Websoft University

www.radiomakalu.com || 021-522512


मोतिबिन्दु बारे जान्नैपर्ने केही कुरा


-रबिन्द्र अधिकारी, दृष्टि विशेषज्ञ
आँखाभित्र रहेको पारदर्शी मणी जस्तै लेन्स क्रमशः अर्ध–पारदर्शक र अपारदर्शक हुँदै गई दृष्टिमा ह्रास ल्याउने रोगलाई मोतिबिन्दु भनिन्छ । तसर्थ मोतिबिन्दु आँखाको लेन्सको रोग हो । मोतिबिन्दु कुनै एक वा दुवै आँखामा हुन सक्दछ र यो सरुवा रोग होइन । अधिकांश मोतिबिन्दु उमेर बढ्दै जाँदा देखा पर्छन् । मोतिबिन्दु भनिरहँदा लेन्स के हो पूर्व जानकारी हुनु आवश्यक छ । लेन्स मुख्यतया पानी र प्रोटिनको सिसाजस्तै प्रकाश छिर्ने आँखाको अंग हो जसले हामीले हेर्ने वस्तुहरुलाई आकृति बनाएर प्रष्ट रुपमा दृष्टिपर्दा (रेटिना) मा फोकस गर्दछ । रेटिनाबाट प्रकाशका आकृतिहरु स्नायु संकेतहरु बनेर मस्तिष्कमा जान्छ । यदि लेन्समा बादल वा धब्बा छ भने निश्चय नै रेटिनामा प्रष्ट प्रतिविम्ब बन्न सक्दैन । अतः मानिसको दृष्टि क्षमतामा ह्रास आउँछ । मोतिबिन्दु उमेरसँगै मात्र नभई अन्य आँखाका रोगहरु, विकिरण, चोटपटक तथा लामो समयसम्म (स्टेर्वायड) औषधीको प्रयोगबाट पनि उत्पन्न हुन्छन् । कुनै जन्मजात वा कुनै मधुमेह रोगसँग पनि सम्बन्धित हुन्छन् ।

मोतिबिन्दुका लक्षणहरु

· दृष्टि धमिलो भएर जाने ।

· उज्यालोमा हेर्दा गाह्र्रो हुने वा तिरमिराउने ।

· अँध्यारोमा झन कम देख्ने त्यसैले सवारी चलाउन बाधा आउने ।

· चश्माको पावरमा परिवर्तन आइरहने ।

· रंगहरु फरक देखिन थाल्ने आदि ।

उपचार

कुनै कुनै मोतिबिन्दुहरुको देहाएको समयमा शल्यक्रिया गर्नुपर्ने हुन्छ जस्तैः दृष्टिगत रुपमा खतराजन्य जन्मजात मोतिबिन्दुलाई बच्चा तीनमहिना पुगेपछि अप्रेशन गरिन्छ । किनकी त्योभन्दा अघि बच्चालाई बेहोस पार्दा जोखिम बढि रहन्छ । साथै आँखाको चाप असन्तुलित रहने खतरा रहन्छ । चोटपटक बाट मोतिबिन्दु भएको छ भने अन्य समस्या आउनुअघि यथाशीघ्र अप्रेशन गरिन्छ । पूर्ण रुपले पाकेको मोतिबिन्दुको पनि यथासक्दो चाँडो अप्रेशन गर्नुपर्छ । अन्य अवस्थामा, दृष्टिमा उल्लेखिय ह्रास आई दैनिक क्रियाकलापमा बाधा नपर्दा सम्म चश्माको प्रयोग गर्ने र समय–समयमा आँखा जाँच गराइरहने गर्नुृपर्दछ । मोतिबिन्दुको मुख्य उपचार चाहिँ शल्यक्रिया नै हो ।

समय सापेक्ष मोतिबिन्दुका शल्यक्रिया पद्धतिहरुमा क्रमिक सुधार हुदै आएका छन् । मुलतः आँखाको सेतो भागमा काटेर प्वाल बनाई मोतिबिन्दु युक्त लेन्सलाई निकालिन्छ । हाल फेको प्रविधिले गर्दा घाउ अत्यन्त सानो हुने भएकोले छिटो निको हुन्छ र शल्यक्रिया पश्चात् आँखाको बाहिरी नानी (कर्निया) को वर्णपटमा खासै परिवर्तन नआउने हुँदा टाढाको पावरवाला चश्मा लगाउनुपर्ने सम्भावना पनि न्यून हुन्छ ।

फेको प्रविधि

विशेष उपकरणले ३० देखि ६० किलो हर्जका अल्ट्रासोनिक तरंगको मदत बाट मोतिबिन्दुयुक्त लेन्सलाई टुक्रा पारी तीन मी. मी (मिलिमिटर) वा सोभन्दा सानो भन्दा सानो घाउ बाट निकालिन्छ ।

· हस्पिटलमा भर्ना गर्न जरुरी छैन– आउने, अप्रेशन गर्ने र जाने ।

· कर्नियामा घाउ बनाउने भएकोले अपरेशनमा रगत आउँदैन ।

· सामान्य क्रियाकलापमा चाडैँ फर्किन सकिन्छ ।

· टाकाको प्रयोग हुदैन, त्यसैले बिजाउने समस्या कम हुन्छ ।

· केही दिनमै पूर्ण दृष्टि प्राप्त गर्न सकिन्छ ।

· दुई हप्तामै चश्मा जाँचेर लगाउन सकिन्छ ।

· अझ आँखामा पट्टीको पनि जरुरत नरहने ।

· लठ्याउने सुईबिना नै गर्न सकिन्छ ।

· अरु अप्रेशन पद्घतिहरु भन्दा यो पद्घतिको अप्रेशन अवधि छोटो हुन्छ (शल्यक्रिया चाँडै सकिन्छ) ।

· सुरुवातका अवस्थाका मोतिबिन्दुहरु अरुभन्दा फेकोबाट प्रभावकारी रुपमा निकाल्न सकिन्छ ।

संबेदनशीलता कम गर्ने थोपा भने प्रयोग गर्नुपछ । सुईबाट हुने त्रास र अप्रेशन पछिको दुखाई पनि कम हुने भएकोले यसको विश्वसनीयता र प्रभावकारिता बढ्दै गएको छ ।

अप्रेशन सम्बन्धी भ्रमहरु

· गर्मीमा घाउ पाक्ने सम्भावना बढी हुने भन्दै कोही मानिसहरु जाडो मौसम कुरेर बस्छन् । समय भएको छ भने स्वास्थ्यकर्मीको परामर्श बमोजिम अप्रेशन गर्नुपर्छ । जाडो वा गर्मी कुनै मौसमले केही फरक पार्दैन जबसम्म चिकित्सकका सल्लाहहरु राम्रोसँग पालना गरिन्छ ।

· कसैले भन्छन्, आँखाको डल्लो बाहिरै निकालेर अप्रेशन गर्ने हो यो सब गलत हो ।

· मोतिबिन्दुको शल्यक्रिया पश्चात् आँखामा अन्य रोगहरु छैन भने केही अवस्थामा चश्मा सहित राम्रो देख्न सकिन्छ । मोतिबिन्दुबाट आँखा नदेख्नु पूर्व जूनीको पाप होइन, यो रोग हो जसको उपचार सम्भव छ ।

· फरक आँखाका शल्यक्रिया फरक प्रविधिबाट गर्न सकिन्छ । जस्तो एउटा सानो घाउ बनाइ गरीने SICS प्रविधिबाट गरेको छ भने अर्को फेको बाट गर्न नसकिने होइन ।

– लेखक रेयूकाई आँखा अस्पताल, बनेपामा कार्यरत छन्

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget