Websoft University

www.radiomakalu.com || 021-522512


किशोरीहरू भन्छन्– मनोरञ्जन क्षेत्र रोज्न बाध्य छौं


काठमाडौं, असार १४ गते । अधिकांश महिला तथा बालबालिका जीविकोपार्जनका लागि कामको खोजी गर्ने क्रममा मनोरञ्जन क्षेत्रमा लाग्ने गरेको पाइएको छ ।


परिवारको आकार ठूलो हुँदा आफ्नो आधारभूत आवश्यकता पनि पूरा हुन नसकेर परिवारले चासो दिन छाडेपछि काठमाडौँको एक होटलमा गीत गाउने काम सुरु गरेको सोलुखुम्बुकी एक युवती बताउँछिन् ।

दश कक्षासम्मको मात्र अध्ययन गरेकी उनीसँग राम्रो गीत गाउने कला छ । ‘परिवारले सहयोग गरेको भए राम्रो गीतको एल्बम निकाल्ने मन थियो, त्यसका लागि परिवारको सहयोग पाइएन, यस्तै समस्याले गर्दा रेस्टुराँमा आएर गीत गाउने काम सुरु गरेको हुँ,’ उनले भनिन् ।

उनले एक वर्षमा दुई रेस्टुराँमा काम गरे पनि कहीँ तलब दिँदैनन् त कहीँ विभिन्न किसिमको हिंसाको सिकार बन्नुपर्छ । यस क्षेत्रमा काम गर्ने सबैलाई समाजको दृष्टिकोण पनि फरक फरक छ । कसैले सहयोग गरेमा पेसा परिवर्तनसँगै आफ्नो पढाइलाई निरन्तरता दिने चाहना आफ्नो रहेको उनले बताइन् ।

गोङ्गबुमा रहेको एक होटलमा काम गरेर जीवन बिताइरहेकी रुकुमकी अर्की किशोरीको पनि व्यथा उस्तै छ । ‘घरको आर्थिक अवस्था कमजोर भएको हुँदा पढाइलाई निरन्तरता दिन पनि सकिएन, यसै क्रममा गाउँकै एक जना दिदीले जागिर लगाई दिनेसँगै पढाइ दिने भनेपछि काठमाडौँ आएको हुँ,’ उनले भनिन् ।

होटलमा काम गर्न थालेको छ महिना हुँदा पनि अहिलेसम्म उनले न पैसा पाएकी छिन् न त पढ्न नै । आँखाभरि आँसु पार्दै उनले भनिन्, ‘आफूसँगैको सबै साथी विद्यालय जान्छन्, आफू भने अर्काको काम गरेर दिन बिताइरहेकी छु, शरीरमा सुन्दरता र शक्ति रहुन्जेल यस्तो काम गरेर कति समय गुजार्ने हो, थाहा छैन,’ भविष्यप्रति आश्वस्त नभई उनले भनिन् ।

कक्षा ९ सम्मको मात्र अध्ययन गरेकी उनलाई पढ्नका लागि कसैको सहयोग आवश्यक रहेको उनी बताउँछिन् । आमा विदेश गएकी हुँदा घरमा बुबाले राम्रो ख्याल नगरेका कारण काठमाडौँको एक होटलमा भाडा माझ्ने काम गरेर समय गुजारिरहेका धादिङका ११ वर्षीय बालकको पीडा पनि अरुभन्दा फरक छैन ।

कक्षा ३ सम्मको मात्र अध्ययन गरेका उनले रुँदै भने, ‘पैसाको अभाव हुँदा आमा पनि विदेश जानुभयो, बुबाले गाली मात्र गर्नुहुन्छ, माया गर्ने कोही छैन, आमा विदेश जानुभएको चार वर्ष बितिसक्यो, बुबाको गाली सहन नसकेर होटलमा काम गरेर बसेको हुँ ।’

पैसा धेरै नदिए पनि सहरमा उनलाई रमाइलो लागेको छ । आमा आएपछि घर जाने योजनामा उनी छन् । त्यसपछि उनी राम्रोसँग पढ्ने बताउँछन् ।

नेपालको संविधानले बालबालिकाको हकलाई सुनिश्चित गरेको छ । बालबालिकालाई कुनै पनि प्रकारले दुर्व्यवहार गर्न, शारीरिक– मानसिक, यौनजन्य वा अन्य कुनै शोषण गर्न वा अनुचित प्रयोग गर्न नपाइने, बालबालिकालाई बालविवाह गैरकानुनी रुपमा ओसारपसार र अपहरण गर्न वा बन्धक राख्न नपाइने कानुनी व्यवस्था छ ।

बालश्रम निषेध तथा नियमित गर्ने ऐन २०५६ मा बालबालिकालाई उनीहरुको इच्छा विपरीत कुनै पनि काममा लगाउन नहुने व्यवस्थासँगै पर्यटन, आवास, होटेल, मोटेल, रेस्टुराँ, केबलकार, पदयात्रा, पर्वतारोहण, पर्यटनसम्बन्धी व्यवसायमा प्रयोग गर्न नपाइने उल्लेख छ ।

पछिल्लो समय मनोरञ्जन क्षेत्रमा मात्रै नभई सार्वजनिक स्थान र सडक छेउमा पनि बालबालिका विभिन्न हिंसाको सिकार बन्नुपरेकाले सरकाले त्यसतर्फ पनि ध्यान दिन आवश्यक रहेको रक्षा नेपालकी अध्यक्ष मेनुका थापा बताउँछिन् ।

कानुनको कार्यान्वयनमा कडाइ गर्नाका साथै मनोरञ्जन क्षेत्रमा हुने कामलाई पनि अन्य पेसाको जस्तै निश्चित योग्यता निर्धारण गरी सम्मानित पेसाका रुपमा स्थापित गर्नुपर्ने अध्यक्ष थापाको भनाइ छ ।

त्यसैगरी महिलाका निम्ति महिला मञ्च नेपालका अध्यक्ष कविता राना मगरका अनुसार परिवारको मायाको अभाव र परिवारमा हुने झगडाले गर्दा पछिल्लो समय सुदूरपश्चिम क्षेत्रका बालबालिका बढी हिंसामा पर्ने गरेका छन् । प्रत्येक अभिभावकले बालबालिकाप्रतिको आफ्नो जिम्मेवारी के हो भन्ने बुझ्न आवश्यक रहेको अध्यक्ष मगरले बताइन् ।

महानगरीय अपराध महाशाखाका प्रमुख सर्वेन्द्र खनालले मनोरञ्जन क्षेत्रमा अत्यधिक रुपमा बालबालिका र महिला नै काम गर्ने हुँदा हिंसाको सिकार बन्नुपरेको बताउँदै पछिल्लो समय सडक छेउमा पनि बालबालिका केही पैसा पाउने लोभमा यौन दुर्व्यहारमा पर्ने गरेकाले प्रहरी प्रशासनले साँझका समयमा सडक छेउमा अनुगमन गर्ने कार्यलाई तीव्र पारेको जानकारी दिए ।

केही समयअघि माइती नेपालले जारी गरेको तथ्याङ्क अनुसार काठमाडौँ उपत्यकामा मात्रै २५ हजार डान्सबार, क्याबिन तथा रेस्टुराँ रहेको बताइएको छ । ती अधिकांशमा महिला तथा बालबालिकाले काम गरिरहेका छन् ।-अनलाइनखबरबाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget