Websoft University

www.radiomakalu.com || 021-522512


हात्तीमा आत्मनिर्भर बन्दै नेपाल

नारायण अधिकारी
 चितवन , असार ७ गते  । प्रजनन् केन्द्र स्थापनासँगै नेपाल हात्तीमा आत्मनिर्भर बन्दै गएको छ । निजी क्षेत्रले बाह्य मुलुकबाट हात्ती आयात गर्ने गरेको भए पनि सरकारीस्तरबाट भने १५ वर्षयता हात्ती भित्र्याउनु परेको छैन ।
विसं २०४४ मा चितवनको सौराहास्थित खोरसोरमा हात्ती प्रजनन् केन्द्र स्थापना भएसँगै व्यवस्थित प्रजनन् हुँदै जाँदा हात्तीको सङ्ख्या बढ्दै गएको हो । आवश्यक पर्ने हात्ती यहीको प्रजनन् केन्द्रमा जन्मिएर तालिम दिई काममा लगाइदै आएको छ ।
चितवन राष्ट्रिय निकुञ्जको कार्यालय कसराले दिएको जानकारी अनुसार प्रजनन केन्द्र स्थापना गर्दा ६ वटा भाले र १४ वटा पोथी हात्ती विभिन्न मुलुकबाट भित्र्याइएको थियो । त्यतिबेला १६ वटा हात्ती भारतबाट भित्र्यइएको थियो भने दुईवटा थाइल्याण्ड, दुईवटा म्यानमारबाट उपहार स्वरुप प्राप्त भएको निकुञ्जका सहायक संरक्षण अधिकृत नुरेन्द्र अर्यालले बताए।
भारतलाई चारवटा एक सिङ्गे गैंडा दिएर १६ वटा हात्ती भित्र्याइएको हो । त्यसअघि पनि नेपालमा विभिन्न मुलुकबाट हात्ती ल्याइएको थियो । निकुञ्जमा प्रजनन केन्द्र खुल्नुअघि गस्तीका लागि २०२८ र २०३४ सालमा रौतहटबाट तथा २०४२ सालमा सर्लाहीबाट त्यहीका जमिन्दारबाट खरिद गरी हात्ती ल्याइएको निकुञ्जको अभिलेखमा उल्लेख छ ।
हात्ती प्रजनन केन्द्रलाई पछिल्लो समय प्रजनन र तालिम केन्द्रको रुपमा विकास गरिएको छ । निकुञ्जका चिकित्सक डा. कमल गैह्रेका अनुसार नेपाल सरकारी तवरमा पछिल्लो समय हात्तीमा आत्मनिर्भर बन्दै गएको छ । यहाँ जन्मिएका २५ वटा हात्ती चितवन राष्ट्रिय निकुञ्जमा छन् । निकुञ्जमा हाल रहेका ५० हात्तीमध्ये २५ वटा यही जन्मिएर तालिम पाएका हुन् । निकुञ्जका पोस्टहरुमा रहेका हात्ती पनि गर्भिणी भएपछि विशेष स्याहारसुसार गरेर केन्द्रमा राख्ने गरेको गैह्रेले बताए ।
प्रजनन केन्द्रमा अहिले २० वटा हात्ती छन् भने ठूला माउ हात्तीको सङ्ख्या आठ छ । यस्तै तालिम पाएका भाले तीन र पोथी एक रहेका छन् । तालिम दिन बाँकी रहेका साना हात्तीमध्ये ६ भाले र दुई पोथी छन् ।
अहिलेसम्म प्रजनन केन्द्रका पोथी हात्ती जङ्गली हात्तीको सम्पर्कबाट बच्चा जन्माउँदै आएका छन् । हात्ती प्रजनन तथा तालिम केन्द्रका प्रमुख बुधन चौधरीका अनुसार विगत नौ वर्षयता जङ्गलबाट केन्द्रमा आउने स्यानो टुइटे र रोनाल्डो नामक जङ्गली भाले हात्तीको सम्पर्कबाट बच्चा जन्मिदै आएका छन् । भदौमा धान खान बाहिर आउने र त्यही बेला केन्द्रमा पोथी हात्तीसँग हुने सम्पर्कबाट बच्चा जन्मिने गरेको चौधरीको भनाइ छ ।
कम्तीमा १० वर्ष पुगेपछि पोथी हात्ती प्रजननका लागि योग्य हुन्छ । हात्तीले दुई वर्षको फरकमा बच्चा जन्माउने गर्दछ । गर्भवती भएको २२ महिनामा बच्चा जन्माउँछ । समयमै गर्भ लिन र स्वस्थ्य बच्चा जन्माउनको लागि हात्तीलाई दिइँदै आएको आहाराको गुणस्तरमा वृद्धि गर्ने प्रस्तावसमेत गरिएको छ ।
डा. गैह्रेका अनुसार अहिले दिइँदै आएको दैनिक १५ किलो धान, एक किलो ५०० ग्राम सख्खर, २५ ग्राम नुनका अतिरिक्त फलफूल दिनुपर्ने भनि प्रस्ताव गरिएको छ । एउटा हात्तीलाई तीन जनाले सेवा गर्दछन् । माउते, पछुवा र थनेत तीन जनाको दरबन्दी एउटा हात्तीका लागि हुन्छ । बस्ने, खाने र अन्य व्यवस्थापनमा सुधार गर्न सके प्रजनन अरु बढाउन सकिने बताइएको छ ।
निजी क्षेत्रले एउटा हात्ती किन्न रु ८० लाखदेखि रु एक करोडसम्म खर्चिदै आएका छन् । निकुञ्ज गस्तीका लागि हात्ती अपरिहार्य छ । वर्षात्को समयमा निकुञ्जको गस्तीको एकमात्र साधन हात्ती हो । वर्षातसँगै बाटो बिग्रने हुँदा हात्तीको सहयोग लिनुपर्ने हुन्छ । पर्यटक घुमाउन, सरसामान बोक्न, खोलानाला तर्न, मातेका हात्ती र अन्य जनावर नियन्त्रणमा लिन पनि हात्ती प्रयोग गरिन्छ । जङ्गली हात्ती, बाघ, गैडा जस्ता जनावर बस्ती पसेर सताउँदा पनि हात्तीकै साथ लिने गरिन्छ ।
निकुञ्जले हात्ती गस्ती बढाएसँगै निकुञ्जभित्र पर्यटक डुलाउने काम भने बन्द गरिएको छ । पर्यटन व्यवसायीले निजी हात्तीकै सहयोगमा पर्यटक निकुञ्ज आसपासका सामुदायिक वनमा घुमाउँदै आएका छन् । हात्तीमा आत्मनिर्भर बनाउँदै लैजाने लक्ष्य सरकारको छ । बाँके राष्ट्रिय निकुञ्जमा पनि खोरसोर निर्माण गर्ने तयारीमा रहेको डा. गैह्रेले बताए । देशको तराईका पाँचवटा निकुञ्ज तथा आरक्षमा हात्ती छन् ।
चितवनसहित कोसीटप्पु, पर्सा, बर्दिया र शुक्लाफाँटामा अहिले हात्ती छन् । ती सबै निकुञ्ज र निजी क्षेत्रका गरेर २२० वटा हात्ती रहेको डा. गैंह्रेले बताए। ती हात्ती नेपालमै प्रजनन भएका र बाहिरबाट भित्र्याइएका हुन् । हात्ती प्रजनन तथा तालिम केन्द्रमा त्यहाँ जन्मिएका हात्ती पोथी तीन वर्ष पुगेपछि र भाले दुई वर्ष ६ महिनापछि तालिम सुरु गरिन्छ । प्रमुख चौधरीका अनुसार आमाबाट दूध छुटाएर तालिम दिन थालिन्छ । तालिम प्राप्त भइसकेपछि मात्र हात्तीलाई काममा लगाइन्छ ।- रासस

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget