Websoft University

www.radiomakalu.com || 021-522512


आयुर्वेद विभागको औषधीको गुणस्तरमा उठ्यो प्रश्न : औषधीले मृगौला फेल हुनसक्नेदेखि आन्द्रामा पनि घाउ हुनसक्ने



काठमाडौं– जनताको उपचारको क्रममा चिकित्सकले पेटभित्रै कंैची, गजलगायतका सामान छोडेको, खुट्टाको उपचार गर्न जाँदा पेटको अप्रेसन गरेकालगायतका समाचार त धेरै सार्वजनिक भए । तर अब त जनताले खाने औषधी नै गुणस्तरहीन पठाएको भेटिएको छ ।

आयुर्वेद विभागले देशभरी पठाउने गरेको औषधी राम्रोसँग ‘पुटपाक’ नभएको पठाइएको फेला परेको हो । निःशुल्क औषधी, निःशुल्क उपचार आदि विभिन्न योजनामा सरकारले जनताको स्वास्थ्यमा सकारात्मक सुधार ल्याउनका लागि हरेक वर्ष करौडौं रुपियाँ खर्चेको छ । तर त्यसरी पठाइने औषधीले नै जनस्वास्थ्यमा गम्भीर असर पर्न सक्ने रहस्य खुलेको हो ।

आयुर्वेद विभागले खरिद गरेर पठाउन थालेको चालु आर्थिक वर्षको औषधी गुणस्तरहीन भएको सूचना पाउँदा पाउँदै पनि टेन्डर स्वीकृत भएपछि विभागमा भाँडभैलो सुरु भएको छ । ठेकेदारले स्याम्पल दिएपछि त्यसको ल्याब परीक्षण हुनुपर्ने नियम भए पनि विनापरीक्षण गरिद गरेर पठाउन थालेपछि विभागमै विवाद चर्किएको हो ।
aaurved

कसरी किनिदैछ गुणस्तरहीन औषधी :

गएको माघ १२ गते २ करोड ९६ लाख बराबरको औषधी खरिदका लागि टेन्डर खुलेको थियो । त्यसका लागि लामो समयदेखि एकलौटी रुपमा टेन्डर हातपार्दै विष्णु सिम्खडाले २ वटा फर्मको नाममा टेन्डर दर्ता गराएका थिए । सिम्खडाले आशा आयुर्वेद भवन नेपालगञ्ज र जनता आयुर्वेद बुटवलको नाममा टेन्डर दर्ता गराए भने कोटकाली आयुर्वेद औषधालयमार्फत अर्को समूहले इबिडिङमार्फत टेन्डर दर्ता गराए ।

इबिडिङमार्फत गरेको कोटकालीले प्रकृया नपु¥याएको भन्दै सिम्खडाको आशा आयुर्वेदले टेन्डर दिइयो । उक्त टेन्डरमार्फत ८४ प्रकारका औषधी अहिले किनिदैछ । बाँकी ६ प्रकारका औषधीको भने टेन्डर भने प्रकृया नमिलेकाले खरिद हुन नसकेको डा. पन्थीले बताए ।

गुणस्तर शाखाका शाखा प्रमुख डा. मनोज चौधरीले यो स्याम्पल गुणस्तरीय छैन भनेर चार पाँच दिनसम्म रोकेको भए पनि विभागका निमित्त महानिर्देशकसहितको टोलीले मन्त्रीलाई फोन गर्न लगाएर चौधरीलाई धम्क्याएपछि नमुना गुणस्तर पास भएको थियो । ‘चौधरी डाक्टरसापले यो गुणस्तरीय छैन भनेर रोकेपछि निमित्त महानिर्देशक पन्थी, डा. रामचन्द्र पाण्डे, डा. नारायण श्रेष्ठ र कविराज रामभक्त ढकाल स्वास्थ्यमन्त्रीसँग पुगेका थिए’, एक चिकित्सकले भने ‘मन्त्रीज्यूले चौधरी डाक्टरसा’पलाई फोन गरेपछि शनिबारका दिन जबर्जस्ती गुणस्तर पास गरियो ।’ चौधरी अहिले चीन भ्रमणमा गएकाले सम्पर्क हुन सकेन ।

गुणस्तर जाँच समितिमा औषधी गरिद गर्ने खरिद शाखा प्रमुखलाई समेत सदस्य राखिएको थियो । ‘जसले खरिद गर्ने हो उसैले गुणस्तर जाँच गरेपछि कसरी गुणस्तरीयता पत्ता लाग्छ ?’ एक चिकित्सकले भने ।

मृगौला फेल हुनेदेखि आन्द्रामा घाउ हुन सक्ने

विभागले टेन्डर प्रकृयामार्फत खरिद गरेको औषधी पुरै गुणस्तरहीन भएको स्वास्थ्यकर्मीहरुले बताएका छन् । ठेकेदारले स्याम्पल दिएपछि त्यसको ल्याप परीक्षण हुनुपर्ने नियम भए पनि विनापरीक्षण गरिद गरेर पठाउने गरिएको छ ।

विभागका एक चिकित्सककाअनुसार खरिद गर्न लागिएको लौहभष्म, मण्डुरभष्म, गोदन्तीभष्मलगायतका भष्म औषधीहरु सबैभन्दा बढी खतरापूर्ण छन् । ती भष्महरु बनाउँदा फलाम, गोदन्तीलगायतका खनिजसहित विभन्न आयुर्वेवेदिक औषधी उच्च तापक्रममा राखेर भष्म ‘खरानी’ बनाइन्छ । तर त्यो राम्रोसँग ‘पुटपाक’ भएन भने त्यसका टुक्राहरुले शरीरमा नकारात्मक असर गर्छन् । अहिले विभागमा पेश गरिएका भष्महरु ‘उत्तमपाकी’ नभएकाले त्यो अत्यन्तै जोखिमपूर्ण भएको उनले बताए ।

आयुर्वेदिक औषधी लामो समयसम्म खानुपर्ने हुन्छ । ती औषधीहरु राम्रोसंग नपाकेका कारण त्यसमा भएको फलामको सानो सानो टुक्रा मृगौलामा थिग्रिएर मृगौला बिग्रने वा आन्द्राहरु प्वाल पार्न सक्ने डर हुन्छ । ‘जस्तो खुट्टामा काँटी बिझेपछि असर गर्छ, राम्रोसँग नपाकेको औषधीले शरीरको भित्री भागमा यस्तै असर पर्न सक्छ’, एक कर्मचारीले भने, ‘अहिले आशा आयुर्वेदले स्याम्पलको रुपमा पेश गरेको औषधीमा त्यस्तो जोखिम भएको भेटियो ।’

ती चिकित्सकका अनुसार मान्छेले स्वास्थ्य परीक्षण गराउँदा ‘हेबी मेटल टेस्ट’ गर्दा अत्यधिक देखिनसक्छ ।

त्यस्तै आयुर्वेदको मुटु भने चिनिने ग्यास्ट्रिकको रामवाण भनेर चिनिने ‘अविपत्तिकर चूर्ण’मा ल्याङ्ग नै नमिसाएको, दमखोकीको औषधीमा अनिवार्य रुपमा मिसाउनुपर्ने दालचिनीको साटो टिमुर मिसाइएको पाइएको छ । ‘जसले गर्दा स्वास्थ्यमा सीधै नकारात्मक असर पर्छ’ ती चिकित्सकले भने ।

लगातार गुणस्तरहीन औषधी

टेन्डर पेश गर्दा सिम्खडाले बजारमा औषधीको स्याम्पल नपाएपछि विभागलाई गतवर्ष आफैले बिक्री गरेका औषधी निकालेर नमुनाका रुपमा पेश गरेका थिए । टेन्डर खुल्नुभन्दा २ दिन अगाडि कार्यालय सहायकले उक्त औषधी कार्यालयबाट बाहिर निकाल्न नदिएपछि निमित्त महानिर्देशक डा. पन्थीको ठाडो आदेशमा औषधी छाडिएको थियो ।

उक्त औषधी विभागका आपूर्ति शाखाका सहायक कविराज रामभक्त ढकालले बाहिर निकालेका थिए । ‘स्याम्पलका रुपमा पेश गरिएको सोही औषधी स्याम्पल यसपटक हेर्दा गुणस्तरहीन भेटिएपछि गतवर्ष पनि गुणस्तरहीन नै रहेछ भन्ने पुष्टि भयो’, ती चिकित्सकले भने ‘सिम्खडाले टेन्डर पारेदेखिलगातार यस्तै गुणस्तरहीन औषधी दिएको हुनसक्छ ।’

२०५१ सालदेखि लगातार सिम्खडालाई मात्रै

सिम्खडाले आफ्नो कम्पनी काठमाडौँ आयुर्वेद फर्म र आफ्ना आफ्न्त तथा साथी भाइको नाममा दर्ता गरेको आशा र जनताको नाममा लगातार टेन्डर हात पारेर औषधी खरिद गर्दै आएको छ । धादिङका सिम्खडा २०५१ सालदेखि एकलौटी रुपमा औषधी खरिदको सेटिङ मिलाउँदै आएका व्यक्ति हुन् । ‘२०५१ सालदेख लगातार यी तीनवटाले मात्रै टेन्डर पार्दै आएका छन्’ विभागका एक आयुर्वेद चिकित्सकले भने, ‘तर सबैको कारोबार भने सिम्खडाले नै गर्छन् ।’

उजुरी परे पनि कारवाही भएन

कोटकाली आयुर्वेदका नारायण पाण्डेले आफ्नो फर्मले सस्तोमा खरिद गर्ने प्रस्ताव गर्दा गर्दै पनि महँगोमा सिम्खडालाई दिएको बताए । कोटकालीको फर्म प्रकृया नपुगेको भन्दै सीधै अस्वीकार गरिएको विभागका एक कर्मचारीले बताए । ‘हामीले २ करोड २० लाखमा पेश गरेकोलाई दिएनन् तर २ करोड ८९ लाखवालाको टेन्डर स्वीकृत भयो, कारण सोद्धा कूल मूल्य भएन भनेर टारे ।’

विभागका निमित्त महानिर्देशक डा. टेकराज पन्थीले अरुले टेन्डर नै दर्ता नगरेपछि तीनवटाको पर्ने गरेको तर यसमा कुने गडबडी नभएको बताए ।

आफ्नो कम्पनी खरिद प्रकृयामै नपरेपछि २ वटा कम्पनीको स्वीकृत गर्न नमिल्ने प्रकृयामा समावेश गर्ने हो भने आफ्नौ सबैभन्दा सस्तौँ भएको उनको भनाइ छ । ‘सार्वजनिक खरिद नियमावली अनुसार प्रकृया पुगेका कम्तीमा ३ वटा फर्म नभएसम्म कसैको स्वीकृत नहुनुपर्ने, यदि हाम्रोलाई पनि प्रकृया पुगेकामा गन्ने हो भने हामीले सबैभन्दा सस्तोमा पेश ग¥यौँ ।’ उनले भने ।

सार्वजनिक खरिद अनुगमन कार्यालयले भने कोटकालीको सबै प्रकृया ठीक भएको बताएको छ । ‘यस विषयमा मैले उजुरी समेत दिएँ, तर सुनुवाइ भएन ।’ उनले भने ।

आर्थिक वर्ष सकिन लाग्दा पनि किनिएन औषधी

देशभरिका आयुर्वेद औषधालयहरुमा औषधी सकिएर रित्तै हुन थाले । वर्षातको कारण कच्ची सडकहरु बन्द हुन थालेकोले औषधी पु¥याउन नसकिने अवस्था छ । तर देशभरी औषधी पु¥याउनुपर्ने आयुर्वेद विभागले अहिलेसम्म औषधी खरिद गर्न सकेको छैन ।

दुई दशकदेखि प्रायः एकजना व्यक्तिलाई औषधी खरिदको ठेक्का दिँदै आएको विभागमा कमिसनको कुरा नमिल्दा असारको पहिलो हप्तासम्म पनि औषधी खरिद हुन नसकेको हो । औषधी समयमा हुन नसक्दा जिल्ला जिल्लामा औषधीको अभाव छ । वर्षातको समयमा जनताले औषधी नपाउने निश्चित छ । यसले ढुवानी भाडासमेत बढ्ने निश्चित भएको विभागका कर्मचारीहरु स्वीकार्छन् ।

अख्तियारलाई मिलाएको भन्दै हिँड्छन् डाक्टर पाण्डे

औषधी खरिदको विषयमा अनियमितता भएको भन्द अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मुद्दासमेत परेको थियो । अख्तियारले छानविन गरिरहे पनि पछिल्लोसमय ‘औषधी खरिद लगायतका सन्दर्भमा अनियमितता भएको व्यापक जनगुनासो आएकोले व्यवस्थापनलाई चुस्त बनाउनु’ भन्ने पत्र पठाएको थियो । सोही आधारमा आफूहरुले सफाइ पाएको भन्दै डा. रामचन्द्र पाण्डेले १२ लाख रुपियाँ अख्तियारलाई खुवाएर सफाइ पाएको भन्दै हिँड्ने गरेका छन् । ‘१२ लाख रुपियाँ बुझाएर अख्तियारमा मिलाइयो, अब हामीलाई अख्तियारले पनि केही गर्दैन’ पाण्डेले विभागमा सार्वजनिक रुपमै भनेको कुरा उद्धृत गर्दै एक कर्मचारीले भने ‘अख्तियारमा मिलाउन उपसचिव सरले ठूलो सहयोग गर्नुभयो ।’ तर विभागका उपसचिव गजेन्द्रनाथ शर्माले आफूलाई बेइज्जत गर्न गलत कुरा गरिएको बताए । ‘मेरो अख्तियारमा कसैसँग चिनजान पनि छैन, म संवैधानिक निकायमा कसरी सेटिङ मिलाउन सक्छु’ उनले भने ‘मेरो चरित्रहत्या गर्न गरिएको दुष्प्रयास हो ।’

गतवर्ष २२ प्रकारका औषधी म्याद गुज्रेको

विभागले गत आर्थिक वर्षमा खरिद गरेर यो वर्ष पठाएको औषधी पनि म्याद गुज्रेको पठाएको फेला परेको छ । औषधी खरिद गरेको सिम्खडाको आशा आयुर्वेदले असारसम्मको मात्रै म्याद रहेको भनेर खरिद गरेको औषधी माघमा मात्रै जिल्ला जिल्लामा पठाइएको थियो । म्याद गुज्रेको औषधी पठाएको निमित्त महानिर्देशक पन्थीले समेत स्वीकारे । ‘जिल्ला पठाउँदासम्म २२ प्रकारका औषधीको म्याद सकिएको थियो’ पन्थीले भने ‘म पनि विभागमा आउँदा स्टोरको मान्छे ६÷७ महिनासम्म कार्यालयमा थिएन, पछि सरुवा गरेर अर्कोलाई पठाउँदा ढिला भएकोले यस्तो भयो ।’
त्यतिबेला स्टोर प्रमुख सुन्दर कार्की १५÷२० दिनमा एकपटक आएर कार्यालयमा हाजिर गर्ने र बाँकी समय गायव हुने गरेका थिए । आपूर्ति आपूर्तिको काम नगरेकोले स्टोरलाई देखाएर पन्छिनका लागि आपूर्ति शाखा सहायक रामभक्त ढकालले यस्तो व्यवस्था मिलाएका थिए । ‘त्यतिबेला ढकालले फोन गर्दा मात्रै कार्कीसँग सम्पर्क हुने नत्र अरुले गर्दा सम्पर्क नहुनेसम्म थियो ।’, विभागका एक कर्मचारीले भने– ‘अचम्मको नाटक जस्तै गरियो त्यो वर्ष त ।’

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget