Websoft University

www.radiomakalu.com || 021-522512


बिचौलिया पक्रेको केही दिनमै २५ प्रतिशतले बढ्यो क्यान्सर अस्पतालको आम्दानी






चितवन– बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा स्थानीय प्रशासनले कर्मचारीसहित बाहिरी बिचौलियालाई पक्राउ गरी निगरानी बढाएपछि अस्पतालको आन्तरिक आम्दानी बढेको छ । यसका कारण बिरामीसमेत लाभान्वित भएका छन् ।

करिब एक महिनाअघिदेखि स्थानीय प्रशासनले अस्पतालका बिचौलियामाथि निगरानी र कारबाही प्रक्रिया अगाडि बढाएको थियो । यस अवधिमा पाँच जना कर्मचारीसहित २० जना बिचौलियालाई प्रहरीले पक्राउ गरी सार्वजनिक अपराध ऐनअन्तर्गत मुद्दा चलाएको थियो । यससँगै कार्यालय समयमा समेत लुकिछिपी निजी क्लिनिक तथा अस्पताल धाउने काम चिकित्सक र प्रविधिज्ञले छाडेका छन् भने बिरामीलाई छिटो हुन्छ भन्दै निजी क्लिनिक र अस्पताल पठाउने क्रमसमेत घटेको छ ।

अस्पतालभित्र औषधि, केमो, लज, ल्याब र डाक्टरका लागि बिरामी तान्न पुग्ने बिचौलिया अस्पतालमा देखिन छाडेको स्थानीयवासीले बताएका छन् । अस्पतालआसपास रहेका फार्मेसी र ल्याब मात्रै होइन, चौबीसकोठीमा लस्करै रहेका धेरै अस्पतालको व्यापार खस्किएको सञ्चालकले बताएका छन् ।

प्रशासनको कदमपछि क्यान्सर अस्पतालमा दैनिक सङ्कलन हुने राजस्वमा २५ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । अस्पतालको राजस्व उपशाखाका प्रमुख शिव पौडेलका अनुसार दैनिक दुई लाख ७५ हजार रुपैयाँको हाराहारीमा सङ्कलन हुने राजस्व तीन लाख ५० हजार रुपैयाँ पुगेको छ । यद्यपि अस्पतालमा बढी चल्ने सिटी स्क्यान, मेमोग्राफी, एमआरआई र केही महत्वपूर्ण परीक्षण अझै हुन सकेका छैनन् । आइतबारदेखि मङ्गलबारसम्म अस्पतालमा बिरामी बढी आउने हुँदा अस्पतालको आम्दानी बढी हुने गर्दछ ।

अस्पतालका उपनिर्देशक डा देजकुमार गौतमका अनुसार सिटी स्क्यान र मेमोग्राफी पुराना बिग्रिएर चीन सरकारले उपलब्ध गराएपछि जडानको क्रममा रहेका छन् भने विद्युत् आपूर्तिमा गडबड भएर र युपिएस बिग्रिएर एमआरआई सञ्चालनमा आउन सकेको छैन । आपूर्तिकर्तालाई भुक्तानी हुन नसक्दा परीक्षण गर्ने केमिकलको अभावमा केही परीक्षण नभएको उ उनले बताए ।

अस्पतालमा युरिया, गिलुभिन टोटल, गिलुभिन डाइरेक्ट, एसटी, एलटीजस्ता सामान्य परीक्षणसमेत केमिकलको अभावमा हुन सकेका छैनन् । सबै उपकरण सञ्चालनमा आएर ल्याब परीक्षण नियमित हुन सके राजस्व दोब्बर हुने स्वयम् गौतम बताउँछन् । सबै उपकरण चले अस्पतालका अधिकांश चिकित्सक, प्रविधिज्ञ र कर्मचारीको लगानी रहेका निजी अस्पताल, क्लिनिक, ल्याब नचल्ने हुँदा छिट्टै उपकरण बिगार्ने र रिएजेन्ट अभाव देखाइरहने काम कर्मचारीबाटै हुने गरेको आरोप छ ।

अस्पतालका लेखा प्रमुख पिताम्बर उपाध्यायका अनुसार अस्पतालबाट भर्ना, परीक्षण, डिस्चार्ज लगायतबाट वार्षिक १० करोड रुपैयाँको हाराहारीमा आम्दानी हुन्छ भने अन्य फार्मेसी, फलफूल बिक्री, सटर भाडा, चमेनागृह लगायतबाट एक करोड रुपैयाँभन्दा बढी आम्दानी हुन्छ । भित्री र बाहिरी दुवै बिचौलिया रोक्न सके आम्दानी दोब्बर हुने प्रस्ट देखिन्छ । बिचौलिया नियन्त्रणसँगै २५ प्रतिशत आम्दानी बढिसकेको यस अस्पतालमा हुन नसकेका सबै परीक्षण हुन सके अहिले नै आम्दानी दोब्बर हुने देखिन्छ तर त्यसका लागि स्थानीय प्रशासनको अनुगमन निरन्तर हुनुपर्ने स्थानीयवासीको भनाइ छ ।

अस्पताल बनाउन त्यहाँ कार्यरत चिकित्सक र प्रविधिज्ञको तलब बढाएर अस्पतालभित्रै पेइङ क्लिनिक सञ्चालन गर्ने र निजीमा काम गर्न रोक्ने काम हुन सके बिरामीले सस्तो शुल्कमा सहज उपचार पाउने क्यान्सर सेवा समाजका अध्यक्ष श्यामप्रसाद लामिछाने बताए ।

प्रमुख जिल्ला अधिकारी विनोदप्रकाश सिंह चिकित्सक र प्रविधिज्ञसमेत बिचौलियाको भूमिकामा रहने र आफ्नो निजी अस्पताल र क्लिनिकमा लगेर बिरामी जाँच्ने गरेको भन्ने गुनासो आएपछि उनीहरुमाथि समेत निगरानी भइरहेको बताउनुहुन्छ । अस्पताललाई हानि हुने र बिरामीलाई अप्ठ्यारो पार्ने जो सुकै भएपनि प्रशासनले नछाड्ने उन बताए । प्रशासनको निगरानीसँगै अस्पतालका चिकित्सक र कर्मचारीसमेत दिनभर कार्यालयमा रहेर काम गर्न थालेका छन् । रासस

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget