Websoft University

www.radiomakalu.com || 021-522512


कविलासको कथाः डोको छाडेर एम्बुलेन्स

कविलासको कथाः डोको छाडेर एम्बुलेन्स

नुवाकोट, असार १० गते । ‘उ त्यो घर रामशरणको हो,’ रमेश मिश्रले गुडिरहेको मोटरसाइलबाट एउटा हात छोडेर भीरमाथि देखाए, ‘डा. रामशरण महतको घर ।’

चिप्लो माटो, अप्ठेरो र उकालो बाटो । एउटा हात छोड्दा मोटरसाइकल झन्डै तल ढुन्मुनिएन । पटक-पटक अर्थमन्त्री भइसकेका दिग्गज नेताले आफ्नै गाउँमा कति विकास पुर्‍याएका रहेछन् भन्ने बाटोको यस्तो दुर्गतिबाटै थाहा पाइयो । यो बाटोका लागि वर्षैपिच्छे बजेट विनियोजन हुँदोरहेछ, तर, बीचमा चुहिँदै-चुहिँदै यहाँसम्म आइपुग्दा झोली रित्तै !

डा. महतको घर जाने बाटोलाई क्रस गर्दै हामी डाँडा उक्लियौं । अलि परबाट एउटा एम्बुलेन्स बयलगाडाको स्पिडमा हल्लिँदै आयो । भित्र विष खाएका किशोर छट्पटाइरहेका रहेछन् ।

‘नआत्तिइकन हाँक्नु, भ्याइन्छ,’ एम्बुलेन्स रोकिएपछि मिश्रले चालकलाई भने ।

हामी मोटरसाइकललाई घिसार्दै अगाडि बढ्यौं र पुग्यौं गन्तव्यमा ।

यो हो नुवाकोटको कविलास गाविसस्थित मिश्रगाउँ । भूकम्पले क्षतिग्रस्त तुल्याएर अझै रोइरहेका जस्ता देखिने घरहरुबीच एउटा दुई तल्ले पक्की घर मुस्कुराइरहेको छ, जहाँ एउटा स्वास्थ्य क्लिनीक सञ्चालित छ ।

भवनमा टाँगिएको ‘आधारभूत स्वास्थ्य सेवा विकास कार्यक्रम’ को बोर्डमुनी उभिएर मिश्रले भने, ‘यो स्वास्थ्य क्लिनिकलाई एउटा सामुदायिक अस्पतालका रुपमा विकास गर्ने हाम्रो लक्ष्य छ ।’

०००

राजेन्द्र मिश्र र रमेश मिश्र नुवाकोटको कविलास २ गाविसमा पुरानी डाँडा जन्मे-हुर्केका हुन् । २५-३० वर्षदेखि उनीहरुको काठमाडौंमा घरजम छ । तर, दुवैको गाउँमोह भने अचम्मको छ । हरेक हप्ताको शुक्रबार यी दाजुुभाइ विकट बाटो छिचोल्दै गाउँमा झुल्किन्छन् ।

‘गाउँमा आउँदा सारा दुख भुल्छौं,’ रमेश भन्छन्, ‘आफ्नो आमाको काखमा लडिबुडी गर्न आएजस्तो लाग्छ ।’

अहिले यी दाजुभाइ आफ्नो जन्मगाउँको मुहार फेर्ने अभियानमा छन् । उनीहरुको अगूवाइ र स्थानीय युवाहरुको जागरुकताले गाउँमा बिस्तारै परिवर्तन ल्याउँदै छ । विशेषतः स्वाथ्यको क्षेत्रमा ठूलै कायापलट भएको छ । तीन वर्ष अघिसम्म गाउँमा कोही गम्भीर बिरामी पर्‍यो भने डोकामा हालेर घन्टौंको बाटो कुदाउनुपर्थ्यो । महिलाहरुले ज्यान जोखिममा राखेर गाउँमा सुत्केरी गराउँथे । झाडापखाला लागेका बिरामी अस्पताल पुर्‍याउन भ्याइँदैनथ्यो । आधारभूत स्वास्थ्य सेवा विकास कार्यक्रमले यो सबैको समाधान दिएको छ ।



अहिले गाउँमा स्वास्थ्य संस्था र एम्बुलेन्स छ । स्वास्थ्य संस्थामा आधारभूत पूर्वाधारहरु सबै छन् । सामान्य विरामीहरुको उपचार यहीँ हुन्छ भने गम्भीर बिरामीहरुलाई एम्बुलेन्सले काठमाडौंका अस्पतालमा पुर्‍याउँछ । एक अहेबसहित चार कर्मचारी यहाँ कार्यरत छन् । वरिपरिका चार गाविसका बिरामीहरु उपचारका लागि यहाँसम्म आउँछन् ।

यसरी पुग्यो गाउँमा स्वास्थ्य सेवा

गाउँमा खासगरी तीन समस्या थिए । स्वास्थ्य, शिक्षा र आयआर्जन । सबैभन्दा विकराल समस्या स्वास्थ्यको थियो ।

यो अवस्थालाई चिर्न के गर्न सकिन्छ भनेर मिश्र दाजुभाइले गाउँका शिक्षक राजकुमार शाहीसँग सल्लाह गरे । गाउँवासीहरुलाई संलग्न गराएर अभियान सुरु गर्ने निस्कर्षमा उनीहरु पुगे । गाउँको स्वास्थ्यका लागि खुल्ला दिशा-पिसाब सबैभन्दा पहिलो समस्या थियो । त्यसपछि हरेक घरमा शौचालय निर्माणको अभियान थालियो ।

विभिन्न माध्यमबाट स्रोत जुटाएर काम काम सुरु भयो । शौचालय निर्माणका लागि गाउँलेहरुलाई प्यान, सिमेन्ट, जस्ता र पाइप वितरण गरियो । सो अभियानका लागि प्रकाशशरण महत र जगदीशनरसिंह केसीले ५०-५० हजार र रामशरणले ३० हजार दिएका थिए । एक वर्षभित्रै गाउँ खुल्ला दिशामुक्त घोषणा भयो । यो करिब ०६९ सालको कुरा हो ।

त्यसपछि शुरु भयो गाउँमै स्वास्थ्य संस्था स्थापनाको पहल । यसका निम्ति भौतिक पूर्वाधार र जनशक्ति कसरी जुटाउने भन्ने चुनौति थियो ।

‘पूर्वाधारका लागि अर्थसंकलन गर्ने निर्णय गर्‍यौं, तर स्वास्थ्यकर्मी कहाँबाट ल्याउने भन्ने समस्या पर्‍यो,’ संस्थाका अध्यक्ष राजेन्द्र मिश्र सम्झिन्छन्, ‘बाहिरबाट स्वास्थ्यकर्मी यहाँ ल्याउन सक्ने स्थिति नभएकाले स्थानीयस्तरमै उत्पादन गर्ने निस्कर्षमा पुग्यौं ।’

सो बमोजिम आइए पास गरेर यत्तिकै बसिरहेका ३५ वर्षिय सन्तलाल श्रेष्ठलाल लाई अहेब पढ्न लगाइयो । उनले अहेबको १५ महिने कोर्स लिए र थप आठ महिना अभ्यास गरेर आफूलाई तयार पारे ।

सुरुमा तीन जनाको साउतिबाट सुरु भएको अभियान बिस्तारै फैलिदै गयो । संस्था दर्ता गरेर ११ जनाको कार्यसमिति बनाइयो ।

‘सुरुमा हामी अलि सक्ने १० जनाले वार्षिक ५० हजार रुपैैयाँ गाउँका लागि खर्च गर्ने गरी अभियान थालेका थियौं,’ अध्यक्ष मिश्र भन्छन्, ‘तर, हाम्रो अभियानमा व्यापक सहयोग र सहभागीता जुट्दै गयो ।’

स्वास्थ्यकर्मी तयार पारेपछि अब क्लिनीक सञ्चालन गर्न भवन चाहियो । त्यसका लागि स्रोत कसरी जुटाउने त ? तर, भगवानले तँ आँट म पुर्‍याउँछु भन्छ रे ।

दशैं तिहारको बेला थियो । स्थानीय नवसचेतना युवा क्लवका अध्यक्ष राजकुमार शाही र मिश्र दाजुभाइले सल्लाह गरेर काठमाडौंमा देउसी भैलो खेल्ने योजना बनाए । त्यसै बमोजिम काठमाडौंमा चिनजानका घरहरुलाई देउसी खेल्न आउने पत्र पठाइयो । देउसी खेल्ने टोली गाउँबाट लगियो । उक्त टोलीले तीन दिनमा दुई लाख ४० हजार रुपैयाँ उठायो । खर्च कटाएर २ लाख १२ हजार बचत भयो । यो ०६६ सालको कुरा हो ।

देउसी खेलेको पैसाबाट तीनकोठे भवन तयार भयो । सो भवनको तीन कोठामा ओपिडी, गर्भवती महिलालाई सुत्केरी गराउने र घाउको ड्रेसिङ गर्ने गरी स्वास्थ्य सेवा सञ्चालन गर्न थालियो । अहेब सोमलाल अहोरात्र स्वास्थ्योपचारमा खटिए ।

स्वास्थ्य संस्था सञ्चालन हुन थालेपछि आवश्यकता महसुस भयो एम्बुलेन्सको । किनकि गम्भीर खालका बिरामीको उपचार उक्त क्लिनीकमा हुन सक्दैनथ्यो र बाहिर रिफर गर्नुपथ्र्यो । बाहिर लैजाँदा डोकोमा बोक्नुको विकल्प थिएन ।

एम्बुलेन्स किन्नु अपरिहार्य देखियो । यसका लागि स्रोत कसरी जुटाउने ? फेरि पनि ‘तँ आँट म पुर्‍याउँछु’ को थ्यौरी लागू भयो ।

‘एम्बुलेन्सको लागि स्रोत जुटाउनुअघि स्थानीयस्तरमा ड्राइभर उत्पादन गर्नतिर लाग्यौं,’ मिश्र भन्छन्, ‘गाउँमा सबैभन्दा बढी बिरामी डोकोमा बोक्ने धु्रव भाइलाई गाडी सिक्न आग्रह गर्‍यौं ।’ ध्रुवले पनि आग्रह स्वीकारे । उनलाई काठमाडौं लगेर तालिम दिइयो र तालिपछि उनले ट्रायल पास गरेर लाइसेन्स निकाले ।

ड्राइभर त रेडी भयो, तर एम्बुलेन्स थिएन । नानी पाउनु कैले-कैले कन्दनी बाट्नु अहिले जस्तो भयो । तर, नानी पाउन पनि टाइम लागेन ।

एम्बुलेन्स खरिदका लागि अर्थ संकलन गर्न फेसबुकलाई उपयोग गर्ने विषयमा संस्थाभित्र छलफल भयो । यस बमोजिम आफ्नो फेसबुक पेजमा सहयोग आह्वान गरियो ।

‘फेसबुकमार्फत एकदेखि दुई महिनाभित्र ५-६ लाख उठाउने र बाँकी पैसा आफै हाल्ने हाम्रो योजना थियो, तर, नसोचेको रेस्पोन्स भयो,’ मिश्र भन्छन् । नसोचेको के भयो भने आह्वान गरेको १३ दिन भित्रमा ९ लाख रुपैयाँ जुट्यो । श्रवण खनाल नामका व्यक्तिले एक्लै २ लाख १ हजार रुपैयाँ दिए । त्यसपछि ‘अब पुग्यो’ भनेर फेसबुकमा अर्को सन्देश लेखियो ।

फेसबुकमार्फत जुटेको पैसाबाट एम्बुलेन्स खरिद भएपछि गाउँको एउटा नियति फेरियो । डोकोमा बोकेर बिरामीलाई तीन घन्टाको बाटो कुदाउनुपर्ने अवस्थाको अन्त्य भयो ।

कविलासलगायत अरु तीन गाविसका बिरामीहरु यहाँ उपचार गर्न आउँछन् । विपन्न समुदायका व्यक्तिलाई निशुल्क औषधि-उपचार दिने गरिएको छ । विपन्न भनेर पहिचान गर्ने कुनै औजार त छैन । तर, गाउँ ठाउँमा को कस्तो भनेर चिनिहालिन्छ ।

संस्थाले दिन प्रतिदिन प्रगतिको उकालो उक्लिँदै छ । दाताहरु थपिँदै छन् । संस्थाको तीनकोठे भवन अहिले दुई तल्लाको बनेको छ । टीनको छानोको ठाउँमा ढलान गरिएको छत छ । बसन्त मिश्र नामका व्यक्तिले हालै ३४ लाख रुपैयाँ सहयोग गरेका छन् । सो रकममध्ये १५ लाख संस्थालाई र बाँकी स्थानीय विद्यालय भवन निर्माणका लागिका लागि खर्च गरिनेछ । यो १५ लाखबाट भवनमा थप दुई कोठा थप गरिँदैछ ।

अस्पताल बनाउने सपना

स्वास्थ्य क्लिनिक आधारभूत पूर्वाधारहरुले सुसज्जित भएको छ । तर, उत्साही युवाहरु थकाइ मारेर बस्ने मुडमा छैनन् । उनीहरु यस क्लिनिकलाई सामुदायिक अस्पतालको रुप दिन चाहन्छन् । तर, त्यसका लागि स्रोत साधनको जोहो गर्नु ठूलो चुनौति हो ।



संस्थाका उपाध्यक्ष समेत रहेका स्थानीय शिक्षक रामकुमार शाही भन्छन्, ‘हामीले डोकोमा बिरामी बोक्ने अवस्थाबाट यो अवस्थामा आइपुगेका छौं । अब यसलाई सामुदायिक अस्पतालमा विकास गर्न सके हाम्रो एउटा लक्ष्य पूरा हुन्छ ।’

अन्य क्षेत्रका पाइला

यस संस्थाको कार्यक्षेत्र मूलरुपमा स्वास्थ्य भए पनि अन्तिम अभिष्ट भनेको यस क्षेत्रको समग्र जीवनस्तर सुधार भएको बताउँछन् अध्यक्ष मिश्र । यसका लागि स्थानीयवासीको आय आर्जनका विकल्पको खोजी भइरहेको उनको भनाइ छ । आयआर्जनकै लागि संस्थाले गत वर्षमात्रै आर्थिकस्तर कमजोर भएका हरेक वडाका दुई महिला छनोट गरेर मूढा बनाउने तालिम दिएको थियो ।

पारदर्शिता यो संस्थाको सबैभन्दा बलियो पक्ष हो । जोबाट जे सहयोग लिँदा पनि स्थानीय समुदायलाई साक्षी राखेर लिइन्छ । जसले जेमा सहयोग गरेका छन्, त्यसमा उनीहरुको नाम लेखिन्छ । पारदर्शितामा सम्झौता गर्नुपर्ने स्थितिमा बरु सहयोग नै अस्वीकार गरिएको बताउँछन् अध्यक्ष मिश्र ।

यस गाविसका करिब दुई सय घरधुरीको प्रमुख पेशा कृषि नै हो । तर, रोजगारीका लागि युवाहरु विदेश पलायन हुने क्रम बढेपछि कृषिको उत्पादकत्व घटेको छ । पछिल्लो समय अदुवा उत्पादनले अलिकति टेवा दिएको छ । तैपनि यो पर्याप्त छैन । तल बेंसीमा प्रशस्त माछा पाइन्छन् । गाउँलेहरुलाई माछापालनमा संलग्न गराउने योजना संस्थाले बुनेको छ ।- अनलाइनखबरबाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget