाको मुख्य समस्या हो ।
सर्वाङ्गीण पद्धति:
मानवीय ज्ञानको इतिहासमा ‘क्वान्टम भौतिकि’ र ‘प्रज्ञा बिज्ञान’ यस्ता विषय हुन् जसले मानवजातिलाई यान्त्रिक चिन्तन परम्पराबाटै अलग गरिदिन्छ । साथै यसले प्राचीन पूर्वीय योग चिन्तन पद्धतिसँग अत्याधुनिक विज्ञानको कडी जोड्न बाध्य गराउँछ । फलत: जीव विज्ञान, औषधि विज्ञान, मनोविज्ञान, समाजशास्त्र, अर्थशास्त्र र राजनीतिशास्त्र जस्ता विषयमा पनि बैकल्पिक बिचारहरुले प्रवेश पाउँछन् ।
बैकल्पिक विचारको पहिलो जोड प्रणाली दृष्टिकोण (सिस्टम एप्रोच)सँग सम्बन्धित छ । बैकल्पिक दृष्टिकोणमा प्रकृति र समाजको सूक्ष्म तहमा आधारभूत इकाई (बेसिक बिल्डिङ्ग ब्लक) भन्ने नै हुँदैन । यसको विल्कल्पमा प्रकृति र समाजलाई ‘चार आयामीय दृष्टिकोण’ (म्याटर, फर्म, प्रोसेस र मिनिङ्ग)मा हेरिन्छ । प्रकृति र समाजमा यी चार आयामहरु अन्योन्याश्रति सम्बन्धमा हुन्छन् ।
प्रकृतिमा कण र तरंग, स्थान र समय, स्थूल र सूक्ष्म, पिण्ड र उर्जा त्यसैगरी समाजमा श्रम र पुँजी, व्यक्ति र समाज, जाति र राज्य, निजत्व र सामुहिकता, संरचना र प्रकृया, वर्गीयता र मानवीयता जस्ता प्रणाली एउटै यथार्थका दुई पक्ष हुन् । यिनीहरु कहिल्यै पनि एकले अर्कोलाई निषेध गर्दैनन् । अलग-थलग पनि हुन सक्दैन बरु परिपूरक भूमिकामा अन्तरकृया गर्दछन् । त्यसैले बैकल्पिक बिचारले एकांगी पाराले आदर्शवादी, वर्गवादी, व्यक्तिवादी वा जातिवादी वकालत गर्दैन । बरु यस्ता बिभिन्न सामाजिक प्रणालीलाई अन्तरनिर्भर र अन्तरसम्बन्धित सञ्जाल मान्दछ ।
दोश्रो, यसको अध्ययन विधि हो । प्रकृति र समाजको परिवर्तनमा स्थूल तत्वभित्र सूक्ष्म कारकको तत्ववोध यसको बिल्कुलै नौलो अवधारणा हो । यान्त्रिक विधिमा सूक्ष्म कारकको स्थान हुँदैन । सरलबाट शुरु गरेर जटिलमा लगेर निश्कर्ष थोपर्ने काम हुन्छ । अंश हेर्ने र समग्रको धारणा बनाउने काम हुन्छ । संरचनाको अध्ययनमा जोड हुन्छ र प्रकृया जहिल्यै सहायक स्थानमा हुन्छ ।
बैकल्पिक बिधिमा यसको ठीक उल्टो, जटिलबाट सरलतिर, सूक्ष्मबाट स्थूलतिर, समग्रबाट अंशतिर, प्रकृयाबाट संरचनातिर अध्ययन गरिन्छ । दुई पक्षहरु परिपूरक हुन्छन् भन्ने बुझाइ सहित ।
तेश्रो, यसको परिवर्तनको नियम हो । यान्त्रिक सोच राख्ने एकथरि गोलचक्करको परिवर्तन (साइक्लीकल चेञ्ज) मा र अर्कोथरि अगाडि-पछाडिको परिवर्तन (डेभलपमेन्टल चेञ्ज) र त्यसमा पनि एकल रेखीय बिकास (लिनियर डाइनामिक्स) मा बिश्वास गर्दछन् । बैकल्पिक बिचारमा गैरएकलरेखीय विकास (नन्लिनियर डाइनामिक्स) मा विश्वास गरिन्छ । अर्थात समाजको परिवर्तन यान्त्रिक गणित अनुसार हुँदैन ।
समाजमा माथिका दुबैखाले परिवर्तन एकसाथ चलिरहेका हुन्छन् । जसको परिणाम सूक्ष्म तहमा प्रकृति र समाजको गतिको गणितीय दिशा हुँदैन । दुबैखाले परिवर्तनप्रति गतिशील सन्तुलन (डाइनामिक ब्यालेन्स) को नीतिमा रहेर मानिसले समाजलाई न्यायपूर्ण दिशा दिने प्रयत्न गर्नुपर्दछ ।
चौथो, लक्ष निर्धारण । पूँजीवादी र जातिवादीहरु गोलचक्करको परिवर्तनमा विश्वास गर्दछन् । त्यसैले यथास्थिति उनीहरुको लक्ष हुन जान्छ । साम्यवादीहरु एकलरेखीय बिकास, मात्राबाट गुणमा संक्रमण आदिमा विश्वास गर्दछन् । त्यसैले उनीहरुको लक्ष निजी धन, मुद्रा, बजार र राज्यलाई निषेध गर्ने साम्यवादसम्म पुग्छ ।
लक्ष निर्धारणमा यी दुवैखाले निश्कर्ष यान्त्रिक गतिको नियममा आधारित छन् । त्यसैले यस्ता बिचारले सामाजिक असन्तुलन र भेदभाव पैदा गरेको अनुभव हाम्रा सामु छ । बैकल्पिक पद्धतिले न त यथास्थितिवादी न त निषेधकारी (साम्यवादी) लक्ष लिन्छ । गतिशीलता र सन्तुलनमा आधारित समुन्नत एवं सर्वाङ्गीण समाजवाद नै बैकल्पिक शक्तिको लक्ष हुन सक्छ ।
यति चर्चापछि नयाँ शक्ति पुँजिवादी कि साम्यवादी भन्ने प्रश्न निरर्थक भएको हुनुपर्दछ । वास्तवमा नयाँ शक्ति पुँजिवादी र साम्यवादी दुवै होइन । यी दुईलाई अन्तरघुलन (फ्युजन) गराउने बिचारमा पनि नयाँ शक्तिले बिश्वास गर्दर्ैन । किनकि विपरीत तत्वहरु अन्तरघुलित हुँदैनन् । बरु गतिशील सन्तुलनमा रहन सक्छन् । त्यसैले नयाँ शक्तिको मूलमन्त्र दुईवटा छन् । पहिलो सर्वाङ्गीण दृष्टि र दोश्रो गतिशील सन्तुलन (डाइनामिक ब्यालेन्स) ।
नयाँ शक्ति परम्परागत वाम (लेफ्ट) वा दक्षिण (राइट) पनि होइन । बरु दुवै खुट्टाको गतिशील सन्तुलनमा अगाडि बढ्न चाहने ‘अग्रपन्थी’ (फ्रन्टिस्ट) हो । त्यसैले अब भनौं यान्त्रिक चिन्तन बाई बाई, सर्वाङ्गीण चिन्तन हाई हाई !
Post a Comment