Websoft University

www.radiomakalu.com || 021-522512


जब ओर्लिनेछ नेपाली टोली 'क्रिकेटको मक्का' लर्ड्समा



साउन ४ गते लर्ड्स क्रिकेट मैदानमा हुने खेलमा भाग लिन नेपालको राष्ट्रिय क्रिकेट टोली सोमबार बेलायत जाँदै छ।

क्रिकेटको जननी बेलायतको राजधानीमा रहेको लर्डस विश्वकै सबैभन्दा सम्मानित र ऐतिहासिक महत्व बोकेको मैदान हो। 'होम अफ क्रिकेट' भनेर चिनिने लर्डसलाई धेरैले 'क्रिकेटको मक्का' भन्ने गर्छन्।

लर्ड्समा स्थानीय क्लब एमसीसीविरुद्ध खेल्ने अवसरलाई 'गोल्डेन अपर्च्युनिटी'का रूपमा लिएको कप्तान पारस खड्काले बताए। एफिलेटेड र एसोसिएट राष्ट्रका खेलाडीले सजिलै यहाँ खेल्ने मौका पाउँदैनन्। नेपाल र बेलायतबीच दौत्य सम्बन्ध स्थापना भएको दुई सयौं वर्षगाँठ मनाउने क्रममा नेपाली खेलाडीलाई यो अवसर जुटेको हो।

'यो हाम्रो लागि गौरवको क्षण हुनेछ,' बुधबार कीर्तिपुरमा अभ्यास खेल सकेर मैदानबाट बाहिरिँदै कप्तान पारसले सेतोपाटीसँग भने,'हामी त्यहाँ बेस्ट क्रिकेट खेल्ने प्रयास गर्नेछौं।'

एक महिनादेखि बन्द शिविरमा खेलाडीलाई प्रशिक्षण गराइरहेका प्रमुख प्रशिक्षक जगत टमाटा लर्ड्समा खेल्ने अवसरले खेलाडीमा जोश थपेको बताउँछन्। ५० ओभरको खेलका प्रत्येक बलमा खेलाडीको प्रदर्शन नियालेका उनले भने 'लर्ड्समा खेल्ने हरेक क्रिकेटरको सपना हुन्छ, यो अवसर पाउँदा उनीहरू एक्साइटेड छन्।'

५० ओभरको क्रिकेट खेलेर मैदानबाहिर निस्किएका खेलाडीमा देखिएको उत्साहले उनको भनाई पुष्टि गरिरहेको थियो। नेपालको जर्सी पहिरिएर लर्ड्समा उत्रिने दिन नजिकिँदै गर्दा खेलाडीको उत्साह भने बढ्दै गएको छ। नेपालको नेतृत्व गर्दै लर्ड्समा उत्रिन लागेका पारसले भने,'क्रिकेटरको पहिलो सपना राष्ट्रिय टोलीबाट खेल्ने हुन्छ,त्यसपछि लर्ड्समा खेल्ने। हाम्रो यो सपना पुरा हुँदैछ।'

क्यान निलम्बनका कारण नेपाली क्रिकेटको छवि नकारात्मक भइरहेको बेला लर्ड्समा खेल्दै आफ्नो प्रतिभा र क्षमताको परिचय दिने अवसरको रुपमा पनि खेलाडीहरू तयार छन्। नेपाली क्रिकेटलाई फेरि एकपटक विश्वसामू प्रस्तुत गर्ने मौका आएको पारस बताउँछन्।

सोमबार लण्डन उड्नुअघि शनिबारसम्मै खेलाडीहरू प्रशिक्षणमा नै रहने प्रशिक्षक जगतटाले बताए।



नेदरल्याण्ड्स विरुद्ध हुने खेलको तयारी

लर्ड्समा हुने एमसीसीविरुद्धको खेललाई नेपालले साउन अन्तिममा हुने विश्वक्रिकेट लिगको तयारीको रुपमा लिएको छ। विश्वक्रिकेट लिगमा साउन २९ र ३१ गते नेपाल र नेदरल्याण्ड्सबीचको खेल हुँदैछ।

विश्व क्रिकेट लिग च्याम्पियनसिपमा तेस्रो चरणको खेल सकिँदा नेदरल्याण्ड्स १० अंकसहित शीर्ष स्थानमा छ। लिगका छ खेल सकिँदा नेदरल्याण्ड्स अपराजित छ। नामिबियाविरुद्धका दुई खेल जितेर ४ अंक जोडेको नेपाल छैटौं स्थानमा छ। यो खेल नेदरल्याण्ड्सकै घरेलु मैदानमा हुँदैछ। त्यसैले जितको दबाबमा रहेको नेपालका लागि यो खेल निकै चुनौतिपूर्ण हुनेछ। अझ युरोपमा क्रिकेट खेल्नु नेपाली खेलाडीका लागि फलामको चिउरा चपाउनुजस्तै हुने गरेको इतिहास छ। त्यसैले, बेलायत टुरलाई लिगको तयारीका रुपमा लिएको प्रशिक्षक टमाटाले बताए।

युरोपमा नेपालकोभन्दा फरक 'कन्डिसन'मा खेल्नुपर्ने हुँदा खेलाडीहरूले खुलेर खेल्न सक्दैनन्। यसका लागि युरोपमा नै अभ्यास गर्नुको विकल्प नभएको नभएको टमाटा बताउँछन्। 'बेलायत र नेदरल्याण्ड्सको 'कन्डिसन' समान हुने भएकाले बेलायतमा खेल्न पाउनु हाम्रो लागि राम्रो हो,' उनले भने, 'यसले युरोपको 'कन्डिसन'मा 'एडजस्ट' हुन खेलाडीहरूलाई सजिलो हुन्छ।'

बेलायतको तयारीले यसअघि आयरल्याण्डमा भएको टी-२० विश्वकप छनोट र स्कटल्याण्डमा भएको विश्वक्रिकेट लिग च्याम्पियनसीप अन्तर्गत पहिलो चरणको प्रदर्शन बिर्साउने उनको भनाई छ। बेलायतमा टुरमा राष्ट्रिय टोलीले एमसीसीसहित अन्य स्थानीय क्लबहरूसँग पाँच खेल खेल्ने छ। तीनवटा पचास ओभरको, एउटा ४० ओभरको र एउटा २० ओभरको खेल हुने उनले जानकारी दिए।

बेलायत यात्राको तयारीबारे जानकारी दिँदै उने भने, 'हामीले जोसँग खेल्दै छौं, ती सबै राम्रा टीमहरू हुन्, बेलायतमा ए लेभलको क्लब क्रिकेट खेलेका खेलाडीहरू र बेलायतबाट कम्तीमा 'लिस्ट ए'का खेलाडीहरू नेपालविरूद्ध खेल्दैछन्। यी सबै खेललाई हामीले अभ्यास र तयारीकै रुपमा लिएका छौं।'



क्याम्पको तयारी

एक महिनादेखिको बन्द प्रशिक्षण शनिबार सकिँदैछ। शिविरमा सहभागी २४ मध्ये १५ खेलाडी बेलायत यात्राका लागि छानिइसकेका छन्। यसपटक अनिल मण्डल, सुवास खकुरेल र विक्रम शोब टिममा फर्किएका छन्।

'हामीले एक महिनासम्म प्रदर्शन हेरेर नै छनोट गरेका हौं' कप्तान पारसले भने, 'हामी बेलायत जाने भए पनि नेदरल्याण्ड्सको खेलमा फोकस गरेका छौं।'

ओपनिङ ब्याट्सम्यानद्वय खकुरेल र मण्डल तथा फास्ट बलर शोबलाई टीममा समावेश गरिएको प्रशिक्षक टमाटाले जानकारी दिए।

खेलाडीको 'फिटनेस' सबैभन्दा राम्रो अवस्थामा आइपुगेको उनले बताए। 'अब खेलाडीको यो कन्डिसनलाई एक महिना स्थिर राख्नुपर्ने हुन्छ,' उनले भने,'तर अहिले उनीहरू फिटनेस पर्फेक्ट छ।'

कप्तान पारसले पनि टिमका सबै खेलाडीको फिटनेस राम्रो भएको बताए। साथै, अभ्यासका दौरान भएका प्रत्येक खेलमा कुनै न कुनै खेलाडीले राम्रो प्रदर्शन गरिरहेको जानकारी दिए।

'क्लोज क्याम्प एकदमै राम्रो भयो,' उनले भने,'सबैले खेल्न सक्यौं भने हामी सहजै जित हात पार्न सक्छौं।'

यसपटक ब्याटिङमा पनि राम्रो सुधार भएको प्रशिक्षक टमाटाले जानकारी दिएका छन्।



क्यान बिनाको तयारी

क्यान निलम्बित अवस्थामा रहेका कारण नेदरल्याण्ड्सविरुद्धको खेलको तयारी गर्ने जिम्मा आइसीसीले सिइओ भावना घिमिरे, प्रशिक्षक जगत टमाटा र कप्तान पारस खड्कालाई दिएको थियो। घिमिरेले सिइओबाट राजिनामा दिएपछि तयारी थप अन्योलमा परेको छ।

तयारी शिविरमा भने क्यान निलम्बनको कुनै प्रभाव पर्न नदिएको प्रशिक्षक टमाटाले बताए। नेदरल्याण्ड्विरुद्धको खेलमा मात्र खेलाडीहरूलाई केन्द्रीत गरेको उनको भनाई छ। सिइओ घिमिरेले राजीनामा दिए पनि आइसीसीले दिएको जिम्मेवारीअनुसार तयारीमा सहयोग गरिरहेको टमाटाले जानकारी दिए।

खेलाडीको मनोबलमा क्यान निलम्बनको कुनै प्रभाव नरहेको दाबी कप्तान पारसको पनि छ। उनले भने, 'क्यानको अवस्था कस्तो छ भन्ने हामीलाई पहिला पनि थाहा थियो, हामीले राम्रो खेलिरहेका थियौं। यसपटक सबैलाई थाहा भएको छ, फरक त यतिमात्रै हो। हामीले त्यता ध्यान दिएका छैनौं।'

क्याम्प सुरु भएदेखिको खेलाडीको पारिश्रमिक भने आइसीसीले नै दिने भएको छ। पहिले क्यानले निर्धारण गरेको ग्रेड अनुसार तोकिएको तलब आइसीसीले नै उपलब्ध गराउने भएको हो। यस्तै खेलाडीका अन्य सुविधा यसअघि क्यानले दिएअनुसार नै आइसीसीले उपलब्ध गराउने प्रशिक्षक टमाटाले जानकारी दिए।

क्यान निलम्बित रहेको अवस्थामा आइसीसीसँग सिधै काम गर्दा केहि कठीनाइ भने थपिएको उनले बताए। उनले भने,'तयारीमा लाग्ने खर्च तथा खेल सामग्री अलि ढिलो आइपुग्छ। आइसीसीमा अलि धेरै प्रकृया पुरा गर्नुपर्छ। यसले अलि अप्ठ्यारो भयो।'

साथै दुई वर्षदेखि राष्ट्रिय प्रतियोगिता नभएको हुँदा नयाँ खेलाडीलाई क्याम्पमा समावेश गर्न नसकेको उनले बताए। 'हामीलाई नयाँ ट्यालेन्ट आवश्यक हुन्छ,' उनले भने,'दुई वर्षदेखि नेसनल नहुँदा हामीले नयाँ खेलाडीलाई क्याम्पमा ल्याउन सकेनौं।'

आइसीसीले मान्यता दिएको खेल नभए पनि बेलायत यात्राको सम्पुर्ण जिम्मेवारी आइसीसीले नै लिएको छ। नेदरल्याण्ड्सविरुद्धको खेलको तयारीस्वरुप नै बेलायत यात्राको जिम्मेवारी आइसीसीले लिएको हो।

विश्वक्रिकेट लिगको अन्तिम चारमा परे नेपालले सन् २०१९को विश्वकपको छनोट खेल्न पाउँछ। छमध्ये चार खेल हारेको नेपाललाई जित्नै पर्ने दबाव छ।

तयारी र अभ्यास जति राम्रो भए पनि दुईवटा खेलमा नेपालले गर्ने प्रदर्शन नै निर्णायक हुने उनले बताए। कप्तान खड्काले भने,'हामीले जित्नै पर्ने छ। नेदरल्याण्ड्स बलियो टोली हो र हामी उसकै घरेलु मैदानमा खेल्दै छौं। तर हामीले नेदरल्याण्ड्सलाई हराउनै नसक्ने भन्ने छैन। हामी जितका लागि खेल्ने छौं।'- सेतोपाटीबाट  

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget