Websoft University

www.radiomakalu.com || 021-522512


बालबालिकाको हुने पाचन समस्या र समाधानका उपाय – डा. विनिता जोशी


डा. विनिता जोशी, नर्भिक अस्पताल
बालबालिकामा पेटसम्बन्धी विभिन्न रोग लाग्न सक्छन् । रोगको कारण र जोगिने उपायवारे छलफल गर्नुअघि उनीहरूको उमेर र अवस्थावारे जानकारी राख्न राम्रो हुन्छ । फरक उमेरका बालबालिकामा देखिने उही खालको समस्याका कारण भिन्न हुन सक्छन् । हामीले बालबालिकालाई विभिन्न समूहमा वर्गिकरण गरेर उनीहरूको समस्या हेर्न जरुरी छ ।
दिसामा रगत

आमाको अथवा बट्टाको दुध खाइरहेका बालबालिकाको दिसामा कहिलेकाँही रगत जाने समस्या देखिन सक्छ । त्यसलाई हामीले मेडिकल शब्दाबलीमा ‘काउज मिल्क प्रोटिन एलर्जी’ भनेर बुझ्छौं । यस्तो समस्या परेको बच्चा स्वस्थ नै देखिन्छ । तर रगत जाने भएकाले बुबाआमा निकै आत्तिने हुन्छ । यस्तो अवस्थामा आमाले स्तनपानलाई निरन्तरता दिन चाहेमा हामीले आमालाई दूधजन्य खानेकुरा नखान सल्लाह दिन्छौं । बिस्तारै समस्या आफै ठीक भएर जान्छ ।

भर्खरै जन्मिएकोदेखि ३÷४ महिनाका शिशुसम्ममा यस्तो समस्या देखिन्छ । यसको कारण बंशाणुगत हो । परिवारमा कसैलाई एलर्जी भएमा बच्चामा दूधको एलर्जी देखिएको हो । आमाले गाईभैंसीको दुध प्रयोग गरेको भए शिशुको दिसामा रगत जाने समस्या हुन सक्छ । यस्तो रोगको दर तुलनात्मक रुपमा निकै कम हुन्छ ।
कब्जियत

दुई वर्ष नाघेपछि स्कूले उमेरका बालबालिकामा कब्जियतको समस्या ज्यादा देखिन्छ । शहरीक्षेत्रमा २ वर्ष पुग्नासाथ बालबालिकालाई स्कूल पठाउने चलन छ । त्यो उमेरसम्म बालबालिकामा नियमित समयमा शौचालय जाने बानीको विकास भइसकेको हुँदैन । स्कूल जानासाथ उसको वातावरण परिवर्तन हुन्छ । अर्कोतर्फ हरेकजसो घरमा कामकाजी अभिभावक भएकाले फुर्सद नहुँदा बालबालिकालाई घरमा शौचालयको बानी विकास गराउन सकिएको हुँदैन । अर्कोतर्फ बालबालिका ७÷८ वर्षको भएपछि अभिभावकहरूले उनीहरूको हेरचाहबारे कम ध्यान दिन थाल्छन् जसले बालबालिकाको दिसा गर्ने बानीलाई नियमित बनाउन सक्दैन । यसमा बच्चाले मलाई कब्जियत भयो भन्ने महसुस नै गर्न पाउँदैन ।

स्कूलको नयाँ वातावरण, शिक्षकहरूसँग घुलमिल नहुने भएकाले स्कूलको शौचालयमा दिसा गर्ने बानी बालबालिकामा बसिसकेको हुदैन । फर्केर घरमा आएर फेरि शौचालय जान बिर्सन्छन् । यही चक्रका कारण बच्चा बेलामै कब्जियतको समस्या सुरु हुन्छ । एक हप्तासम्म पनि शौचालय नजाने, गएपनि नियमित नगर्ने, शौचालय बस्दा कन्ने, २÷३ दिनमा एकपटक शौचालय जाने जस्ता आदत देखा पर्छन् । दिसा बस्दा कन्ने बालबालिकालाई पनि कब्जियत भएको मानिन्छ । २ देखि ४ वर्षका बालबालिकाहरू शौचालय जान नमान्ने, रुने, कुनामा गएर उभिने लक्षण देखा पर्छन् । कालान्तरमा उनीहरूमा पेट दुख्ने, पेट फुल्ने लगायतका समस्या देखिन्छन् ।

सागपात नखाने, पानी कम खाने पाका मानिसहरूलाई मात्रै होइन, कलिला बालबालिकामा शौचालयको नियमित बानी हुन नसक्दा देखिने कब्जियतको समस्या विकराल बन्दैछ । शहरका बालबालिकामा जंकफुड बढी खाने, पर्याप्त व्यायाम नहुने लगायतका बानी छ । नियमित शौचालय नगई दिसा रोक्ने बानी पर्दै गएपछि कब्जियत हुन थाल्छ । लामो समय कब्जियत रहिरह्यो भने पेट दुख्ने समस्या सुरु हुन्छ । लामो समय आन्द्रामा दिसा संकलन भइरह्यो भने बालबालिकालाई खाना नरुच्ने, खाना खाएपछि वाकवाकी लाग्ने, बान्ता हुने, खाना नखाएकाले तौल घट्दै जाने हुन्छ । कब्जियत लामो समयसम्म रहेमा उनीहरूले बल गरेर दिसा गर्नुपर्ने भएकाले दिसामा रगत जाने र ठुलोआन्द्राभित्र मासु पलाउने खतरा रहन्छ ।

जव बालबालिकाहरू आफै शौचालय जान थाल्छन, हामीले उसलाई सकेसम्म घरमै नियमित समयमा शौचालय जाने बानी बसाउनुपर्छ । स्कूल जाने बालबालिकालाई विहान बरु १५ मिनेट छिटो उठाएर भए पनि शौचालय पठाउनुपर्छ । यसबाट उनीहरूले असहज महसुस गर्ने स्कूलको शौचालयमा जानुपर्ने बाध्यता कम हुन्छ । बिहान शौचालय जाने बानी भएमा कब्जियत हुने सम्भावना निकै घट्छ । जंकफुड खान नदिने, सागसब्जी र फलफूलमा जोड दिनुपर्छ । यसले कब्जियत भइसकेकाहरूलाई पनि सहयोग गर्छ ।
जण्डिस

नवजात शिशुहरूमा कलेजोको समस्या पनि देखिन्छ । त्यसमध्ये जण्डिस पनि प्रमुख हो । घाममा राखेर गरिने घरेलु उपचार ज्यादा प्रचलनमा छ । त्यसका लागि आमाको दुध खानेहरूमा ३ हप्तासम्म र अलि ठुलो भएकाहरूलाई २ हप्तासम्म मात्रै जण्डिस रहन्छ । त्यसपछि भने कम हँुदै जानुपर्छ । यो अवधिभन्दा बढी समयसम्म जण्डिस रह्यो भने अरु समस्या, जस्तै दिसाको रंग परिवर्तन हुने, सेतो हुँदै जाने, कपडामा भएको पिसाब नजाने, शिशुहरूमा इन्फेक्सन भइरहने, तौल राम्ररी नबढ्ने अवस्था देखिन थाल्छ ।

कलेजोबाट पेटमा जाने नली जन्मजात रुपमा नै नबनेको रहेछ भने पनि जण्डिस देखिन सक्छ । थाइराइडको समस्याले पनि जण्डिस हुनसक्छ । हाम्रो शरीरमा कुनै इन्जाइमको कमी भयो भने पनि जण्डिस देखिन सक्छ । त्यसका लागि रगत र शरीरका अरु नमुना परीक्षण गर्नुपर्छ । नली बन्द भएका बिरामीले जण्डिस भएको भए ६० दिनभित्र अपरेशनमार्फत् उपचार गर्नुपर्छ ।
बच्चाले बाहिरको खाना खान थालेपछि हेपाटाइटिस ए र ईको किटाणुको पनि सम्भावना रहन्छ । यसमा कसैलाई आँखा पहेलो हुने, खाना नरुच्ने, बान्ता हुने र पछि आफै ठिक हुन्छ भने कसैलाई कलेजो फेल भएर फेर्नुपर्ने अवस्था पनि आउनसक्छ । भ्याक्सिनको प्रयोगका कारण हेपाटाइटिस बीको समस्या भने कम हुँदै गएको छ । कतिपयमा वंशाणुगत कारणले पनि जण्डिस हुनसक्छ ।
ग्यास्ट्राइटिस

हामीले बालबालिकामा ग्यास्ट्राइटिस हुँदैन भन्ठान्छौ । तर उनीहरूमा पनि देखिन थालेको छ । ग्यास्ट्राइटिसका लक्षण देखिने किटाणु ६÷७ वर्षको उमेरदेखि नै पेटमा रहन थाल्छन् । किटाणुका कारण एसिडिटी बढेर पेटमा घाउ हुने, खाने नलीदेखि सानो आन्द्रासम्ममा असर हुने र अल्सरसम्म बनाउनसक्ने समस्या बच्चामा पनि देखिन्छ । ८ देखि १५ वर्षका बालबालिकाहरू यस्तो समस्या लिएर धेरै आउछन् । पहिचान र उपचारको विधि पत्ता लगाउन हामीले इण्डोस्कोपी गरेर हेनुपर्ने हुन्छ । धेरैजसोले बालबालिकामा इण्डोस्कोपी गर्न रुचाउँदैनन् । बालबालिकालाई केही समय लठ्याएर सानो इण्डोस्कोपीको सहायताले रोग पहिचान गर्न सकिन्छ ।
जंकफुडको जोखिम

जंकफुडले बालबालिकाको तौल अनावश्यक रुपमा बढाइदिन्छ । त्यो सँगसँगै उनीहरू टिभी अगाडि बस्ने र इन्डोर गेममा बढी घुलमिल हुन्छन् । मोटाएपछि बालबालिकाहरू बाहिरको खेलमा भन्दा घरभित्रै शारीरिक अभ्यास कम हुने खेलमा बढी रुचाउछन् । त्यसले उनीहरूको तौल झनै बढाइदिन्छ । प्रौढहरूमा देखिएको डाइबिटिज, फ्याटीलिभर र हाइपरटेन्सनको समस्या बालबालिकामा पनि विस्तारै बढ्दो छ । डाइविटिज दुई प्रकारको हुन्छ, टाईप ए र बी । टाईप ए वंशाणु प्रकृतिको हो भने बी मा भने खानपान र जीवनशैलीको कारणले हुन्छ । हामीले बालबालिका अवस्थादेखि नै उनीहरूमा शारीरिक श्रमको विकास गर्ने, सन्तुलित खाना खुवाउने लगायतका आदत विकास गर्नुपर्छ ।
सिक्का र गुच्चा निलेमा…

उत्सुक र चकचके स्वभाव बच्चाहरूको गुण नै हो । सिक्का, गुच्चा, साना ब्याट्री लगायत अन्य धारिलो बस्तु उनीहरूले मुखमा हाल्छन् । गुच्चा निलेमा गोलो प्रकृतिको हुने भएकाले पेट, आन्द्रा हुदै दिसाबाट बाहिर निस्किन्छ । खानेनलीमा सिक्का अड्कियो भने तुरुन्त निकाल्नुपर्छ । पेटको भागमा बसिरहेको छ, अरु लक्षण देखाएको छैन भने ४ हप्ता कुर्न सकिन्छ । तर सिक्काको आकार ठूलो भएमा वा अन्य तिखो÷धारितो बस्तु भएमा तुरुन्त निकाल्नुपर्ने हुन्छ । तर सिक्का आन्द्रामा पुगिसकेको भए जोखिम कम हुँदै जान्छ ।

सबैभन्दा खतरा भनेको बालबालिकाले ब्याट्रीहरू निल्नु हो । खेलौना र टिभीको रिमोटमा हुने साना ब्याट्री निलेमा त्यसमा भएको केमिकल बाहिर आउछ । त्यसले खानेनली फुटाउने र वरपरका अन्य अंगमा पनि असर गर्ने हुनसक्छ । ब्याट्री निलेमा सकेसम्म ४ घण्टाभित्र निकाल्ने प्रयास गर्नुपर्छ । कहिलेकाही बालबालिकाले एसिड निल्न सक्छ । त्यसको सामान्य असरस्वरुप बान्ता हुनसक्छ । तर अन्य असर नदेखिने भएकाले अभिभावकहरूले निको भएको ठानेर उपचार गर्दैनन् । एसिडले कालान्तरमा पनि असर देखिने भएकाले बच्चालाई ढिलो नगरी अस्पताल पु¥याउनुपर्छ ।
(कुराकानीमा आधारित ।)  स्वास्थ्यखबरबाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget