Websoft University

www.radiomakalu.com || 021-522512


चालकको लापरबाहीले ज्यान गए दोषीलाई जन्मकैद

काठमाडौँ, असार ४ गते। संसदमा विचाराधीन एउटा विधेयक जस्ताको तस्तै पारित भएमा ज्यान मार्ने उद्देश्यले सवारी दुर्घटना गराउने र लापरबाहीका कारण व्यक्तिको ज्यान जाने गरी दुर्घटनामा पर्ने चालकले बराबरी सजाय पाउने छन् ।



संसद्ले गत बुधबार सैद्धान्तिक रूपमा स्वीकृत गरेको 'केही नेपाल कानुनलाई संशोधन, एकीकरण, समायोजन र खारेज गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक' मा बदनियतले दुर्घटना गराई व्यक्तिको ज्यान मार्ने र लापरबाहीका कारण व्यक्तिको ज्यान जाने गरी दुर्घटनामा पर्ने चालकले जन्मकैदको सजाय पाउने उल्लेख छ । प्रचलित कानुनअनुसार जन्मकैद भन्नाले बीस वर्ष जेल सजाय बुझिन्छ ।
विधेयकमा सजाय परिमार्जन गर्नुपर्नाको कारणमा अपराध संहिताअनुरूपको सजायको व्यवस्था गर्न आवश्यक भएको उल्लेख छ । कानुन विज्ञ सांसद कृष्णभक्त पोखरेलले भने प्रस्तावित दण्ड व्यवस्था फौजदारी न्यायको मूल्य-मान्यताविपरीत भएको बताए । 'जानीजानी सवारी दुर्घटना गराई व्यक्तिको ज्यान लिने अपराध र लापरबाहीमा हुने दुर्घटनाका दोषी चालकलाई बराबरी सजाय गर्न मिल्दैन,' उनले भने, 'यसमा आवश्यक संशोधनको प्रस्ताव राखिनेछ ।'

विधेयकमाथि संशोधनका लागि सांसदहरूले पाएको ६२ घण्टाको समय सीमा आइतबार सकिँदै छ । मुलुकी ऐन प्रतिस्थापनका लागि प्रस्तावित विधेयकहरूको कार्यान्वयन गर्न ल्याइएको उक्त विधेयकमा सवारी तथा यातायात व्यवस्था ऐन २०४९ का केही महत्त्वपूर्ण प्रावधानमा परिवर्तन प्रस्तावित छन् ।

ऐनमा दुर्घटनामा सवारी साधनमा सवार र सवारी बाहिर जुनसुकै ठाउँमा रहेको मानिस त्यस्तो दुर्घटनाको कारणबाट मरेको अवस्थामा चालकले ज्यान मार्ने मनसायले सवारी दुर्घटना गराएको प्रमाणित भए दोषी चालकलाई सर्वस्वसहित जन्मकैदको सजाय हुने व्यवस्था छ ।

विधेयकमा यसमा परिवर्तन गरी जन्मकैद मात्रै गर्ने प्रस्ताव गरिएको छ । ऐनमा ज्यान मार्ने मनसायले गराएको दुर्घटनामा व्यक्तिको ज्यान मर्न नपाएको अवस्थामा भने दोषी चालकले कसुरको मात्राअनुसार ५ देखि १२ वर्ष कैद सजाय हुने प्रावधान भने विधेयकमा पनि यथावत् छ । विधेयकमा ऐनको दफा १ सय ६१ को उपदफा १ र २ तथा दफा १ सय ६२ को उपदफा १ र ३ मा संशोधन प्रस्तावित छन् ।
विधेयकमा ज्यान मार्ने मनसाय नभए पनि चालकले दुर्घटना हुन सक्छ भन्ने जानीजानी वा लापरबाही गरी सवारी चलाएको कारणबाट सवारी दुर्घटना हुँदा व्यक्तिको ज्यान गएको अवस्थामा पनि जन्मकैदको प्रस्ताव गरिएको छ । ऐनमा व्यक्तिको ज्यान जाने गरी भएको दुर्घटनामा चालकको लापरबाही ठहर भएमा दुईदेखि दस वर्षको कैद सजायको व्यवस्था छ ।

विधेयकमा सवारी दुर्घटनामा व्यक्तिको अंगभंग हुने घटनामा दोषी चालकलाई हुने सजायलाई कसुरको मात्राअनुरूप तीनदेखि दस वर्ष कैद र तीस हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था प्रस्तावित छ । ऐनमा बदनियतसाथ गराइएको दुर्घटनाका कारण व्यक्तिको अंगभंग भएको अवस्थामा दोषी चालकलाई आठ वर्षसम्म कैद र दस हजार रुपैयाँसम्म जरिवाना हुने प्रावधान छ ।

प्रस्तावित व्यवस्थाअनुसार सवारी चालक अनुमतिपत्र नभएको व्यक्तिले सवारी चलाउँदा भएको दुर्घटनामा कुनै व्यक्तिको अंगभंग भएमा सवारी धनी पनि आधार सजायको भागीदार बन्नुपर्छ । ऐनमा कुनै सवारीको धनी वा सवारी जिम्मा लिएको व्यक्तिले चालक अनुमतिपत्र नभएको व्यक्तिलाई सवारी चलाउन दिई कुनै मानिसलाई किची, ठक्कर लागी वा दुर्घटना भई सवारीमा रहेको वा बाहिर जुनसुकै ठाउँमा रहेको मानिसको अंगभंग भएमा त्यस्तो सवारी चलाउन दिनेलाई दुई हजार रुपैयाँ जरिवाना हुने प्रावधान छ ।

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget