Websoft University

www.radiomakalu.com || 021-522512


दलितको व्यथा र माफी अभियानको गाथा


 - मनोज साह
बाल्यकालमा दलितमाथिको विभेद देखेर मेरो मनमा निकै जिज्ञासा उत्पन्न हुन्थ्यो । छठपूजाको निम्ति घरमा डोम जातिका एक व्यक्ति पूजाका निम्ति छिटी नाङ्लो लिएर आउँदा मैले आफ्नो हजुरआमालाई प्रश्न गरेको थिएँ–आमा डोम जाति छुवाउने जात हैन अनि कसरी हामी उसले दिएको सामग्रीले पूजा गर्ने ? हजुरआमाले छिटी नाङ्लो यिनीहरुले नै बनाउँछन्, धोएर पूजा गर्ने हो केही हुँदैन भन्नुभयो । जवाफले म सन्तुष्ट भइन, जुन जातलाई समाजले पूरा अछुत मानेको छ उसले छोएको पानी चल्नु त टाढाको कुरा झुक्किएर छुनुसमेत महापाप मानिन्छ । त्यही जातिले बनाएको पूजा सामाग्री प्रयोग गरेर कसरि छठजस्तो महान पर्व मनाइन्छ ? दलितको घरको दुध खान मिल्छ तर पानी चल्दैन, दलितले निर्मित गरेको देवी दुर्गाको मूर्तिमा दुर्गापूजाजस्तो महोत्सव मनाइन्छ तर पूजामा दलितलाई प्रवेश निषेध हुन्छ ! जीवनको यो कालसम्म आइपुग्दा पनि मैले आफ्नो त्यो बाल्यकालको उत्सुकताको सटिक जवाफ पाएको छुइन ।

दलितमाथिको विभेदको लिखित इतिहास मैले पढेको छैन । छुवाछूतको आरम्भ केलाउँदै जाँदा परापूर्वकालदेखि दलितमाथि विभेद रहेको प्रशस्त प्रमाणहरु भेटिन्छन् । भगवान राम सबरीको घर पुग्दा रामभक्तिमा लीन सबरीको जुठो वैरको फल रामले खाएको लक्ष्मणले नखाएको रामायणमा पाइन्छ । महावीर कर्ण शूद्र भएको भ्रममा शिक्षाबाट वञ्चित गरिएका घटना धर्मग्रन्थमा भेटिन्छ्रन् ।

ब्राह्मण, क्षत्री, वैश्य र शूद्र गरी सनातनदेखि नै समाज जातमा आधारित वर्ग स्थापित भयो । सोहीअनुसार पेसागत कार्य निर्धारण भए । तल्लो स्तरमा शूद्रलाई दलित भनियो । मधेसमा दलितमा प्रमुख जात भनेको डोम, चमार, हल्खोर, मुसहर, दुसाध र अन्य केही जाति भेटिन्छन् । डोमले सुँगुर पालन गर्ने, चमारले सिनो उठाउने, हल्खोरले फोहोर मिलाउने, मुसहरले माटोसम्बन्धी काम गर्ने आधारमा समाजमा वर्ग निर्धारण भएको देखिन्छ ।

आफ्नो जग्गा जमिन नहुनु, गाउँभन्दा पर दलित बस्ती हुनु, निम्न स्तरको काम गरेर बिहान बेलुकाको रोटी जोहो गर्नु दलित समुदायको सामान्य स्थिति अझै पनि कायम छ । मरेका गाईवस्तु चमारले नै फाल्नु पर्ने, फोहोर हल्खोरले नै सफा गर्नुपर्ने बाध्यात्मक प्रचलन कतिपय स्थानमा अझै छ्र । समाजका साम्भ्रान्त एवं शासक वर्ग विभिन्न डर, त्रास, भय र लोभ देखाएर दलित महिलालाई आफ्नो ‘धरवी’सम्म राख्ने गरेको दिन पनि धेरै भएको छैन । आफ्नो स्वतन्त्र अस्तित्व नभएका दलितहरुको लागि राज्य टाढा भए । कति दलित जीवनभरमा कहिले पनि सरकारी कार्यालय देखेनन् । उनीहरूलाई नागरिकताको आवश्यकता नै परेन । दलितको हैसियत राज्यसम्म पुगेन । समाजको स्थापित संरचनाभित्र आफ्नो अधिकार पहिचान बुझेनन् अनि बुझेर पनि केही गर्न सकेनन् ।

केही दिनअघि सामाजिक सञ्जालमार्फत मधेसका केही अगुवाहरुले दलितमाथिको विभेदप्रति माफी अभियान सुरु गरे । एउटा दलितको घरमा माफी माग्दै चिया खान बसेका तुलानारायणजीको तस्बिर दखेँ, त्यसले मेरो मनभित्रैसम्म छोयो । यसले मधेसको माटोसँग जोडिएका तुलाजीले गहिरो सन्देश दिएको छ । मेरै गाउँको चिया पसलमा एउटा दलित आफ्नो घरबाटै ल्याएको गिलासमा भुइँमा बसेर चिया खाएको आफ्नै आँखाले देखेको छु्र । यो विभेद पहिले तुलाजीले पनि गर्नुभएको हुनसक्छ । तर अहिले उहाँले देवनारायण मरिकको घरमा चिया खाएर त्यो विभेदलाई सदाका लागि समाप्त पार्नुभएको छ ।

अप्रत्यासित रुपमा माफी माग्ने अभियानको आलोचना हुनु गम्भीर विषय हो । प्रशान्त झा राष्ट्रिय अन्तर्राष्ट्रिय रुपमा मधेसको अधिकारको आन्दोलनमा उहाँको भूमिका अतुलनीय छ । मधेस बुझ्ने र प्रभाव पार्न सक्ने एक प्रकाण्ड सेवकहरुले सुरु गरेको यो अभियानलाई डलरवाला, पीआर प्रवृत्तिको आक्षेप अनि फुट निम्त्याउने अभियान भनेर आलोचना हुनु राम्रो होइन । आलोचनाविना लोकतन्त्र सुदृढ नसके पनि आलोचना तथ्यमा आधारित हुनुपर्छ । संसारको कुनै पनि व्यक्ति आलोचनारहित हुनसक्दैन । उहाँहरु आलोचनारहित हुनुहुन्छ भनेर म भन्दिन । उहाँहरुका व्यक्तिगत महत्वाकाङ्क्षा होलान् तर ती सामाजिक सुधारका कार्यमा द्वन्द्व ल्याउने खालका हुनुहुँदैन ।

विगत १० वर्षमा भएका तीनवटा आन्दोलनले अधिकार र पहिचानको अनुभूति गरायो तर यसले धेरै महत्वाकाङ्क्षा पनि जन्मायो । पहिलो मधेस आन्दोलनपश्चात पनि धेरै उदाए । त्यसैगरी क्रमशः दोस्रो र तेस्रो अन्दोलनपछि पनि नेता बन्ने लहरमा पात्रहरु बदलिए, प्रवृत्ति बदलिएन । सामाजिक न्याय र अधिकारको आन्दोलनको आडमा आफ्नो चम्किलो क्यारियर देख्ने आए गए । आफूलाई यी माफी अभियानकर्ताको हाइटमा देख्न खोजे । तर अहिलेको आवश्यकता नेताको हैन अभियानकर्ताको हो । नेतृत्व एउटा प्रक्रिया हो, एकाएक उदाउन सक्दैन एकाङ्की आत्मकेन्द्रित व्यक्तित्व भएका केही सीमित व्यक्तिहरु आफ्नो मनको कुण्ठाको भार बोक्न नसकेर सबभन्दा सजिलो आक्षेप डलर र फुटको आक्षेप लगाउन भ्याए ।

अहिले प्रतिक्रियावादी शक्ति हाबी भएको र माओवादीले बाटो बिराएको बेला मधेस आन्दोलनले अग्रगामी खेमाको नेतृत्व गर्दैछ । अहिले देशमा परिवर्तनको बाहक मधेसी जनता नै हुन् । मधेस आन्दोलन मधेसी समाजमा स्थापित कमी कमजोरीको पहिचान गरी निराकरण गर्नुपर्छ ।

हामीले अधिकार प्राप्त गरेपछि त्यसलाई व्यस्थापन गर्न सक्नुपर्छ । सकेनौं भने जनयुद्धपछिको सहउत्पादन व्यवस्थापन गर्न नसकेर माओवादीले भोगेको पीडा हामीले पनि भोग्ने अवस्था आउँछ । राजनीतिक अधिकार र सामाजिक सुधार एकसाथ समानान्तर रुपमा लैजानुपर्दछ ।

दलितको स्थितिमा सुधार नआएको चाहिँ हैन स्थिति राम्रो नभए पनि निराशाजनक पक्कै छैन । केही वर्ष पहिलेदखि विप्रेषणले केही हदसम्म आर्थिक विप्पन्नताको जालोबाट बाहिर आयो । मुसहर टोलमा पहिले फुस (खर)का घरहरू मात्र देखिन्थे भने अहिले रातो इँटाका घरहरु देखिन थालेका छन् । मेरा गाउँको चमारपुत्रले पहिलो पटक एसलसी पास गरे । उनका पिताले अरबमा बेल्चा हान्दै छोरालाई जनकपुरमा प्लसटु पढ्न पठाए । जीवनभरि अछूत पिताका पुत्रले समाजमा स्वीकार्यता पायो । पसलमा चिया खान घरबाट गिलास बोकेर आउनु परेन । यसर्थ शिक्षा र सम्पत्तिले विभेद नियन्त्रणमा महत्वपूर्ण भूमिका खेल्ने रहेछ्र । कयाँै ठूलाठूला आन्दोलन भए । ३÷३ वटा मधेस आन्दोलन त आँगनमै देख्न पाए । जनचेतना बढ्यो । क्यापस पढ्न, विदेश जान सरकारी कागजपत्रको आवश्यकता पर्न थाल्यो । उनीहरुले यी सबै कुराको महत्व बुझे । पहिलापहिला मुसहर टोलमा गएर श्रमका लागि मुसहरहरुलाई हाँकेर लिएर आउने गाउँका साम्भ्रान्त वर्ग आजकल त्यही टोलमा मुसहरहरुलाई श्रमका निम्ति खुसामद गरेको देख्न पाइन्छ्र । अरबले श्रम गर्ने हातहरुकोको सङ्ख्या कम भयो । पहिले जस्तो हुकुम दिएर काम गराउन सक्ने अवस्था रहेन । दलितहरु परनिर्भर छैनन् । विगत १०÷१५ वर्षमा स्थिति नै फेरिएको छ ।

यति हुँदैमा दलितको अवस्था सन्तोषजनक रुपमा फेरिएको चाहिँ पक्कै छैन । पचासौँ वर्ष पहिले एउटा दलित बाबा अम्बेडकरले भारतको संविधान लेखे, एकजना बाबा अम्बेडकरको सम्मानमा भारतमा कुनै कमी छैन । तर आज तिनै बाबा अम्बेडकरको एकजना सन्तान रोहित भर्मुला विभेद सहन नसकेर आत्महत्या गरे । यसले के प्रमाणित गर्छ भने राजनीतिक समाधानविना दलित उत्थान सम्भव छैन । चारवटा कुरा– शिक्षा, अर्थ, राजनीतिक सहभागिता र राज्यसत्तामा समानुपातिक साझेदारी । यी चारवटै विषयलाई एकसाथ लिएर अगाडि बढ्न सकियो भने परिवर्तन सम्भव छ्र ।

सबभन्दा महत्वपूर्ण कुरा बहसको आरम्भ हुनु हो । आशा गरौँ माफी अभियानले आरम्भ गरेको बहस सामाजिक सञ्जालबाट सुरु भएर सामाजिक सञ्जालमै सीमित नहोस् । यसले निरन्तरता पाओस् । भोलि सङ्घीय संरचनामा जाँदा हामीले फेरि नयाँ शिराबाट बहस प्रारम्भ गर्नु नपरोस् । अहिलेको बहसले दिएको निष्कर्ष एकैपटकमा लागू गरेर समयलाई बचाउन सकिन्छ्र ।

माफी सबैथोक होइन । यो सत्य हो तर यसको सुरुवातबाट नै केही कुरा प्राप्त हुनसक्छ । सिङ्गै घर फोहोर भएको बेला कहीँ न कहीँबाट त सफाइको सुरुवात गर्नुपर्यो । प्रस्थानबिन्दु तय गर्नु पर्यो । एक जना वा दुई जना मिलेर माफी मागेर यो विभेदलाई साच्चै अन्त्य गर्न सकिदैन तर यो विधेद समाप्तीको सुरुवात हुनसक्छ । एकलाई माफी माग्नेयुक्ति फुर्यो, अर्कोलाई सहभोजन गराउने फुरेको छ, अर्कोलाई बस्ती सारेर हातमा हात मिलाएर अगाडि बढ्ने युक्ति फुर्ला ! यसलाई हामी कडीका रुपमा प्रयोग गर्दै अगाडि बढ्दै जानुपर्छ्र । दलितलाई समानान्तर लिएर आउन जस्तोसुकै प्रयासको सराहना गर्नुपर्छ । अर्को विकल्प छैन । आखिर लक्ष्मन मुर्छित हुँदा प्राणजयी सञ्जीवनी बुटी उही सबरिको कुटीमा अछुत बुझेर फालेको फलबाट न उम्रेको थियो । केही हँुदैन भनेर केही नगर्नुभन्दा केही गर्नु राम्रो हुन्छ ।
Labels:

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget