काठमाडौँ, जेष्ठ ३२ गते । पर्खाइका धेरै दिन बिते । दिनहरु खाादिएर वर्ष र वर्ष जोडिएर दशक गुज्रियो । तर सुरेन्द्रका आँखाले आफ्ना दाजु र भाइ फेरि देख्न पाएनन् ।
‘कि लास देओ कि सास देओ भनेर धेरै हिंडियो, अहिले पनि यही निवेदन गरेर फर्केको छु’ बेपत्ता छानबिन आयोगमा सोमबार आफ्ना दाजु पुष्पराज बस्नेत र भाइ धिरेन्द्र बस्नेतको अवस्था पत्ता लगाइपाऊँ भनी उजुरी हालेर फर्केका सुरेन्द्रले भने, ‘तिनका अभियुक्तहरुलाई कारबाही गरिपाऊँ भन्ने पनि हाम्रो माग छ ।’
सुरेन्द्रका पिता भीमबहादुर बस्नेतले दायर गरेको उजुरीमा तत्कालीन राजा ज्ञानेन्द्र, गृहमन्त्री कमल थापा, सेना प्रमुख प्याराजंग थापा, भैरवनाथका गणपती राजु बस्नेत, त्यसपछिका सबै प्रधानमन्त्रीसहित अहिलेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि विपक्षी बनाइएको छ । यसका अतिरिक्त पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, कंग्रेस नेता एवं पूर्वगृहमन्त्री रामचन्द्र पौडेल, तत्कालिन सैन्य गुप्तचर विभाग प्रमुख दिलिप रायमाझी लगायत १६ लाई बेपत्ता पार्नेहरुको सूचिमा राखिएको छ ।
दमक झापका पुष्प र धिरेन्द्रलाई काठमाडौंमा पक्राउ गरिएको थियो । उजुरीमा पुष्पराजलाई २०६० साल मंसिर १९ गते दिउँसो कालीमाटीबाट र धिरेन्द्रलाई २०६० साल मंसिर २८ बिहान कलंकीबाट भैरवनाथ गणबाट आएका सेनाले नियन्त्रणमा लिएर वेपत्ता पारिएको उल्लेख छ ।
बेपत्ताहरु फेला पर्न सक्ने संभावित स्थान भनी लेखिएको फारममा पीडित परिबारले ‘भैरवनाथ गण महाराजगञ्ज’ भनी लेखेको छ ।
‘बेपत्ता भएपछि हामीले दुबैलाई कहिल्ये देख्न पाएनौं, के कसो अवस्थामा उनीहरु गुज्रिए कहिल्यै जानकारी पनि मिलेन’ सुरेन्द्र भन्छन्,‘हामीलाई लाग्छ, उनीहरुको हत्या भइसकेको छ, तर कसको पालामा कसले गर्यो भन्ने चाहिँ अनुसन्धान नगरी नखुल्ने हुनाले त्यतिबेलाका सासन सत्तामा बसेका र त्यसपछि पनि राज्यको अधिकार सम्हालेका सबैलाई अभियुक्त बनाउनु परेको हो । यी मध्ये कोही न कोही अपराधी जरुर हो जो छानबिनले देखाउने नै छ ।’
बेपत्ता पारिएको समयमा पुष्पराजको उमेर २६ र धिरेन्द्रको २० वर्षको थियो भने सुरेन्द्र २२ वर्षका थिए ।
‘उनीहरु दुबै विद्यार्थी संगठनमा सक्रिय थिए र मात्र आस्थाको भरमा पक्राउ परेका थिए’ सुरेन्द्र भन्छन्,‘हामीले त पक्राउ परेको रेडियोबाट थाहा पायौं, राज्यले ठूलो अन्याय गर्यो, त्यसको सत्य निरुपण होस्, हाम्रा मान्छेको अवस्था के छ त्यो खुलोस अनि दोषीले कडाभन्दा कडा दण्ड पाओस् ।’
पेपत्ताको आफन्तको पारिबारिक अवस्था अत्यन्त दयनीय भएको, वर्षौंसम्म ठूलो मानसिक आघातबाट गुज्रनु परेको र उनीहरुबाट आश्रित परिबार ठूलो विचल्लीमा परेको उजुरीमा भनिएको छ ।
खोजखबर गर्दा केही अत्तोपत्तो नलागेपछि बेपत्ताहरुकी आमा आमा चन्कुमारीले आफ्ना छोराहरु खोजिपाऊँ भनी २०६२ भदौ ७ गते बन्दी प्रत्यक्षीकरणको रिट दायरसमेत गरेकी थिइन् । सेना र राज्यपक्षका अन्य निकायले बस्नेत बन्धुालई बेपत्ता पारेको भन्दै अदालतले पीडित परिबारलाई एक लाख रुपैयाँ राहत दिन आदेश पनि गरेको उजुरीमा उल्लेख छ ।
सन् २००६ मा प्रकाशित संयुक्त राष्ट्रसंघीय मानवअधिकार उच्च आयुक्तको कार्यालयको प्रतिवेदनको पृष्ठ ८ मा भैरवनाथ गणमा पुष्पराज र धीरेन्द्रलाई भैरबनाथ गणमा राखिएको उल्लेख छ ।
kantipur
Post a Comment