Websoft University

www.radiomakalu.com || 021-522512


जिब्रोले कहिल्यै झूठो बोल्दैन


डा. लालितकुमार मिश्र



तपार्इं आफ्नो या आफन्तको रोगको उपचारका लागि चिकित्सककहाँ पुग्दा उनले तपाईंको कुरा सुन्दै नोट गर्ने गर्छन् । त्यसपछि शारीरिक परीक्षण गर्छन् । त्यस क्रममा मुख आँ गर्न लगाएर जिब्रो बाहिर निकाल्नुस् भन्छन् । 

मुखभित्र टर्च लगाएर जिब्रोलाई मजासँग नियाल्छन् । टाउको दुखेको होस् वा पेट, शरीरको कुनै अन्य भागमा नै पीडा भएको किन नहोस्, चिकित्सकले जिब्रो भने अवश्य नै हेरेको तपाईंहामीले देखेभोगेका छौं ।

चिकित्सकले जाँचका क्रममा जिब्रो किन हेरेका होलान् ? जिज्ञासा हुनु स्वाभाविकै हो । हाम्रा पाँच ज्ञानेन्द्रियमध्ये जिब्रो एक हो । जिब्रोको काम शब्द उच्चारणमा सहयोग गर्ने, बोल्ने र खानेकुराको स्वाद छुट्याउने हो । 

यतिमै मात्र जिब्रोको काम सीमित हुँदैन । जिब्रोले विभिन्न प्रकारका स्वास्थ्य समस्याका बारेमा जानकारीसमेत दिन्छ। जिब्रोको अवस्था हेरेर व्यक्तिको स्वास्थ्य समस्याका बारेमा सजिलैसित थाहा पाउन सकिन्छ । भनिन्छ, ‘जिब्रो पेटको दर्पण हो ।'

यसले पाचनसम्बन्धी विकारलाई दर्शाउनुका साथै पाचनतन्त्रको गडबडीले शरीरको अन्य भागमा हुने खराबीलाई पनि देखाउँछ ।

अपचले गर्दा पित्त बढ्न गई टाउको दुख्छ । दृष्टिमा पनि गडबडी हुन्छ । पेटको वायुविकारले मुटुको धड्कन बढाउनुका साथै छातीमा दुखाइ हुन्छ । 

पेटको खराबी नभए पनि जिब्रोले हामीलाई शरीरको अन्य सिस्टमका बारेमा महत्वपूर्ण जानकारी दिन्छ । जस्तै— अर्धपक्षाघातमा जिब्रोको आधी भाग सुकेको देखिन्छ । पहेँलो र चिल्लो जिब्रोले व्यक्तिमा रगतसम्बन्धी विकारबारे सूचित गर्छ । नीलो जिब्रोले (इमप्युअर अक्सिजन) मुटुसम्बन्धी रोगलाई बताउँछ ।

मानिसको मन, शरीर, भावनासमेत पाचनतन्त्रबाट प्रभावित हुन्छ । हाइपरएसिडिटी प्रायः व्यक्तिको तनाव (स्ट्रेस)सँग गाँसिएको हुन्छ । जिब्रोले पाचनतन्त्रको गडबडीलाई मात्र दर्शाउँदैन, समष्टिगत रूपमा व्याक्तिविशेषलाई नै जनाउँछ। 

यसै कारण होला, प्राचीनकालमा वैद्य (आयुर्वेदिक फिजिसियन), हकिम (युनानी फिजिसियन)हरूले रोगीको जिब्रो, नाडी, हात र खुट्टाका नङ तथा केश आदिको परीक्षणबाट नै गम्भीर रोगहरू सजिलैसित पत्ता लगाउँथे । 

त्यस बेला अहिलेजस्तो बिरामीलाई जाँच्ने अत्याधुनिक मेसिन तथा औजार थिएनन् । तर पनि उनीहरू टीबी, मस्तिष्क रोग, छारेरोग, पेटसम्बन्धी रोग आदिको सफल उपचार गरिदिन्थे ।

आधुनिक चिकित्सा (एलोप्याथिक) स्कुलमा रोग निदानको उद्देश्यबाहेक बिरामीको जिब्रोलाई त्यति महत्व दिइँदैन । जति अन्य चिकित्सा पद्धति आयुर्वेदिक, होमियोप्याथिक, युनानीमा दिइन्छ । 

होमियोप्याथिक दृष्टिकोण यसबाट अलिक भिन्न हुन्छ । एक होमियोप्याथिक चिकित्सकलाई रोगीको जिब्रोले महत्वपूर्ण जानकारी दिन्छ । जसको सहायताले बिरामीको उपचारार्थ औषधिको निर्देशपत्र (पे्रस्क्रिप्सन) लेख्न सकिन्छ । जिब्रोको अवस्थाले शरीरमा विभिन्न प्रकारका रोगको उपस्थितिलाई जनाउँछ ।

उदाहरणका लागि कसैको जिब्रो मोटो, पहेँलो तथा किनारमा दाँतका निशान देखिन्छ भने व्यक्तिको शरीरमा भयंकर रगतको कमी हुनसक्छ । जिब्रोमा देखिने कालो दागले बिरामीमा उच्च रक्तचापको संकेत गर्छ । 

पेटको माथिल्लो भागमा बराबर पीडा हुन्छ भने उक्त व्यक्तिको जिब्रो चम्किलो हुनसक्छ । जिब्रोमा चिनीका मसिना कणजस्ता चम्किलो थोप्लाको निशान छ भने त्यस व्यक्तिको पेटमा जुका (वार्मस) रहेको संकेत बुझ्नुपर्छ ।

ज्वरो, खोकी, जन्डिस, रक्तअल्पता, टाउको दुख्नु, पेट दुख्नुजस्ता समस्यामा व्यक्तिको जिब्रो हेरेर रोग पत्ता लगाउन सकिन्छ ।

जिब्रोको अवस्थाले चिकित्सकलाई रोगको निदान गर्न सहयोग पुर्‍याउँछ । जिब्रोमा हुने परिवर्तनले अनेक रोगको संकेत दिन्छ । 

रोगको निदानका क्रममा बिरामीले चिकित्सकसँग झूठो बोलेर रोग लुकाउन खोजे पनि उसको जिब्रोले झूठो बोल्दैन। तर, बिरामीले एलोप्याथिक औषधि सेवन गरिरहेको छ या कुनै प्रकारको जडीबुटी प्रयोग गरिरहेको छ भन्ने त्यस्तो अवस्थामा जिब्रोको रङ बदलिन सक्छ । औषधि सेवनले रङ परिवर्तन भएको जिब्रोलाई रोग निदानको आधारका रूपमा लिन हुँदैन ।

स्वस्थ व्यक्तिको जिब्रोको रङ गुलाबी हुनुका साथै सफा, पातलो तथा ससाना टुसा (प्यापिली) हरूले भरिएको हुन्छ । आयुर्वेदिक चिकित्सानुसार मानिसका विभिन्न अंगप्रत्यंगलाई दर्शाउने गरी जिब्रोलाई विभाजित गरिएको छ । 

जिब्रोको सतहले मेरुदण्ड, दाहिने र देब्रे छेउको भागले किड्नी, सतहदेखि अलिक अगाडिको भागले आन्द्रा, त्यसको अगाडिको भागले अग्नाशय र त्यसभन्दा अगाडिको भागले पेटको अवस्थालाई जनाउँछ । बीचको छेउको भागले दाहिने फियो र देब्रे लिभरलाई संकेत गर्छ ।

अगाडिका दुवै छेउले दाहिने र देब्रे खुट्टालाई जनाउँछ । जिब्रोको बीचको भाग मुटुको प्रतिविम्ब हो । आफ्नो जिब्रोलाई ऐनामा हेरेर विचार गर्न सकिन्छ । होमियोप्याथिक चिकित्सामा बिरामीको मानसिक एवं शारीरिक लक्षणहरूका साथै जिब्रोको आकार, प्रकार, वस्था (जन्मजात यस्तो हो कि ? वा बिरामी भएर) रङ गुलाबी, सेतो, पहेँलो, हरियो, नीलो, कालो, निशान, सुक्खा, रसिलो, र्‍याल चुहिइरहने, सुन्निएको, खुम्चिएको, चाउरी परेको, काम्नु, स्क्रेच, मुसा, रेनुला (जिब्रोमुनि गाँठा) क्यान्सर, पक्षाघात आदि हेरेर पनि बिरामीका लागि उपयुक्त औषधि दिने गरिन्छ । 
जिब्रोको अवलोकनबाट चिकित्सकले छिटोछरितो स्वास्थ्य सेवा दिन सक्छन् । बिरामीले पनि सहजै सेवा प्राप्त गर्न सक्छन् । ससाना बालबालिका लाटो, बहिरो, बिरामी व्यक्तिको पनि जिब्रो हेरेर औषधि लेख्न मद्दत मिल्छ । बिरामीको चाप भएको अवस्थामा स्वास्थ्य परीक्षण गर्दा जिब्रो हरेरै औषधि लेखिदिन सजिलो हुनसक्छ । यसले कम समयमा बढीभन्दा बढी बिरामीलाई परीक्षण गर्न मद्दत मिल्छ ।


जिब्रोका केही अवस्थाले व्यक्तिको शरीरमा रहेको वा हुनसक्ने रोगको बारेमा पनि भविष्यवाणी गर्न सकिन्छ भन्ने विज्ञहरूको भनाइ छ । डढेको जस्तो, रातो, कालो वा सेतो रङको जिब्रो हुनु, मुखमा कीटाणु संक्रमण भएको लक्षणका रूपमा लिइन्छ । एलर्जीका कारण जिब्रो सुनिने हुन्छ । 

लामो समयसम्म एन्टिबायोटिक औषधि प्रयोग गरेको मानिस तथा एचआईभी (एड्स) बाट संक्रमित भएका मानिसको मुखमा ढुसी (फंगस)को संक्रमण भएको हुन्छ । यस्ता व्यक्तिको जिब्रो कालो तथा रंगहीन हुन्छ । जिब्रोको सतहमा लामो गहिरो धर्साहरू (चिरा) हुनु भिरंगी (सिफिलिस) जस्ता यौनरोग (एसटीडी) को कारणको संकेत हुनसक्छ । जिब्रोमा बराबर घाउ हुनु पेटको जटिल रोग (क्रोनिकडिजिज) को लक्षण हो ।

स्वाद थाहा पाउने कोशिकाहरू कम भएको चिल्लो जिब्रोले व्यक्तिको शरीरमा भिटामिन बी (१२ र आइरन) को कमी भएको रक्तअल्पता (एनिमिया) को संकेत गर्छ । समग्रमा बिरामीको जिब्रोले रोगको निदानमा महत्वपूर्ण भूमिका निर्वाह गरेको हुन्छ । बिरामीले चिकित्सकसँग झूठो बोले पनि उसको जिब्रोले कहिल्यै झूठो बोल्दैन ।

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget