तौलिहवा, असार १३ गते । मानव तस्करीमा संलग्न भएको भन्दै एकजना ‘बिचौलिया’ कपिलवस्तुको कृष्णनगरबाट पक्राउ परेका छन् ।
फाइल तस्वीर
मानव बेचबिखन तथा ओसारपसारविरुद्ध क्रियाशिल संस्था के.आई. नेपाल, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल राजश्व भन्सार सुरक्षा गुल्म कृष्णनगरको संयुक्त टोलीले सल्यानको हिवल्चा-१ का ३६ वर्षीय बेलबहादुर विश्वकर्मालाई पक्राउ गरेको हो ।
उनले कृष्णनगरको बाटो हुँदै हंशपुर-२ र बांगेसाल-६ प्युठानका दुई किशोरीहरुलाई भारत लैजान खोजेका थिए ।
विश्वकर्माले युवतीहरुसँग चिनजान गरी समय-समयमा मोबाइलमा रिचार्ज गरिदिने, काठमाडौं लगायत ३ ठाउँमा घर भएको र भारतमा आफ्नै कम्पनी भएकाले राम्रो जागिर लगाइदिने प्रलोभनमा पारेको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक सञ्जय रिजालले जानकारी दिए ।
चन्द्रौटाबाट भारतको सीमासम्म मोटरसाइकलमा ल्याउने र सीमामा कसैले सोधेमा श्रीमान् बिरामी हुनुहुन्छ भनेर सिकाई चोर बाटो प्रयोग गरी उनले युवतीहरुलाई भारत छिराउने गरेको सोधपुछको क्रममा खुलेको के.आई. नेपालका जिल्ला संयोजक केसर विश्वकर्माले जानकारी दिए ।
धेरै कमाइ हुने प्रलोभनमा उनले उद्धार गरिएकी एक युवतीलाई दाङ देउखुरीको भालुवाङ बोलाएर मोटरसाइकलमा राखेर भारत लैजान लागेको र अर्की एक युवतीलाई कपिलवस्तुको चन्द्रौटा बोलाएर कृष्णनगर हुँदै भारत लैजान खोजेको प्रहरीको भनाइ छ ।
पक्राउ परेका विकलाई मानव बेचविखन तथा ओसारपसार विरुद्ध मुद्दा दर्ता गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरी निरीक्षक रिजालले जानकारी दिए । उद्धार गरिएका दुई किशोरीलाई भने केआई नेपालको आपतकालिन गृहमा राखिएको छ ।-अनलाइनखबरबाट
Post a Comment