Websoft University

www.radiomakalu.com || 021-522512


स्वास्थ्यका क्रान्तिः जिउ चिस्याउन सलाइन, बिरामी भयो कि भिडियो एक्स–रे !

-डा. समिर लामा , प्यूठान जिल्ला अस्पताल
विश्वमा स्वास्थ्य क्षेत्रमा धेरै क्रान्तिहरु भएका छन्, ‘पेनिसिलिन’ नामक पहिलो एन्टिबायटिकको खोज, मधुमेह रोगीको लागि वरदान ‘इन्सुलिन’ को खोज, म्रिगौला, मुटु, फोक्सो, आँखा जस्ता विभिन्न अंगहरुको प्रत्यारोपण शल्यक्रिया आदी ।

विश्वमा भएका यी र यस्ता खोज, आविष्कार, क्रान्तिहरुले आजको स्वास्थ्य क्षेत्र यहाँसम्म पुगेको हो । हाम्रो देशमा पनि स्वास्थ्य क्षेत्रमा केही क्रान्तिहरु भएका रहेछन् ! जसले गर्दा हाम्रो स्वास्थ्य क्षेत्र आजको अवस्थामा आइपुगेको रहेछ ! देशका विभिन्न गाउँसहरहरुमा काम गर्दै जाँदा थाहा हुँ
दैछ । यस्ता केही क्रान्तिहरुबारे यहाँ चर्चा गर्न खोजिरहेको छु ।

सलाइन क्रान्ति
मेडिकल स्कुलमा ‘सलाइन’ भन्ने कुरा प्रेसर एकदमै कम भएको अवस्था अर्थात् ‘शक’को अवस्था, शरीरमा पानी कम भएको र मुखबाट खान नसक्ने अवस्थामा दिनुपर्छ भन्ने पढिएको थियो । गाउँघरतिर त सलाइन तातो जीउलाई चिसो बनाउन, शरीरको गर्मीलाई शान्त गर्न, कमजोर मान्छेलाई तागत दिन दिइने रहेछ ! यो पनि हामीले यति धेरै र नियमित दिन थालेका रहेछौं कि मान्छेहरु ‘मलाई सलामी चढाउने बानी लागेको छ, गर्मी लाग्यो भने बेला–बेलामा चढाइरहनुपर्छ’ पनि भन्दारहेछन् ।

प्युठानतिर सलाइनलाई ‘सलामी’ भनिदो रहेछ, अपभ्रंश भएर होला शायद । यो सलाइन चढाउनुपर्ने कस्तो अवस्था हो ? सलाइन चढाउनुलाई हामीले कति सामान्य बनाएका हौं ? यसो कमजोरी जस्तो लाग्यो चढायो, यसो गर्मी लाग्यो चढायो । समाजमा यस्तो ‘सलाइन क्रान्ति’ गराउने हाम्रै दाजुभाई दिदीबहिनीहरु हुन् । जसले वर्षौंदेखि त्यसरी नै गलत तरिकाले पढाएर, बुझाएर, सम्झाएर धेरै सलाइनहरु चढाएका छन्, चाहे त्यो केही आम्दानीको लोभमा होस् वा नजानेर होस् । तर, अब क्रान्ति भइसकेको छ र ‘अस्पताल गएपछि सलाइन झुण्ड्याउनैपर्छ, यो तागतको लागि हो, यसले जीउ चिसो बनाउँछ’ भन्ने सोच यति नराम्ररी गडिसकेको छ कि यस्तो हैन भनेर भन्यो भने आफैं जोकर बनिने रहेछ ।

भिटामिन क्रान्ति
मेडिकल कलेज पढ्दा ‘भिटामिन’ भनेको शरीरका विभिन्न अंगहरुमा हुने रसायनिक प्रतिक्रियाहरुमा सहयोग गर्ने यौगिक हो भनेर चिनिएको थियो । अहिले समाजमा आएर हेर्दा त यो ‘तागतको औषधी’ पो बनेको रहेछ । बिरामीलाई जेसुकै रोग लागोस् एउटा चम्किलो र रहरलाग्दो शिशीको भिटामिन थमाइएको हुँदो रहेछ । ‘रोगले कमजोर बनाउँछ, औषधीले कमजोर बनाउँछ, तागत चाहिन्छ, खाना रुच्दैन, भिटामिन लानुस् ।’

बिरामीलाई भिटामिन भिडाउन पनि कति सजिलो । वर्षौंदेखी हामीले यसरी नै भिटामिन खुवाउँदै आएकाले अहिले त बिरामी आफैंले नै भिटामिन माग्न थालेका छन्, लेखिदिएन भने चैं अचम्ममा पर्छन् । औषधी पसलबाट आफैंले किनेर लान्छन्, खान्छन् । शरीरलाई तागत त के देला र खै, मनलाई चै अब मैले भिटामिन खा’छु सब ठीक हुन्छ’ भन्ने भ्रम देला ।

एन्टिबायोटिक क्रान्ति
नेपालमा अहिले एन्टिबायटिकको नाम नसुन्ने र यो नखाएको मान्छे नै भेटिदैन होला । यो हाम्रै एन्टिबायटिक क्रान्तिको देन हो । यो अहिले देखिएको सबैभन्दा डरलाग्दो र घातक क्रान्ति हो । ‘एन्टिबायटिक’ शब्दले नै भन्छ यो ब्याक्टेरियाको विरुद्धमा काम गर्ने औषधी हो । तर, हामीले यसलाई यति क्रान्तिकारी रुपमा प्रयोग गर्यौं कि ज्वरो आउने बित्तिकै एन्टिबायटिक, रुघा लाग्ने बित्तिकै एन्टिबायटिक, घाँटी दुख्ने बित्तिकै एन्टिबायटिक खाने भएका छौं ।

औषधी दिने व्यक्ति (स्वास्थ्यकर्मी, औषधी पसले वा अरु कोही)लाई रोग के हो र एन्टिबायटिक के हो भन्ने ज्ञानको अभावका कारणले यसरी अन्धाधुन्द भट्मास र बदामझैं एन्टिबायटिक बेचिएको र खाइएको हो । झिंगा मार्नलाई तोप पड्काए जस्तो गरी बिना जाँच, विना ज्ञान यसरी एन्टिबायटिक चलाउनाले केही व्यक्तिलाई केही समयको लागि सिमित व्यापारिक फाइदा त होला तर भविष्यमा साँच्चिकै एन्टिबायटिक चाहिने बेलामा भएका कुनै पनि एन्टिबायटिकले काम नगर्ला भन्ने डर बढेर गएको छ ।

एजिथ्रो, सेफिक्जिम, सेफोडोक्सिम जस्ता ठूलाठूला एन्टिबायटिकहरु हामी बिना प्रेस्क्रिप्सन पसलबाट सजिलै किन्न पाउँछौं र हल्का घाँटी दुख्दा, खोकी लाग्दा खाइहाल्छौं । एन्टिबायोटिक लगायत विभिन्न औषधीहरु विक्रीवितरणमा नियम लगाएर कडाई गर्नलाई सम्बन्धित निकाय किन यति अल्छि बनेको हो थाहा भएन।

भिडियो एक्स–रे क्रान्ति
नयाँ–नयाँ जाँचहरु सर्वसुलभ हुनु भनेको जनताको स्वास्थ्यको लागि राम्रो कुरा हो । तर त्यो जाँच के हो ? कस्तो समस्या हुँदा गर्ने ? किन गर्ने ? भन्ने कुराहरुको राम्रो ज्ञान नहुँदा जथाभावी गरेर एक त बिरामीलाई आर्थिक भार पर्छ र अर्को जाँचको विश्वासनीयतामा नै प्रश्न उठ्छ । भिडियो एक्स–रे सर्वसुलभ गरेर हामीले यो क्रान्ति त गर्यौं तर सही ज्ञान र सीपको अभावमा बिरामी र पूरै समाजलाई नै ‘भिडियो एक्स–रेबाट सब रोग देखिन्छ, भिडियो एक्स–रे गरेपछि सब ठीक हुन्छ’ भन्ने गलत पाठ पढायौं ।

यो हामी स्वास्थ्यकर्मीहरु (पारामेडिक्स, नर्स, डाक्टर सबै)को गलत काउन्सिलिङको परीणाम हो । यसले गर्दा हिजोआज जे समस्या भए नि ‘भिडियो एक्स–रे गर्दिनु, टाउको दुख्यो, टाउकोको भिडियो एक्स–रे, खुट्टा दुख्यो, खुट्टाको भिडियो एक्स–रे’ भनेर आउने बिरामीहरु भेटिन थालेका छन् । अनि ‘हैन, आवश्यक छैन, पैसा खर्च मात्र हो, नगरौं’ भन्यो भने चित्त बुझ्दैन र अर्को मेडिकलमा गएर गरेरै छोड्छन् ।

भिडियो एक्स–रे पनि एउटा जाँच मात्र हो, यो पनि मेसिन अनुसार, गर्ने व्यक्तिको दक्षता अनुसार फरक पर्छ र कुन समस्यामा गर्ने, के हेर्ने भन्ने फरकफरक कुराहरु हुन्छन् । यस्तो समस्या अहिले भिडियो एक्स–रेमा देखिएको छ, राम्ररी व्यवस्थापन नगर्ने हो भने हरेक नयाँ, ठूला जाँचहरु जस्तै इन्डोस्कोपी, सिटी स्क्यान, एमआरआई आदिमा देखिन सक्छ ।

यी त भए हाम्रो समाजमा स्वास्थ्यको क्षेत्रमा अहिले भइरहेका केही क्रान्तिहरु । अब यी र यस्तै अरु धेरै क्रान्तिहरु हुनुका केही मुख्य कारणहरु बारे एकछिन कुरा गरौं ।

चरम व्यापारिक सोच
जब रोग र समस्या अनुसार औषधी उपचार गर्नुपर्ने ठाउँमा ‘यति जाँच गराउँछु, यति औषधी भिडाउँछु, यो बिरामीबाट यति पैसा असुल्छु, त्यसबाट यति फाइदा लिन्छु’ भन्ने लोभ हावी हुन्छ तब यस्तै क्रान्तिहरु हुने गर्छन् । हाम्रा धेरैजसो बिरामीहरुको चेतनाको स्तर त्यती धेरै हुँदैन कि उसले डाक्टर, पारामेडिक्स वा औषधी पसलेसँग ‘यो औषधी के का लागि, यसले के फाइदा गर्छ, के बेफाइदा गर्छ, मलाई के भएको हो ?’ भनेर सवाल जवाफ गर्न सकोस् ।

उनीहरु त जे दियो खुरुक्क लिन्छन् । जति भन्यो पैसा दिन्छन्, हिँड्छन् अनि निको नभए फेरि अर्कोमा त्यसै गर्न जान्छन् । कोही कोही सोध्नेहरु पनि जे भने पनि पत्याउने हुन्छन्, खासमा अवस्था के हो ? उपचार के भइरहेको हो ? कत्तिको ठीक वा बेठीक भइरहेको हो भनेर सबै बुझ्ने बुझाउने स्तरमा छलफल गर्न सक्दैनन् । त्यसको फाइदा गलत नियत भएका व्यापारीहरुले लिन्छन् ।

नियमकानुन कागजमा मात्र सिमित
कुन स्तरको स्वास्थ्यकेन्द्रहरुमा कस्ता खालका औषधी चलाऊने, कुन स्तरको स्वास्थ्यकर्मीले के सम्म औषधी चलाउने भन्ने निर्देशिकाहरु बनेको भए पनि ती न समयसँगै ‘अपडेट’ भएका छन् न त लागू गराउने कसैलाई जाँगर नै छ । फार्मेसीहरुको व्यवस्थापन, औषधी विक्रीसम्बन्धी पनि विभिन्न नियमकानुन र सजायहरु छन् तर सबै कागजमा मात्रै सीमीत छन् । व्यवहारमा ती कत्तिको सम्भव छन् वा छैनन् भनेर कसैलाई खोजखबर भएको जस्तो लाग्दैन ।

एन्टिबायटिक जस्ता सिमित र ज्यान बचाउने औषधीहरुको अन्धाधुन्द विक्रीवितरणमा पनि व्यवहारिक कानुन लगाएर व्यवस्थित गर्नुपर्ने देखिन्छ । पारामेडिक्स, नर्सिङ, डाक्टरहरु सबैको स्वास्थ्य सम्बन्धी ज्ञान र सीप कत्तिको ‘अप टू डेट’ छ छैन भनेर निश्चित अवधीमा ‘लाइसेन्स’ रिन्यु गराउनुपर्ने व्यवस्था तुरुन्त शुरु गर्नुपर्ने आवश्यकता देखिएको छ । साथै भविष्यका स्वास्थ्यकर्मीहरुको स्तर राम्रो राख्न मेडिकल कलेज, नर्सिङ, पारामेडिक कलेजहरुको न्युनतम स्तर राख्नलाई बनाइएका नियमहरुलाई पनि कडाइका साथ लागू गर्नुपर्छ ।

बिरामी वा सेवाग्राहीमा चेतनाको स्तर कम
माथि भनिए जस्तै धेरै विरामीहरुको स्वास्थ्य सम्बन्धी चेतनाको स्तर अत्यन्त कम छ र भए पनि गलत खाले छ । ‘धेरैले कडा औषधी खायो भने वा धेरै औषधी खायो भने रोग छिटो निको हुन्छ’ भन्ने सोचाइ छ । ‘तातो जीउको लागि बेलाबेलामा चिसो बनाउने सलाइन लगाउनुपर्छ । चिसो धेरै खायो भने, चिसो लाग्यो भने निमोनिया हुन्छ । जन्डिस हुँदा उसिनेर खानुपर्छ, बेसार, तेल बार्नुपर्छ ।’ ‘प्रेसरको औषधी एकपटक शुरु गरेपछी बानी लाग्छ, त्यसैले सकेसम्म नखाएको राम्रो ।’

यी र यस्तै धेरै गलत विश्वासहरु बोकेर बसेको छ हाम्रो समाज । यो गलत विश्वास हामी स्वास्थ्यकर्मीहरुकै गलत ‘काउन्सेलिङ’को प्रतिफल हो, अब यसलाई सही बनाउने र उनीहरुको चेतनाको स्तर बढाउने काम पनि हामी स्वास्थ्यकर्मीहरुकै हो तर यसमा समाजका बुद्धिजीवि, मिडिया, पढेलेखेका वर्ग, नेतृत्व वर्गको पनि महत्वपूर्ण भूमिका हुन्छ । अब पहिलेदेखि गरी आएका सबै खाले गलत क्रान्तिहरुलाई सच्याउँदै ‘चेतनाको क्रान्ति’ गर्नुपर्ने आवश्यकता देखिसकेको छ ।

त्यसैले हरेक रोग र समस्याको उपचार औषधीबाट मात्र हुन्छ, धेरै औषधी खायो भने छिटो निको हुन्छ । धेरै औषधी, धेरै जाँच गराउने डाक्टर राम्रो, ठूलो हो भन्ने भ्रमबाट निस्कौं । आफ्नो समस्या, आफूलाई गराइएका जाँचहरु, आफूलाई दिइएका औषधीहरुको बारेमा सकेसम्म बुझ्ने कोशीस गरौं । स्वास्थ्यसम्बन्धी अन्धविश्वास र हल्लाका पछाडि आँखा चिम्लेर नलागौं । हामी स्वास्थ्यकर्मीहरुले पनि आफूहरुलाई ‘इथिक्स’ भित्र राखेर सक्दो ‘अप टू डेट’ राखौं अनि आफ्ना सेवाग्राहीहरुलाई पनि सक्दोरुपमा अध्ययन र अनुसन्धानबाट प्रमाणित वैज्ञानिक जानकारी र उपचार दिऔं । -स्वास्थ्य खबरपत्रिकाबाट 

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget