-पूजा पराजुली वाग्ले
केमोथेरापी चलाउने बेला घरबाट पनि दाजुभाइ दुई–दुई जना आउन थाल्नुभएको थियो । केमो हुनुभन्दा एक दिनअगाडी गोरखपुरबाट रेल चढी बिहान पाँच बजे दिल्ली आइपुग्नुहन्थ्यो ।
गोरखपुरबाट साँझ पाँच–साढे पाँच बजेतिर गोरखधाम, वैशाली ट्रेन दिल्लीको लागी छुट्ने गर्छन् ।
दुइटा केमोपछि बुवा नेपाल फर्कदै हुनुहुन्थ्यो । आएदेखि नै बुवाले साथ छाड्नुभएको थिएन । तर अब हामीलाई पनि बुवालाई पठाउनुपर्ने अवस्था आएको थियो । किनकी, काठमाडौँमा हाम्रा तीन जना केटाकेटीको मेरी बुढी आमाले एक्लै सकी–नसकी हेरविचार गरिरहनुभएको थियो । छोरीहरु साना, बाबु त झन् दिसा–पिसाब पनि कपडामै छाडिदिने । आमालाई त्यो उमेरमा नातिको सोहर्नुपर्ने बाध्यता, एक्लो ज्यान, ताीनतीन जना नातिनातिना र भातभान्साको सारा काम गर्न आमालाई निकै गाह्रो थियो । बुवा साथमा बसिदिनुभयो भने आमालाई अलि सजिलो हुन्थ्यो । दिल्लीमा म छँदै थिए । केमो लगाउने बेला घरबाट दाजुभाइ आइहाल्नुहुन्थ्यो ।
बुवा नेपाल फर्किने दिन हामी दुई पनि इन्दिरा गान्धी एयरपोर्टसम्म गयौँ । मेरा श्रीमान् अगाडि बस्नुभएको थियो बुवा र म पछाडीको सिटमा थियौं । टयाक्सीमा गीत बजिरहेको थियो । म झयालबाट बाहिरतिर हेर्दै थिएँ दिल्लीका ठूलाठूला बाटाघाटाहरु, ठाउँठाउँमा व्यवस्थित पार्क, हरियाली । तर, मेरो मक कत्ति रोमाञ्चित थिएन । ट्याक्सीको प्लेयरमा एकाएक बज्न थाल्यो ।
दिल के अरमान आँसुओँ मे बह गये
हम वफा करके भी तन्हा रह गये
हे भगवान् ! मेरो छातीभित्र एकाएक भुइँचालो आए जस्तो भयो । यो प्रेममा धोका पाएकी युवतीको विरहगान भए पनि, मेरो यथार्थसँग पनि मिलिरहेको थियो । मलाई जिन्दगीले धोका दिँदै थियो । मेरो जिन्दगीको सबैभन्दा नजिकको मान्छे मैलाई छाडेर जाँदै हुनुहुन्थ्यो ।
सोच्दासोच्दै एकाएक आँसु बग्न थालेछ ।
हामीले आउँदा दिनहरुको लागि कति सपनाहरु साँचेका थियौँ । ती सब चूरचूर भएर यत्रतत्र छरिएका थिए । मेरा भाग्यमा एकाएक बन्चरो प्रहार गरिएको थियो । छोरो अपाङ्ग भए पनि मैले भगवान्सँग कहिल्यै गुनासो गरेकी थिइनँ । मेरा खास भगवान मसँग हुनुहुन्छ नि भनेर । तर, नियतिको यो वज्रपात मेरा लागि असह्य थियो । आफनो दुःख पोखँु क कोसँग ?
आमालाई हेर्यो, तीन–चार पटक अपरेशन गरिसकेको शरीर, बर्षाैंदेखि डायबिटिजले गलाउँदै लगेको शरीर, त्यसमाथि ज्वाइँको चिन्ताले डिप्रेसनमा पर्नुभएको थियो, एन्टी–डिप्रेसन मेडिसिन चलाइरहनुभएको थियो । बुवा उस्तै बिचरा म स–साना कुराहरु पनि श्रीमानसँगै सेयर गर्ने गथेँ । आफ्नो आँसुले उहाँको आत्मविश्वास डगमगाओस् भन्ने म एकरत्ती पनि चाहन्नथे । एक हिसावले म एकदम चेपुवामा परेकी थिएँ । आफूलाई अरुको सामु स्ट्रङ देखाउन हरसम्भव नाटक मञ्चन गर्नुपथ्र्यो मैले । उला सलमा आगा गाउँदै थिइन् –
जिन्दगी एक प्यास बनकर रह गयी
प्यार के किस्से अधुरे रह गये
एउटा युद्ध चलिरहेको थियो, जसमा हाम्रो हार लगभग निश्चित थियो । तर पनि कतैबाट कुनै चमत्कार भई पो हाल्छ कि भनेर हामी त्यो युद्ध लडिरहेका थियौँ । दूर क्षितिजपारि एउटा सानो आशाको दियो धिपधिप गरेझैँ लाग्थ्यो । त्यो गजलका शब्दशब्दले मेरो मनमुटुलाई बेहाल बनाइरहेको थिए ।
उहा ट्याक्सकिो अगाडिको सिसाबाट मलाई हेरिरहनु भएका रहेछ, दुःखी भावले आँखा जुधेपछि म सम्हालिएँ । कस्तो होला, रुमाल बोक्न पन बिर्सिछु ।
म उहाँको सामु बलियो भएको जुन नाटक गरिरहेको थिएँ । मेरो आँसुले त्यो रहस्य उद्घाटन गरिदियो कि भनेर मलाई डर लाग्यो । सलमा आगाले हाम्रो प्रेम हुँदादेखिका दिनहरु दिमागमा फनफनी घुमाइदिएकी थिइन् । मन भतभती पोलिरहेको थियो ।
हामी बुवालाई बिदा गरी कोठामा आयौँ । यतिका दिन बुवाको साथ थियो र म ढुक्क थिएँ । अब एक्लै थिएँ । नरमाइलो लागिरेहेका थियो ।
उहाँले सोफामा मनजिक बस्दै खोल्दै भन्नुभयो, “तिमी आज धेरै रोयौ । बुवालाई पठाउँदा नरमाइलो लाग्यो होला ।”
मैले पुलुक्क उहाँको अनुहारमा हेरेँ । कति माया लागेर आयो । अझै पनि मलाई बच्चा जस्तो ठान्दै हुनुहुन्थ्यो । मैले आफ्नो मनमुटुको राजकुमार गुमाउँदै छु, सम्भावित वज्रपातको कल्पना मात्रले पनि मेरो आँसु बगिरहेको थियो । तर, त्यो यथार्थ उहाँलाई मुखले सुनाउनु हुँदैनथ्यो । प्रकटमा भनेँ, मेरो फेसबुक खोल्नु न हेरुँ ।
उहाँले हाँस्दै भन्नुभयो, “तिमी बाठी छ्यौ ! कसरी प्रसङ्ग बदल्छ्यौ । ” म पनि हाँसिदिएँ । रुन्चे हाँसो ।
शायद उनका (भगवानको ) आखिरी हो यह सितम
तर सितम यह सोचकर हम सह गये –
(क्यान्सरबाट ज्यान गुमाएका समाजसेवी डाक्टर चित्र प्रसाद वाग्लेका बारेमा प्रकाशित पुस्तक ‘डाक्टर चित्र’बाट । पुस्तक सोमवार सार्वजनिक भएको छ )।स्वास्थ्यखबरबाट
Post a Comment