मनोरञ्जन विधामा फेरिँदैछ कृषि पेशा
काठमाडौं । तस्वीरमा देख्न सक्नुहुन्छ, एउटा युगल जोडी छेउमा धानको बीउका मूठा राखेर हिलोमा झ्वाम्मै चोपलिएको छ । तर, यो कुनै सक्कली रोपाईँ होइन, बरु रोपाहार र बाउसेको भेषमा गरिएको ‘मोडलिङ’ हो ।
गाउँका किसानले असार १५ लाई ‘मानो रोपेर मुरी फलाउने दिन’ का रुपमा लिन्छन् । उनीहरुका लागि आजको दिन ‘दिसा गर्न बसेका बेला पिसाब फेर्न फुर्सद नहुने’ दिन पनि हो । तर, अब यसलाई किसानको दुःख र धपेडीसँग मात्रै तुलना गर्न मिलेन । असारे हिलोमा ‘मोडेल’हरु समेत लत्पतिन थालेपछि नेपालको कृषि पेसामा अब मनोरञ्जन विधा समेत प्रवेश गरेको छ ।
विगतका दिनमा रोपार, बाउसे र हलीहरुको हुलसहित हिलाम्मे खेतमा धान रोप्न निस्किन्थे किसानहरु । यो कुनै रहर नभएर पेट पाल्नका लागि हिलोमा पस्नुपर्ने बाध्यात्कम कर्म थियो उनीहरुको । तर, बदलिँदो समयक्रमसँगै रोपाइँको मौलिकता अब कस्मेटिक बन्न थालेको छ । यस्तो लाग्छ, धान रोप्ने हिलो आजभोलि बहुउपयोगी भएको छ । हिलोमा मोडलिङ गरेर चलचित्रको प्रचार गर्ने माध्यम पनि बनेको छ असारे हिलो ।
असार १५ मा हिलोमा चोपलिने र तस्वीर खिचाउने काममा कलाकार मात्रै छैनन्, नेताहरु पनि छन् । बुधबार काभ्रेमा एमाले नेता वामदेव गौतमले गरेको रमाइलो होस् या ललितपुरमा भूमिसुधारमन्त्री रामकुमार राईले खेलेको हिलो होस्, यसबाट असार १५ को ‘मोडलिङ’मा कलाकारदेखि नेतासम्मको आकर्षण बढेको पुष्टि हुन्छ । र, यसलाई किसानहरुले निन्दा गर्नुभन्दा आफ्नो पेशाप्रतिको अन्य निकायको आकर्षणका रुपमा लिने हो भने असार १५ साँच्चै नै एउटा राष्ट्रिय महोत्सवजस्तो बन्न सक्छ ।
विगत केही वर्षयता हिलोमा चोपलिने कामलाई गैर कृषि क्षेत्रबाट पनि रमाइलोका रुपमा लिने चलन सुरु भएको छ । नायक नायिका र मोडेलहरु नयाँ पहिरनसहित चिटिक्क परेर खेतमा पस्छन् र एकअर्कामा रमाइलो गरेर फर्किन्छन् ।
असार १५ लाई यसरी नै रमाइलो गरी मनाउन मोडलद्वय निराजन प्रधान र सम्पदा बानियाँ काभ्रेको पनौतीमा यसरी प्रस्तुत भएः
हेर्नुस् थप तस्वीर
Add caption |
Post a Comment