Websoft University

www.radiomakalu.com || 021-522512


नेपाली भूमि मिचेर भारतीय जाँचचौकी

वीरगन्ज, जेष्ठ २१ गते  ।  भारतले वीरगन्जस्थित सीमा क्षेत्रमा नेपाली भूमि मिचेर एकीकृत भन्सार जाँचचौकी (आईसीपी) बनाएको छ । वीरगन्जको अलौं सिर्सियामा नेपाल र भारत दुवैतर्फको आईसीपीको भौतिक संरचना निर्माण कार्य भारत सरकारले नै गर्दै आएको छ । दसगजा क्षेत्रमा आईसीपीको निर्माण भइरहेको छ ।



आईसीपीको भारततर्फको भौतिक संरचना भने बनिसकेको छ । नेपालतर्फ आईसीपीको निर्माणकार्य जारी छ । दुवै देशको आईसीपीको पर्खाल दसगजा क्षेत्रमा रहेको सीमा स्तम्भभन्दा ठिक १० गज पर निर्माण गर्नुपर्ने सम्झौतामा उल्लेख छ । तर भारत सरकारले आफ्नोतर्फको आईसीपीको सिमेन्टेड पर्खाल सीमा स्तम्भभन्दा ठीक १० गजको दूरीमा बनाएको छ भने नेपालतर्फको पर्खाल दसगजामा रहेको सीमा स्तम्भभन्दा नेपाली भूमितर्फ करिब १७ गज भित्र पर्ने गरी बनाएको छ ।



भारत सरकारले नेपाली भूमि मिचेर आईसीपीको पर्खाल बनाएको भन्दै वीरगन्ज अलौं सिवानटोलका बासिन्दाले गुनासो गरेपछि यही जेठ ११ गते क्षेत्रीय प्रशासक मुकुन्दराजप्रकाश घिमिरे नेतृत्वको उच्च अधिकारी सम्मिलित टोलीले आईसीपीको स्थलगत निरीक्षण गरेको थियो । टोलीमा पर्साका प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरे, सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय वीरगन्जका प्रमुख विदुर खड्का, पर्साका प्रहरी उपरीक्षक राजुबाबु श्रेष्ठ र सशस्त्र प्रहरी उपरीक्षक भीमबहादुर थापा पनि सहभागी थिए ।

निर्माणाधीन आईसीपीको पर्खाल दसगजा क्षेत्रमा रहको सीमा स्तम्भभन्दा ठिक १०–१० गजको दुरीमा दुवै देशतर्फ बनाउनुपर्नेमा भारतले नेपाली भूमि बढी मिचेर पर्खाल बनाएको स्थानीय बासिन्दाको गुनासो आएपछि स्थलगत निरीक्षण गरिएको टोलीमा सहभागी सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय वीरगन्जका प्रमुख खड्काले बताए ।

आईसीपीको नेपालतर्फ बनाइएको पर्खाल दसगजा क्षेत्रमा रहेको सीमा स्तम्भबाट ठिक १० गजको दुरीमा नभएर नेपाली भूमितर्फ नै बढी पर्ने गरी बनाएको भेटिएको पर्साका प्रमुख जिल्ला अधिकारी घिमिरेले बताए । ‘नेपालतर्फ आईसीपीको पर्खाल दसगजा क्षेत्रभन्दा अलि वर नै बनाएको देखिन्छ,' उनले भने, ‘यसले हामीलाई पनि आशंका भएको छ, अब पर्खाल भत्काउनुभन्दा पनि नेपाली भूमिलाई कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा छलफल भइरहेको छ ।'

आईसीपीको पर्खाल निर्माणमा देखिएको त्रुटिका विषयमा नापी विभागका अधिकारीसँग समन्वय गरेर प्रतिवेदन बुझाउन क्षेत्रीय प्रशासक घिमिरेले सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय वीरगन्जका प्रमुख खड्कालाई निर्देशन दिएको प्रमुख जिल्ला अधिकारी घिमिरेले बताए । तर खड्काले भने दसगजा क्षेत्रमा मिचिएको नेपाली भूमिका बारेमा स्थलगत अध्ययन गरी जग्गा छुट्याउन नापी विभागका अधिकारीलाई निर्देशन दिन प्रमुख जिल्ला अधिकारी घिमिरेलाई नै क्षेत्रीय प्रशासकले अराएको बताए ।

आईसीपीको पर्खाल लगाइएको दुवै देशबीचको दसगजा क्षेत्रमा रहेका सीमा स्तम्भ उखेलेर फालिएका छन् । पर्खाल लगाउनुभन्दा पहिले त्यस क्षेत्रमा तीनवटा सीमा स्तम्भ रहे पनि अहिले त्यहाँ एउटा पनि सीमा स्तम्भ छैनन् । पर्खालको बीचमा रहेको दसगजा क्षेत्रमा भारतले चारवटा पक्की कल्भर्ट पनि बनाएको छ । ती कल्भर्ट पनि दसगजा क्षेत्रदेखि नेपाली भूमितर्फ नै पर्ने गरी बनाइएका छन् ।

‘भारतको हेपाहा प्रवृत्ति यहाँ पनि देखियो,' अलौं सिवानटोलका रामपुजनले भने, ‘भोलिका दिनमा भारतले नेपाली भूमि कब्जामा लिने नियत राखेर नै हाम्रो भूमि मिचेर पर्खाल र कल्भर्ट बनाएको हो । दुई वर्षभित्र सञ्चालनको लक्ष्य राखेर भारत सरकारले सन् २०११ मा निर्माण सुरु गरेको आईसीपी पाँच वर्ष बितिसक्दा पनि सञ्चालनमा आएको छैन ।'

आईसीपीमा भारततर्फको निर्माण कार्य पूरा भएको छ भने नेपालतर्फको ६७ प्रतिशतमात्र काम सम्पन्न भएको सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय वीरगन्जले जनाएको छ । भारत सरकारको सहयोगमा सम्झौताअनुसार सन् २०१३ को अक्टोबरसम्म परियोजना निर्माण सम्पन्न भइसक्नुपर्नेमा त्यस अवधिमा करिब ४० प्रतिशतमात्र काम सम्पन्न भएको थियो । त्यसपछि मधेस आन्दोलन र नाकाबन्दीका कारण आवश्यक निर्माण सामग्री भारततर्फ नै रोकिएपछि निर्माण कार्यमा ढिलाइ भएको भारतीय ठेकेदार कम्पनी केएस सफ्टनेट प्रालि मुम्बईका महाप्रबन्धक एससी दासले बताए ।

भारत सरकारले पहिलोपटक थप गरेको म्यादअनुसार सन् २०१५ को मार्च ३१ सम्म काम सम्पन्न भइसक्नुपर्ने थियो । यही गतिमा काम हुने हो भने सन् २०१६ को सेप्टेम्बर महिनासम्ममा मात्र काम सम्पन्न हुने महाप्रबन्धक दासले बताए ।

नेपालतर्फबाट उपलब्ध गराउने आवश्यक ढुंगा–गिटी–बालुवाजस्ता निर्माण सामग्री अभावका कारण पनि समयमा काम नसकिने भएपछि आईसीपीको निर्माण अवधिकोे दोस्रोपटक म्याद थपिएकोे छ । निर्माण कार्यमा कुनै बाधाअवरोध नभए बाँकी काम असोजसम्म सम्पन्न हुने ठेकेदार कम्पनीको दाबी छ ।
भारत सरकारले एक अर्ब ३९ करोड रुपैयाँ लागतमा उपहारस्वरूप आईसीपी बनाइदिन लागेको हो । आईसीपीका लागि पर्साको सिर्सिया र अलौमा गरी तीन सय १५ जना जग्गाधनीको एक सय १५ बिघा क्षेत्रफल जग्गा नेपाल सरकारले अधिग्रहण गरेको छ ।

निर्माणाधीन एकीकृत भन्सार जाँचचौकी सञ्चालनमा आएपछि आयात निर्यातकर्ताले कम समयमै सहज रूपमा वस्तु आयात निर्यात गर्नसक्ने तथा ट्राफिक जाम नहुने, भन्सारमा हुने गरेको चोरीपैठारीमा कमी आउने र राजस्व चुहावट रोकिने अपेक्षा गरिएको छ ।

नेपालतर्फको आईसीपीको निर्माणकार्य अधुरै रहेका बेला भारतले बनाइसकेको आईसीपी एकतर्फी रूपमा सञ्चालन गर्ने तयारी गरेको छ । भारततर्फको आईसीपीको उद्घाटन शुक्रबार गर्ने कार्यक्रम छ । भारतले वीरगन्ज–रक्सौल नाकामा रहेको भारतीय भन्सार कार्यालय १३ किलोमिटर टाढा रहेको आईसीपीमा सार्न लागेको हो ।

अहिलेको भारतीय भन्सार कार्यालय आईसीपीमा सरेपछि नेपालका लागि आयातित मालसामानको भन्सार जाँचपास गराउन २६ किलोमिटर पर ओहोरदोहोर गर्नुपर्ने झन्झट हुने नेपाली उद्योगी र आयातकर्ताले बताएका छन् । भारततर्फको मात्र आईसीपी सञ्चालनमा आउने भएपछि नेपाली उद्योगी र आयतककर्ता समस्यामा पर्ने वीरगन्ज उद्योग वाणिज्य संघले जनाएको छ ।

भारतले एकतर्फी रूपमा गर्न लागेको आईसीपी सञ्चालन प्रक्रिया रोक्न माग गर्दै संघले बुधबार वाणिज्य मन्त्रालयमा पत्र पठाएको छ । नेपाल–भारत दुवैतर्फको आईसीपीको संरचना निर्माण कार्य पूरा नभएसम्म भारततर्फको आईसीपी सञ्चालन रोक्न पहल थालिएको संघका अध्यक्ष प्रदीप केडियाले बताए । उनले भने, ‘यसका लागि वाणिज्य मन्त्रालयमा पत्र पठाएका छौं । बाटो पनि त्यति राम्रो छैन, अहिलेको रक्सौल भन्सार भन्दा आईसीपी १३ किलोमिटर टाढा छ ।'

भारतले एकतर्फी रूपमा आईसीपी सञ्चालन गर्दा आयातकर्ताहरु अन्य नाकातर्फ विस्थापित हुने खतरा रहने वीरगन्ज भन्सार कार्यालयका प्रमुख सेवन्तक पोखरेलले बताए ।


annapurnapost.

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget