डिबी खड्का
![](http://swasthyakhabar.com/wp-content/uploads/2016/06/2-3.jpg)
बेड सँख्या अनुसार नेपाली सेना स्वास्थ्य विज्ञान संस्थान अन्तर्गत सञ्चालित मेडिकल कलेजले ४८ सिट बढी पाएको भेटिएको हो । १९९३ सालमा त्रिचन्द्र मिलिट्रि अस्पतालको रुपमा स्थापित छाउनीस्थित वीरेन्द्र अस्पताल १ सय ४४ रोपनी क्षेत्रफलमा फैलिएको छ । यही अस्पताललाई पूर्वाधार देखाई सेनाले मेडिकल र नर्सिङ कलेज सञ्चालन गरिरहेको छ ।
रक्षा मन्त्रालय स्रोतबाट स्वास्थ्य खबरपत्रिकालाई प्राप्त प्रतिवेदन अनुसार, त्रिभुवन विश्वविद्यालयको चिकित्साशास्त्र अध्ययन संस्थानको निरीक्षणपछि फेरि नेपाल मेडिकल काउन्सिलको टोलीले निरीक्षण गरेको थियो । त्यसक्रममा २०७२ साल असोज २९ गते काउन्सिलले पत्र पठाई १ सय ३० संख्यामा भर्ना गर्न स्विकृति दिएको थियो ।
त्यसपछि गरिएको स्थलगत छानविनका क्रममा उक्त मेडिकल कलेजमा बेडसंख्या नै नपुगेको प्रतिवेदनमा जनाइएको छ । स्थलगत निरीक्षण टोलीले १ विद्यार्थी बराबर ६ बेडका दरले मापदण्ड पुगे–नपुगेको अनुगमन गरेको थियो । ‘अस्पतालले पेश गरेको विवरण अनुसार प्रसुति वार्डमा समेत गरी अस्पतालको जम्मा बेड संख्या ४ सय ९१ रहेको देखियो,’ प्रतिवेदनको अंश उद्घृत गर्दै रक्षा स्रोतले भन्यो । एक सय ५० सिटका लागि ४ सय ९ बेड अपुग हुने पनि प्रतिवेदनमा उल्लेख छ ।
प्रतिवेदन अनुसार, सेनाको मेडिकल कलेजको इमर्जेन्सी विभागमा पनि मापदण्ड अनुसारको पूर्वाधार छैन । इमर्जेन्सी विभागमा ३० बेड हुनुपर्नेमा अस्पतालको ट्रमा हलमा इमर्जेन्सी वार्ड सञ्चालन गरिएको र त्यसमा १८ बेड मात्रै छ । रक्षा स्रोत भन्छ, ‘ठूलो परिमाणमा आकस्मिक दुर्घटना भए बिरामीलाई व्यवस्थापन गरी उपचार गर्न छुट्टै भवन र विभाग आवश्यक पर्ने भएपनि व्यवस्था भएको देखिएन ।’ अस्पतालको बालरोग विभागमा १ सय २० बेड हुनुपर्नेमा २२ मात्रै छ । प्रसुती तथा स्त्रीरोग विभागमा १ सय २० बेड हुनुपर्नेमा मेडिकलमा ३०, सर्जिकलको प्रसुतीमा ११ र अन्यमा २७ गरी कुल ६८ बेड मात्रै छ ।
छलफलका क्रममा सैनिक अस्पतालका अधिकारीहरुले अस्पताल विस्तारका क्रममा रहेको कलेज र शिक्षण अस्पताल सञ्चालनका लागि फरक–फरक निकायबाट बजेट विनियोजन हुने गरेकाले पूर्वाधार विकास गर्ने प्रक्रिया जारी रहेको जवाफ दिएको स्रोतले बतायो । छाउनी अस्पताल सञ्चालनका लागि सरकारले सोझै तथा मेडिकल कलेज सञ्चालनका लागि सैनिक कल्याणकारी कोषले रकम उपलब्ध गराउने उनीहरुले बताएका थिए । अस्पतालको सिभिल वक्र्सको काम भने सेनाको विकास निर्माण निर्देशनालयले गर्छ । छानविन टोलीले मापदण्ड अनुसार पूर्वाधार सुधारमा ध्यान दिन सुझाव दिएको थियो । ‘पर्याप्त बेड र पूर्वाधार नहुँदा गुणस्तरीय डाक्टर उत्पादन गर्ने उद्देश्य र विश्वसनियतामा पनि असर पर्ने देखिन्छ,’ प्रतिवेदन उद्घृत गर्दैै स्रोतले भन्यो, ‘मेडिकल काउन्सिलले तोकेको भौतिक पूर्वाधार र बेड सँख्या व्यवस्थापन गर्नुपर्ने देखिन्छ ।’
Post a Comment