Websoft University

www.radiomakalu.com || 021-522512


उफ् धुलोे धुँवा! यस्ता रोग लाग्ने खतरा, लाखौंको ज्यान जोखिममा




ज्यानै ढाक्ने धुलो, निरन्तर चलिरहेका गाडीले निकाल्ने धुँवा, झन् त्यसमाथि चुरोटका सौखिन । अनि, सडकमै रिक्सा चलाएर गुजारा गर्नुपर्ने बाध्यता । नुवाकोटका शान्तराम पौडेललाई खोकी लाग्यो । जाडोको समयमा खोकी झन् चर्कन्थ्यो । सुरुमा उनले वास्ता गरेनन् । रिक्सा गुडिरह्यो ।

तर, दुइ वर्षअघिको हिउँदमा ज्यादै खोकी लागेर श्वास फेर्नसमेत गार्‍हो भएपछि उनी वीर अस्पताल पुगे । चिकित्सकहरुले श्वासनली खुम्चिसकेको र कडा खालको दम (क्रोनिक अब्स्ट्रेटिक पल्मोनरी डिजिज–सिओपिडी) ले समातिसकेको बताए । हाल उनी श्वासनली खुकुलो पार्ने औषधि ब्रोनकोडाइलेष्ट र अक्सिजनको मात्रा बढाउन प्रयोग गरिने इनहेलर्स प्रयोग गरिरहेका छन् ।

‘सडकमा लगातार धुलो र सवारीको धुँवासँगको सम्पर्क र चुरोट सेवनका कारण मलाई यो रोग लागेको रहेछ’ उनले भने, ‘अहिले धुमपान छाडेको छु भने चिकित्सकको सल्लाहअनुसार औषधि पनि सेवन गरिरहेको छु ।’ समयमै ख्याल नगर्दा दीर्घरोगले समातेर अहिले उनको आर्थिक भार पनि बढ्दै छ, तर, रोगले च्याप्दै लैंजाँदा कमाई पनि घटेको छ । रिक्सा चलाएवापत उनी महिनामा औसतमा १५ हजार कमाउँछन् । त्यसमध्ये तीन हजार त औषधि उपचारमै खर्च हुने गरेको छ ।

– भर्खरै ४५ टेकेकी सिन्धुपाल्चोककी गृहिणी धनमाया तामाङलाई सिओपिडीले सताएको १० वर्षभन्दा बढी भैसकेको छ । रोगले च्याप्दै लगेपछि तीन वर्षदेखि काठमाडौँमा श्रीमानसंग बसिरहेकी उनलाई आजकाल अक्सिजन दिएर राख्नुपर्ने अवस्था आएको छ ।

धनमायाका श्रीमान मीनबहादुर घट्टेकुलोमा किराना पसल सञ्चालन गर्छन् । अक्सिजन दिएरै राख्नुपर्ने अवस्था आएपछि गाउँको खेतबारी अरुलाई कमाउन दिएर श्रीमतीलाई काठमाडौँमै ल्याएका छन् उनले । ‘अक्सिजनको सिलिण्डर गाउँमा लैजान समस्या भएपछि छोरा र श्रीमतीलाई काठमाडौँ बोलाउनु प¥यो’ उनले भने, ‘कमाएको धेरै पैसा उपचार र घरभाडामा नै जाने गरेको छ ।’ महिनामा मुस्किलले २० हजार कमाई हुने तामाङको आम्दानीमध्ये मासिक ७ हजार त धनमायाकै उपचारमा खर्च हुने गरेको छ । मासिक ४ हजार जति औषधि खुवाउन तथा ३ हजार अक्सिजन सिलिण्डरका लागि खर्च हुने उनले बताए ।
‘जाडोमा त रोगले बढी च्याप्छ र ट्याक्सीमा हालेर अस्पताल दौडाइहाल्नु पर्छ’ उनले भने । मीनबहादुरका अनुसार धनमायाले सानै उमेरदेखि चुरोट पिउने गरेकी थिइन् भने घरमा दाउराको चुल्होमा नियमित खाना पकाउँने गर्थिन् । डाक्टरले पनि धनमायालाई चुरोट र दाउराको धुँवाका कारण रोगले छिट्टै च्यापेको बताएको मीनबहादुरले बताए ।


शहरी क्षेत्रमा बढ्दै गएको धुलो, धुँवा, प्रदुषण र धुमपानको बढ्दो प्रयोग तथा ग्रामीण भेगमा दाउरा बालेर खाना पकाउने गृहिणीमा श्वासप्रश्वाससंबन्धी रोग बढ्दै गएको छ । जसअन्तर्गत सिओपिडी दम, ब्रोङकाइटिस, क्षयरोग, फोक्सोको क्यान्सर तथा निमोनियाका बिरामीको संख्या नेपालमा बढ्दै गैरहेको छ । अव्यवस्थित शहरमा बढेको प्रदुषण र धुमपानको निरन्तर सेवनका कारण पछिल्ला वर्षमा शहरी क्षेत्रमा फोक्सो तथा स्वासप्रस्वासका बिरामीको संख्या ह्वात्तै बढेको चिकित्सकहरुले बताएका छन् ।

चिकित्सकहरुले सिओपिडीलाई सरल भाषामा बुझाउँदा जीर्ण प्रकारको श्वासनली साँघुरिने रोगका रुपमा परिभाषित गर्छन् । यो रोगमा श्वासनली साँघुरिंदैं गएर सास फेर्न गाह्रो हुने हुन्छ । डा. पाटन अस्पतालका वरिष्ठ छातिरोग विशेषज्ञ डा. अर्जुन कार्कीका अनुसार यो रोग समयक्रम सँगै बढ्दै जाने भएकाले मानिसहरुले जीवनभर औषधिसहित अक्सिजनको सहारामा बस्नुपर्ने हुन्छ । ‘प्रमुख कारण धुमपान भएपनि वायु प्रदुषण तथा रासायनिक पदार्थ मिसिएको धुँवाको मुस्लोले यो रोग गराउन मद्दत गर्दछ’ डा कार्कीले भने, ‘त्यसैले लामो समयसम्म धुमपान गर्ने, धुँवा तथा वायु प्रदुषणमा रहने, ट्राफिक, ईंटाभट्टा तथा सिमेण्ट कारखानामा काम गर्ने मानिस बढी जोखिममा हुन्छन् ।’

दम, ब्रोङकाईटिस र निमोनियाजस्ता श्वासप्रश्वाससंबन्धी समस्या पनि धुमपान, धुँवा तथा ब्याक्टेरियाका कारण हुन्छन् । यस्ता रोग चिसो मौसममा बढी देखिन्छन् । चिसोसँगै प्रदुषित क्षेत्रका मानिसमा श्वासनली अझ बढी खुम्चिने हुनाले दमको समस्या बढ्छ । त्यसैगरी श्वासनली सुन्निन गई कम्तिमा तीन महिनासम्म खोकी लाग्ने ब्रोङ्काईटिसको समस्या पनि जाडो महिनामै बढी हुन्छ । रुघाखोकी तथा अन्य भाइरल संक्रमण बिग्रेर वा दम तथा ब्रोङ्काईटिसका कारण खकार जमेर छाती पाक्ने अवस्थालाई निमोनिया भनिन्छ । यी सबै समस्याका कारण उमेर पुगेका व्यक्तिलाई शिथिल गराउने र अकालमा मृत्यु पनि गराउने छातिरोग विशेषज्ञ डा. दीर्घसिंह बम बताउँछन् ।


मृत्युको प्रमुख कारण



विश्व स्वास्थ्य संगठनले सन् २०३० सम्ममा सीओपिडी विश्वभरमा हुने कुल मृत्युको तेस्रो कारण हुने अनुमान गरेको छ । गत आर्थिक वर्षमा वीर अस्पतालमा भएको कुल मृत्युमध्ये सिओपिडीबाट मृत्यु हुनेको संख्या सबैभन्दा धेरै रहेको थियो । अस्पतालको रेकर्ड शाखाका अनुसार गत वर्ष मेडिकल ओपिडीमा झण्डै ५५ हजार बिरामी उपचारका लागि आएका थिए । तीमध्ये श्वासप्रश्वास तथा फोक्सोको समस्याका मात्र १३ हजारभन्दा बढी बिरामी थिए । अस्पतालमा आएका बिरामीमध्ये सिओपिडीका कारण भर्ना नै गर्नुपर्ने अवस्थामा पुगेका बिरामी चारसय १२ थिए । तीमध्ये ४८ जनाको मृत्यु भएको छ ।

यस्तै, वीर अस्पतालमा कुल मृत्युमध्ये निमोनिया दोस्रो नम्बरमा छ । गतवर्ष अस्पतालमा निमोनियाका कारण भर्ना नै गर्नुपर्ने अवस्थामा पुगेका २ सय १४ बिरामीमध्ये ३१ जनाको मृत्यु भएको थियो । रेकर्ड शाखाका अनुसार मेडिकल ओपिडीमा आएका बिरामीमध्ये निमोनियाका बिरामीको संख्या पाँच हजार भन्दामाथि थियो ।

सिओपिडी र निमोनियासँगै फोक्सोको क्यान्सरबाट हुने मृत्यु वीर अस्पतालमा कुल मृत्युको चौथो कारण बनेको छ । अस्पतालमा गत वर्ष फोक्सोको क्यान्सरका कारण २० जनाको मृत्यु भएको छ । देशका अन्य अस्पतालमा सिओपिडी, दम, निमोनिया, ब्रोङकाइटिसजस्ता फोक्सो तथा श्वासप्रश्वासको समस्या लिएर अस्पताल पुग्ने बिरामीको संख्या उच्च रहेको डा. कार्कीले बताए । उनका अनुसार उपचारका लागी मेडिकल विभागमा आउने बिरामीमध्ये एक तिहाईभन्दा बढीमा श्वासप्रस्वासको समस्या हुने गरेको छ ।

‘बढ्दो प्रदुषण, धुलो, धुँवा, धुमपानको सेवनजस्ता कारणले यो संख्या डरलाग्दो गरी बढिरहेको छ’ डा. कार्कीले भने, ‘यस्तै अवस्था रहने र मानिसले आफ्नो स्वास्थ्यको समयमा नै ख्याल नगर्ने हो भने आगामी दिनमा यी रोगले भयावह रुप लिने खतरा छ ।’ उमेरले ४० नाघेकामा सिओपिडी देखिने गरेको बताइए पनि पछिल्ला वर्षमा त्योभन्दा कम उमेरकालाई पनि यो समस्या देखिने दर बढ्न थालेको छ । डा. कार्कीका अनुसार पछिल्लो समयमा विद्यालय जाने उमेरकै बालबालिकामा धुमपान गर्ने बानीले ३० वर्ष नाघेकामा पनि सिओपिडी देखिन थालेको हो ।

विश्व स्वास्थ्य संगठनले कम र मध्यम आयस्रोत भएका राष्ट्रमै सीओपिडीका कारण ९० प्रतिशत मानिसको मृत्यु गरेको जनाएको छ । आगामी एक दशकमा सीओपिडीबाट हुने मृत्यु हुनेको संख्या ३० प्रतिशतले बढ्ने अनुमान संगठनले गरेको छ । डा. कार्कीका अनुसार नेपालमा श्वासप्रश्वास तथा फोक्सोको समस्याका कारण कति मानिसको मृत्यु भैरहेको छ र कति मानिसमा यो रोग लागेको छ भन्ने यकिन तथ्यांक छैन । तर बढ्दै गएको प्रदुषण र धुमपानको लत हेर्दा केही वर्षपछि नेपालमा अधिकांशमा यस्तो समस्या देखिने निश्चित छ ।

डा. कार्कीका अनुसार सडकमा निरन्तर गुडिरहने सवारीबाट निस्कने धुँवा तथा धुलोको कण मानिसको फोक्सोसम्म पुग्छ । त्यस्ता धुँवा तथा धुलोका कणले फोक्सोमा एलर्जी गराँउछन् । एलर्जीले फोक्सोमा संक्रमण हुन्छ र त्यसका कारण सिओपिडी, दम, ब्रोङकाइटिस जस्ता श्वासप्रस्वासका समस्या देखिन थाल्छ । ‘धुलो धुँवा र प्रदुषणले हाम्रो फोक्सो बिग्रँदै गएको छ’ उनले भने, ‘यस्तो वातावरणमा निरन्तरको सम्पर्कले कालान्तरमा अधिकांसमा फोक्सोका गम्भिर दीर्घकालीन समस्या आउँछ ।’

सिओपिडी तथा दीर्घ दमका समस्या तत्काल देखिने समस्या होइनन् । ‘यो रोग त प्रदुषण, धुलो, धुँवा तथा धुमपानको लामो समयसम्मको सम्पर्कमा रहँदा हुने हो’ डा. कार्कीले भने, ‘तर अहिले मानिस बलियो हुँदा हेलचेक्र्याईं गरिहेका छन्, केही भएको छैन भन्दै धुलोधुँवालाई बेवास्ता गरिरहेका छन्, तर विस्तारै प्रदुषणले फोक्सोलाई बिगार्दै गएको छ ।’ उनले अहिले हेलचेक्र्याईं गरेर हिँड्ने र शहरको धुलो र धुमपानलाई बेवास्ता गर्ने अधिकांशमा सिओपिडीको समस्या देखिने गरेको बताए ।

नेपालका ग्रामीणदेखि शहरी सबै क्षेत्रका मानिसमा श्वासप्रश्वासको दीर्घरोगको खतरा बढिरहेको छातिरोग विशेषज्ञ डा. दीर्घसिंह बम बताउँछन् । उनले अन्य क्षेत्रको तुलनामा काठमाडौँ उपत्यकामा बसोबास गर्नेमा यस्ता रोगको जोखिम तीब्र रुपमा बढिरहेको जानकारी दिए । ‘उसै त प्रदुषित काठमाडौँ त्यसमाथि वर्षौदेखि बिस्तारका लागि भत्काइएका संरचनाले धेरैलाई दीर्घ रोगतिर धकेलिरहेको छ’ उनले भने, ‘तर यो कुरालाई धेरैले बेवास्ता गरिरहेका छन् । यस्ता कुरालाई हल्का रुपमा लिन हुँदैन । अहिले समस्या देखिएन भनेर ढुक्क हुनुहुन्न । यो समस्याले पछि धेरैलाई गाँज्ने छ ।’


मापदण्डभन्दा बढी प्रदुषण



नेपालका शहरी क्षेत्रमा बढ्दै गएको प्रदुषणले लाखौँको ज्यान जोखिममा रहेको सरकारकै एक अध्ययनले देखाएको छ । वातावरण मन्त्रालय र वातावरणसँग सम्बन्धित विभिन्न संगठनले गरेको अध्ययनले राजधानी काठमाडौँसहित नेपालका शहरी क्षेत्रको प्रदुषण विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्डभन्दा पनि धेरै गुणा बढी रहेको देखाएको छ ।
उद्योगधन्दा तथा कलकारखानाको अव्यवस्था, अस्तव्यस्त ट्राफिक, पूराना सवारीको व्यवस्थापन नहुनुजस्ता कारणले प्रदुषणको मात्रा बढ्दै गएको छ । जसका कारण शहरी क्षेत्रमा जताततै हानिकारक धुलोका कण बढिरहेको देखिएको छ । त्यस्तो धुलोमा लामो समय सम्पर्कमा रहँदा लाखौँ मानिसलाई श्वासप्रश्वासका समस्याले दीर्घ रुपमा सताउने चिकित्सकहरु बताउँछन् ।

विश्व स्वास्थ्य संठनका अनुसार आँखाले देख्न नसक्ने धुलोका कण (पाटर्स् पर मिलियम–पिपिएम–१०) को मात्रा एकसय २० हुनुपर्छ । तर काठमाडौंका केही ठाउँंमा पिपिएमको स्तर चारसयभन्दा माथि पुगेको छ । धुलोका मसिना कण पिपिएम १० माइक्रोनभन्दा कम भएमा नाकबाट सहजै भित्र छिर्न सक्छन् र श्वासनली तथा फोक्सोमा जमेर विभिन्न समस्या निम्त्याउने गर्छ । यो अवस्थालाई सुधार गर्नेतर्फ सरकार नलाग्ने हो भने नेपालका शहरी क्षेत्रमा बसोबास गर्ने लाखौँको ज्यान जोखिममा रहेको चिकित्सकहरुको भनाई छ ।

दक्षिण एसियामा वायु प्रदुषणसम्बन्धी काम गरिरहेको नयाँदिल्लीस्थित सेन्टर फर साइन्स एण्ड इन्भाइरोमेन्ट (सिएसइ) ले सार्वजनिक गरेको प्रतिवेदनअनुसार दक्षिण एसियाका ठुला २२ शहरमध्ये दिल्ली र काठमाडौं सबैभन्दा धेरै प्रदूषित शहर हुन् । काठमाडौंको वायु प्रदुषणको प्रमुख कारण सवारीसाधनबाट निस्कने धुवाँ नै हो । विभिन्न कारणले हुने वायु प्रदुषणको असरले काठमाडौंबासी दर्जनौं स्वास्थ्यसम्बन्धी समस्या भोगिरहेका छन् ।


पूराना सवारी मुख्य समस्या



प्रदुषणविज्ञ भुषण तुलाधरका अनुसार पूराना सवारीसाधन जथाभावी सञ्चालन भइरहेका कारण पनि प्रदुषणको मात्रा बढ्दै गएको छ । पछिल्ला बर्षमा काठमाडौं सवारीसाधन भित्रने क्रम झन् तीब्र भएको र सडकसमेत धुलाम्मे भएकाले प्रदुषणको मात्रा अकल्पनीय रुपमा बढेको छ । यसले तत्काल रुपमा देखिने समस्या मात्र नभई दीर्घकालमा देखिने जटिल समस्या निम्त्याइरहेको छ ।

केही बर्ष अघिको एक अध्ययनअनुसार काठमाडौंमा सवारीसाधनले सबैभन्दा बढी प्रदुषण गराउने पाइएको छ । यस्तै, सडकको धुलो, कृषिजन्य कार्य, इटाभट्टा, घर, डढेलोलगायत प्रदुषणका अन्य कारक रहेका छन् । प्रदुषणविद् तुलाधारले सवारीसाधनको गुणस्तर मापन गर्न नसक्दा प्रदुषणको मात्रा बढेको बताए । उनले सरकारले तत्कालै रोग निम्त्याउने यस्ता सवारी विस्थापित नगर्ने हो भने केही वर्षपछि शहरी क्षेत्रमा बसोबास गर्ने अधिकांश श्वासप्रश्वासका रोगी हुने बताए ।
वातावरण मन्त्रालयको एउटा तथ्यांक अनुसार नेपालमा बर्सेनि १६ सयभन्दा बढी मानिसको मृत्यु वायु प्रदुणकै कारण हुने गरेको छ । स्वच्छ उर्जा नेपालले सन् २००५ मा गरेको एउटा अध्ययनअनुसार काठमाडौंका करिव १५ लाख मानिसले श्वासप्रश्वाससम्बन्धी कुनै न कुनै समस्या भोगिरहेका छन् । गाडी तथा इट्टाभट्टाबाट आउने धुँवा, गाँउघरको परम्परागत चुल्हो, धुमपान, शहरमा बढेको प्रदुषण, उद्योगधन्दा तथा जेनेरेटरबाट निस्कने धुँवामा कार्बन, सल्फ्युरिक एसिड, कार्बनमोनोअक्साइड लगायतका केमिकल हुन्छन् । यसका साथै धुलोका साना कण श्वासप्रश्वासको क्रममा भित्र जान्छन् र फोक्सोमा जम्मा हुन्छन् ।

यस्ता कणले श्वास नलीलाई नै साँघुरो बनाउने गर्छन् । नेपालको शहरी क्षेत्रबाहेक अन्य ठाउँमा (विशेषगरी हिमाली तथा उच्च पहाडी क्षेत्रमा) खाना पकाउन तथा कोठा न्यानो बनाउन परम्परागत रुपमा दाउरा बाल्ने चलन अभैm छ । त्यसैले पनि नेपालमा सीओपीडीका बिरामीको संख्या निकै धेरै छ । -स्वास्थ्य खबरपत्रिकाबाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget