Websoft University

www.radiomakalu.com || 021-522512


भूकम्पले डेढ लाख घर जोखिममा

काठमाडौँ, असार १२ गते  ।  भूकम्पबाट प्रभावित पाँच जिल्लाका डेढ लाख घर पहिरोको जोखिममा रहेका छन् । अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) का विशेषज्ञ टोलीको अध्ययनमा धादिङ, दोलखा, गोरखा, रसुवा र सिन्धुपाल्चोकका १ लाख ५५ हजार २ वटा घर पहिरो र डेभ्रिजका उच्च जोखिममा रहेको देखिएको हो । ती जिल्लाका २ लाख ६२ हजार ५ सय ११ घरमध्ये करिब डेढ लाख घर जुनसुकै बेला पहिरो र ‘डेभ्रिज’मा पर्ने निष्कर्ष इसिमोडको छ । 



अध्ययनमा विशेषज्ञहरू अरुणभक्त श्रेष्ठ, समजवलरत्न वज्राचार्य, प्रा.डा.नरेन्द्र खनाल र युनिभर्सिटी अफ एरिजोनाका जेफ्री एस कार्गेललगायत सहभागी थिए । अध्ययन प्रतिवेदनमा ‘ती पाँच जिल्लाका ५१ देखि ७२ प्रतिशत गाविस पहिरो, डेभ्रिज र चट्टानी पहिरोको उच्च जोखिममा रहेको’ उल्लेख छ ।

अध्ययनअनुसार धादिङको रि, दोलखाको गौरीशंकर, गोरखाको काशीगाउँ, केरौंजा, लाप्राक र लापु, रसुवाको लाङटाङ, गोलजुङ, डाँडागाउँ तथा सिन्धुपाल्चोकको भोताङ, धुस्कुन, राम्चे, तातोपानी, अत्तरपुर, गुन्सा, महांकाल र थाकनी गाविसका ५० प्रतिशतभन्दा बढी घर धेरै जोखिममा छन् । ती गाविसमा भीमकाय पहिरो जाने तथा नदीसमेत थुनिन सक्ने आकलन गरिएको छ ।

पहिरोले मानव बस्तीसँगै वनक्षेत्र, झाडी, बुट्यान, खेतीयोग्य जमिन, बाटो, सडक, नदी/खोला र जलविद्युत् केन्द्र विनाश गरेको र अझै गर्न सक्ने अध्ययन प्रतिवेदनमा उल्लेख छ । भूकम्पपछि इसिमोडको अध्ययनले प्रभावित १७ जिल्लामा ५ हजार १ सय ५९ वटा पहिरो पहिचान गरेको छ । तीमध्ये केही ठूला पहिरा छन् ।

भूकम्पपछि विभिन्न जिल्लामा भीमकाय पहिरो आएको र तिनबाट जतिबेला पनि मानव बस्ती जोखिममा पर्न सक्ने अध्ययनले देखाएको छ ।

धादिङमा गोल्छिना र झार्लाङ, दोलखामा मैलुङ, गोरखामा कुलगाउँ, रामेछापमा घ्याप्चे, रसुवामा राम्चे, सिन्धुपाल्चोकको मार्मिङमा पहिरो आएका छन् । तिनले यस वर्षको मनसुनमा ठूलो क्षति निम्त्याउन सक्ने विशेषज्ञहरू बताउँछन् । भूकम्पले निम्त्याएको पहिरो, डेभ्रिज र चट्टानबाट हाइड्रोपावर क्षेत्रमा पारेको असरसमेत अध्ययन गरिएको छ ।

जसअनुसार धादिङको आँखुखोला, सिन्धुपाल्चोकका बराम्ची खोला, भैरव कुण्ड, माथिल्लो भोटेकोसी, तल्लो चाकु, सुनकोसी, मध्य चाकु, सानिमा, माथिल्लो चाकु र माथिल्लो हाँडीखोला तथा लमजुङको राधिखोला, स्युरीखोला र रसुवाको मैलुङखोला जलविद्युत् आयोजना उच्च जोखिममा परेको अध्ययनको निष्कर्ष छ । ती आयोजनामा जतिबेला पनि पहिरो, डेभ्रिज र चट्टान आउन सक्ने अध्ययनको निष्कर्ष छ ।

भूकम्पपछि दोलखामा १ सय १, गोरखामा ६०, ललितपुरमा २४, नुवाकोटमा ९५, रसुवामा ७१ र सिन्धुपाल्चोकमा १ सय ५ सहित जम्मा ४ सय ५६ किलोमिटर सडक पहिरोले क्षतिग्रस्त भएकोसमेत उल्लेख छ । मनसुनको अवधिमा अझै अन्य प्रभावित जिल्लाको सडकसमेत पहिरोले प्रभावित हुन सक्ने विज्ञहरूको भनाइ छ ।

भूकम्पपछि मस्र्याङदीको दोना खोला, बुढीगण्डकीको तोमखोला, मनास्लुको ल्हो बजार पहिरोबाट थुनिएका थिए । फेरि पनि ती ठाउँमा पहिरो जान सक्ने र नदी थुनिन सक्ने औंल्याइएको छ । अध्ययनमा संलग्न त्रिविको भूगोल विभागका प्राध्यापक डा.नरेन्द्र खनालले ९९ प्रतिशत पहिरो मनसुनमा जाने भएकाले खतरा अझै रहेको बताए ।

‘भूकम्पले हल्लाएको पहाड खस्ने सम्भावना अत्यधिक छ,’ उनले शनिबार कान्तिपुरलाई भने, ‘भारी वर्षा भयो भने सानो पहिरोले ठूलो रूप लिने खतरा छ र पहाडै झरेर खोला थुनिने सम्भावना पनि छ ।’

गत वर्षको मनसुनमा औसतभन्दा अत्यधिक न्यून वर्षा भएकाले भूकम्प प्रभावित क्षेत्रका बासिन्दाले राहत महसुस गरेका थिए । यही कारण पहिरो धेरै गएन । मौसमविद्ले यो वर्षको मनसुनमा नेपालसहित दक्षिण एसियामै अघिल्लो वर्षभन्दा अधिक वर्षा हुने अनुमान गरेका छन् । भारी वर्षाका कारण दुई वर्षअघि जुरे र एक वर्षअघि म्याग्दीमा गएको जस्तो पहिरोले नदी थुनिन सक्ने विशेषज्ञहरूले औंल्याएका छन् ।

त्यसैले विज्ञहरूले प्रभावित क्षेत्रमा अनुगमन प्रभावकारी बनाउन सुझाएका छन् । ‘प्राधिकरणले घर बनाउन पैसा मात्रै दिएर पुग्दैन ती क्षेत्रमा अनुगमनसमेत आवश्यक छ,’ खनालले भने, ‘तीन वर्ष अनुगमन हुनुपर्छ ।’

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रवक्ता राम थपलियाले अनुगमन गर्ने कार्यक्रम भए पनि अहिलेसम्म फिल्डमा काम हुन नसकेको बताए । ‘बस्तीको अनुगमन गर्नुपर्ने हो तर सकेका छैनौं,’ उनले भने, ‘कार्यक्रममा भए पनि अब गर्न सकिएला जस्तो छैन ।’

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget