उमेर ढल्किँदै जाँदा आदर्शको पर्यायवाची शब्द ‘प्रचण्ड’ बन्लान् भन्दा अपराधीको बिल्ला भिर्छन् कि भन्ने चिन्ताले सताउन थालेको छ । जतिसुकै संकटमा परे पनि मसक्क मस्किने यी बुढाको माया लाग्छ, आजकल ।
उनको एउटा आदेशमा जे पनि गर्न तम्सिने यो अजीव सजीव प्राणी एकबारको जुनीमा अचानक निर्जिव हुनु परेजस्तो लाग्छ । थकथकी लाग्छ ।
यो धर्तीमा प्रचण्ड जन्मिए र, त दमित भएका दलितहरु अजिङ्गर बनेर झुपडीबाट फुत्त बाहिर निस्किए । सयौं वर्षदेखि अपहेलित मानिसहरुसँग मुखमात्र थियो, अभिव्यक्तका शब्दहरु थिएनन् ।
प्रचण्डले जाली, फटाहा, डाका, शोषक, दलाल, सामन्ती, लुटेरा, अवसरवादी, प्रतिकृयावादी, ठग दक्षिणपन्थी, अनुदारवादि र संसोधनवादी जस्ता हजारौं शब्दहरु उपहारका रुपमा सुम्पिदिए ।
यति हुँदाहुँदै पनि यो पङ्तिकारले कामरेड प्रचण्डको खोइरो त खनेकै हो । किनभने भूकम्प जानुभन्दा पहिले कुकुरहरु भुक्न थाल्छन् । रुखमा बसेका चराहरु उड्न थाल्छन् । र, मुसाहरु दुलोबाट फुत्त बाहिर निस्केर दगुर्छन् । आफूलाई मैले कुकुर र मुसासँग तुलना गर्न खोजेको अवश्य होइन । तर, माओवादीमा जाँदै गरेको महाभूकम्पका बारेमा थाहा भएको असाधारण मनुष्य ठान्छु मैले आफूलाई ।
संकेत थियो- “ख्याल ख्यालमै हेगमा लगेर कोच्न सक्छन् है, अहिले नै हतियार बुझाउने काम गर्दै नगर ।” तर माओवादीहरुले फिस्टा चराको चिरबिर आवाजलाई कहिल्यै सुनेनन् । हतियार बुझाएपछिको माओवादी चत्थरी जंगलको भैंसी गोठाला बराबरको हैसियतमा पुग्यो । किनभने तिनका अगाडि मैयूर चराले ‘डान्स’ हानिरहेको थियो । वायुपङ्खी घोडाहरू दौडिरहेका थिए ।
यति हुदाँहुदै पनि अग्रगमन, साहस, आँट, गल्ती, कमजोरी, दुस्साहस, हस्तक्षेप र आत्मसमर्पणको गतिलो उदाहरण हुन् कमरेड-प्रचण्ड । तर, एकै व्यक्तिमा यति धेरै गुणहरु किन छन् भन्ने मुख्य सवाललाई निमिट्यान्न पार्न उनले ‘क्रम भङ्ग र छलाङ’ शब्दलाई धेरै वर्ष अगाडि स्थापित बनाइसकेका थिए । लिट्टे बनाउँछु भन्नेहरुको टाङ फड्काइदिन्छु, खरानी बनाइदिन्छु भन्थे ।
टाउकोको मूल्य तोकिएको त्यो कठिन समयमा होस् वा प्रधानमन्त्रीको सपथ खाँदाको ऐतिहासिक क्षणमा होस्, प्रचण्डले आफूलाई विश्व माझ भिन्न छविको नेताका रुपमा प्रस्तुत गरे ।
प्रचण्डलाई भौतिक वा सांगठानिक रुपमा सिध्याउने खुफिया रणनीति अहिले भर्खरै तय भएको होइन
प्रचण्डको पीडा
देशभित्र र बाहिरका चुनौतिपूर्ण जालझेल र षड्यन्त्रहरुलाई निकै संयमताका साथ व्यवस्थापन गर्दै प्रचण्डको बाङ्गोटिङ्गो बाटो संघीय गणतन्त्रसम्म आइपुगेको छ । माओवादी पार्टीको मूलप्रवाह-जनयुद्धकालीन जग, विचारधारा, संगठन र पद्दति छिन्नभिन्न हुँदै आजको दयनीय अवस्थासम्म आइपुग्दा समेत प्रचण्डको उचाइमा एक इञ्च कमी नआउनुमा यिनै उपलब्धिहरु सहयोगी बनेका छन् । प्रचण्डले उथल–पुथल पार्यो भन्ने छ, आम मानिसको मनमा ।
गिरिजाप्रसाद कोइरालाको निधन भएपश्चात नेपाली राजनीतिको मियो म नै हुँ भन्ने प्रचण्डको विष्लेशण वस्तुत; सही नै भए पनि जनयुद्धको पृष्ठभूमि माओवादीका निम्ति फरक राजनीतिको आधार थियो । आधारभन्दा कमजोर विष्लेशणले गर्दा प्रचण्ड ‘महत्वकाङ्क्षी’ बन्नू स्वभाविक थियो तर संगठन लथालिङ्ग बनाएर अगाडि बढ्दा दीर्घकालीन रुपमा आफू निरीह प्राणी बन्ने आँकलन प्रचण्डले गरेनन् । अहिलेको समस्याको मूल जड यही हो ।
गाउँमा कार्यकर्ताहरु धमाधम पक्राउ परेर अदालतमा तारेख धाउँदा प्रचण्ड शान्ति प्रकृया सम्पन्न गर्न खुब व्यस्त थिए । उनलाई घेराबन्दी गरेका आसेपासेहरुका लागि कसले किन पक्राउ खान्छ ? भन्ने कुराको गहिरो वोध हुँदैनथ्यो । छवि, उचाइ र विष्लेशण यी तीन कुराको तालमेल मिलाउन नसक्दा प्रचणड अहिले होस्ल्याङ्ग भएका छन् ।
दिल निसानि मगर
यद्दपि प्रचण्डलाई भौतिक वा सांगठानिक रुपमा सिध्याउने खुफिया रणनीति अहिले भर्खरै तय भएको होइन ।
बेलाबेलामा प्रचण्डले आफूलाई असुरक्षित महशुस गर्नु र अब एक नम्बरको पार्टी बनाउँछु भन्नुको अविचलित मनिस्थिति उनले षड्यन्त्रको सुइँको पाउँदाको घडीमा उजागर हुन्छ ।
प्रचण्डलाई फसाउने दाउँ
केही महिना अगाडि बेलायत भ्रमणमा रहेका परराष्ट्रमन्त्री तथा राप्रपा नेपालका अधक्ष कमल थापाले त्यहाँको बन्द कोठामा भेला भएका मण्डलेहरु समक्ष राजतन्त्र फर्काउनका लागि प्रचण्ड बाधक भएको प्रसङग उठाएका थिए ।
गोप्य श्रोतका अनुसार प्रचण्ड खुला राजनीतिमा रहदाँसम्म राजतन्त्रलाई पुन स्थापना गर्न नसकिने र त्यसका लागि युरोपमा रहेका समर्थकहरुले महत्वपूर्ण भुमिका निभाउन सक्ने भन्दै थापा करिब १ मिनेटसम्म मुस्कुराएका थिए । उनको मुस्कान बुझेका दुई, चारजना सहभागीले ताली पिटेका थिए ।
दिल्लीले ‘हिन्दु राष्ट्रका’ लागि पहलकदमी गरिराखेको, यो प्रस्तावमा एमालेको खासै बलियो विरोध वा विचार नदेखिएको, कांङ्रेसले आंशिक समर्थन गरिसकेको, मधेसका नेताहरुलाई मनाउन सकिने सम्भावना रहेको, सैनिक अस्वभाविक मौनतामा रहेको तर प्रचण्डले हल्लाखल्ला गरिदिने भएकाले कसैले पनि मुख खोल्न नसकेको विषयमा कमल थापाले सहभागीलाई “कन्भिस” गराउन खोजेका थिए । अब हामीसँग एकमात्र उपाय बाँकी छ भन्दै उनले त्यहाँ उपस्थित कानुन व्यवसायीलाई उक्साएका थिए ।
यसको मतलव यो होइन कि प्रचण्डलाई विदेशी भूमिमा फसाउनका लागि कमल थापा पुरै लागेका छन् । तर, आंशिक अर्थ भने सत्य हो । प्रचण्डलाई फसाउने तत्वहरुमा यी सबै राजनैतिक परिवर्तनहरुका नामसमेत फिटिक्कै सुन्न नचाहने समूह पहिलो नम्बरमा पर्छन् ।
उनीहरु हुन् राजावादी मण्डले र हिन्दु कट्टरपन्थी । दोश्रो हुन्- जनयुद्धको समयमा भौतिक कारवाही भुक्तान गरी उम्केर युरोप पुगेका ठग र जमिनदारहरु । तेश्रो हुन्- भ्रष्टचारको जगमा उभिएका स्थायी पुँजिपति-प्रतिकृयावादीहरू ।
खासगरी पश्चिमा देशहरुमा बलियो गरी बसेका राजतन्त्रप्रेमी मण्डलेहरु अनि जनयुद्धको समयमा माओवादी पीडितका नाममा शरणार्थीका रुपमा प्रवेश पाएकाहरू प्रचण्डलाई फसाउनका लागि अनेक तयारीका साथ बसेका छन् । अन्तिम समयमा आइपुगेर स्थगित गर्नुपरेको प्रचण्डको अष्ट्रेलिया भ्रमणमा देखिएको असहजता उदाहरण मात्रै हो ।
मिडियामा देखिएको उजुरीको आधिकारिकताबारे पुष्टि हुन बाँकी भए पनि प्रचण्डलाई कुख्यात अपराधी “चार्ल्स शोभराज” सँग तुलना गरेर नेपालका पूर्व प्रधानमन्त्रीलाई फन्दामा पार्ने डरलाग्दो षड्यन्त्र रचिएको बुझिएको छ । यस्तो डरलाग्दो षड्यन्त्रका बारेमा अष्ट्रेलियामा रहेका कांग्रेस, एमालेका प्रतिनिधिहरुले आफ्ना नेताहरुलाई टेलिफोन गरेर रिपोटिङ गरेको रहस्य खुल्न आएको छ । र, तत्कालै नेताहरुले प्रचण्डलाई अष्ट्रेलिया नजान सुझाएका थिए ।
उता प्रचण्डको भ्रमणका लागि भिसा, टिकट र बन्दोबस्तीका लागि लाखौं रुपैयाँ खर्च गरेका मनऋषि धितालको समूह भने हस्याङ फस्याङ गर्दै तयारीमा जुटेको थियो । उनीहरुलाई षड्यन्त्रका बारेमा सुइँकोसम्म थिएन । अन्तत; उनीहरु पनि होस्ल्याङ्ग भए ।
घरेलु र वाह्य शक्तिको षड्यन्त्र
पावर एलिटका रुपमा परिचित केही मानवअधिकारवादीको जत्था प्रचण्डलाई फसाउन बर्षौंदेखि सक्रिय भूमिकामा देखिए पनि संवैधानिक दृष्टिले नेपालमा त्यो सम्भव थिएन । प्रधानमन्त्री भएपछि झन् असंभव भयो । तर, ती पावर एलिटहरुले अन्तराष्ट्रिय समुदायसमक्ष प्रचण्डलाई तालिवानी नाइकेसँग तुलना गरेर गोप्य पत्राचार गर्दै आएको बुझिन्छ ।
प्रचण्डलाई नैतिकरुपमा गिराउनका लागि बेलाबेलामा आमरण अनशनका नाटकहरु पनि रचिँदै आएका छन् ।
‘शान्ति समिति’ नामक दलीय भागवण्डामा भ्रष्टाचारको अखडा खडा गरेर देशभरि उजुरी लिने काम भइराखेको छ । सिद्धान्ततः यस्ता उजुरीहरु संकलन गर्नु भनेको नै नेपालमा जनयुद्ध जारी छ भन्नु हुन्छ
केहि समय अगाडि नारायणकाजीले दिएको भोजमा पहिलोपटक प्रचण्डले कनकमणि दीक्षितलाई पछिल्तिरबाट ढाडमा चुस्स समातेर बोलाएका थिए । “अब यो देशलाई निकाश दिन तपाई र हामी मिल्नुपर्छ” भन्ने प्रचण्डको अभिव्यक्तिको आशय- “तपाई र मैले गर्दा यो देश त खत्तम भैसक्यो अब मिलौ” भन्ने हुन्छ । एक बरिष्ठ पत्रकारको हैसियतका कारण स्वभाविक रुपमा कनकमणिको अन्तराष्ट्रिय सम्बन्ध बलियो छ भन्ने कुरा उनलाई भ्रष्टाचारको गरेको आरोपमा अख्तियारले पक्राउ गर्दा मात्र होइन, एसियामा पत्रकारिताको ब्यापक विकाश गर्ने भन्दै विदेशी डलर लिएको कुरालाई उनले खुलेआम स्वीकार गरेको तथ्यबाट प्रष्ट हुन्छ ।
द्वन्द्वकालीन घटनालाई माओवादीले १२ बुँदे सहमति र बृहत शान्ति प्रकृयासंग जोडेर नै ब्याख्या गर्दै आएको थियो । तर, पछिल्लो समयमा ‘शान्ति समिति’ नामक दलीय भागवण्डामा भ्रष्टाचारको अखडा खडा गरेर देशभरि उजुरी लिने काम भइराखेको छ ।
सिद्धान्ततः यस्ता उजुरीहरु संकलन गर्नु भनेको नै नेपालमा जनयुद्ध जारी छ भन्नु हुन्छ । तर, हामी सरकारमा छौं भन्ने भलादमी चक्मा फ्याँकेर प्रचण्ड माओवादी पैसा कमाउन, कमिशन खान व्यस्त देखिन्छ । यसलाई सरकारबाट बाहिरिएपछि समात्न सकिने एक प्रकारको षड्यन्त्र मान्न सकिन्छ । संगठन कमजोर हुदाँ घेराबन्दि बलियो भयो ।
धनाढ्य ल्याहरक्याल लामाको सहयोगमा प्रचण्डका सहयोगीहरु कहिले चीन त कहिले सिंगापुरको डौडाहमा निस्केको दक्षिणका जासुसहरुलाई पटक्कै मन परेको थिएन । फलस्वरुप लाहारक्याल लामाको लकरमा गोली पस्यो । भ्रष्टाचारीको आरोपमा मुद्दा पर्यो, अन्तत; प्रहरीद्वारा समातिए । तर, प्रायः सबै बुद्धिजीवि भनिएकाहरु चुपचाप छन् ।
तर, यो सिधा प्रचण्डमाथिको सांकेतिक ‘थ्रेट’ थियो । फेरि जमिम शाह घटना दोहोरिन सक्ने गहिरो संकेत बुझेपछि प्रचण्डपुत्र प्रकाश दाहालले जिल्ला प्रशासन कार्यलय काठमाण्डौमा आफूहरुको आत्मसुरक्षाका लागि साथमै हतियार राख्न पाउने अधिकारको माग गर्दै निवेदन चढाएका थिए ।
राजनैतिक उपलब्धिका रुपमा प्रचण्डले कायापलट गरेका कामहरुलाई अपजस दिएर आफूले जस लिन माहाराजाका पाउका धुलोहरुले चोचोमोचो मिलाउँदै हिँडेका छन् । संघीयता, धर्म निरपेक्षता र गणतन्त्रको नाम समेत सुन्न नचाहनेहरु यिनै उप्लब्धिको जन्मदाता भए जसरी प्रस्तुत हुन थालेका छन् । संगठन कमजोर बन्दै जाँदा घेराबन्दी बलियो हुँदै गएको छ ।
माओवादी सक्कियो भनेर जताततै हर्षोल्लास जस्तो वातावरण पैदा हुनु हाल प्राप्त राजनैतिक उपलब्धिहरुलाई स्वीकार गर्न नसक्नु हो । यो जमात सानो त छ, तर शक्तिशाली छ ।
पङ्गतिकारले जीवनभरिको शक्ति निकालेर प्रचण्डको आलोचना गर्नुका पछाडि यिनै असमान्य कारणहरु थिए कि कालान्तरमा सबै माओवादीहरुको अवस्था केवल आत्म सुरक्षाको हालतमा पुगेर टुङ्गिने छ । मनभित्रैबाट प्रचण्डले यो कुरा स्वीकार पनि गरिसकेका छन् कि अवस्था जटिल बन्दैछ र हामीमाथि सुनुयोजितरुपमा घेराबन्दी जारी छ । तर, घोषितरुपमा भन्न मात्रै सकेका छैनन् ।
प्रचण्ड नेतृत्वको माओवादीलाई अवसरवादीहरु मिलेर माकुरी जालमा पारे, संसारभरिका शक्तिहरु मिलेर टाउको उठाउनै नसक्ने बनाए भन्दैमा जनयुद्ध र शान्ति प्रकृयाप्रतिको अवधारणालाई फेरि भङ्ग गर्ने दुस्साहस नगरौं
यी तमाम समस्याहरुको ढीलो विश्लेषण गरेर भए पनि माओवादी एकताको प्रकृयामा अगाडि त बढेको देखिन्छ । तर, यो काम गर्ने कालु, मकै खाने भालुजस्तो भएको छ ।
पैसावालाहरुले पार्टीको निर्णय खरिद गरेका छन् । इमान्दार कार्यकर्ताहरुको आत्मसम्मान कहीँ कतै देखिँदैन ।
आफूलाई अनुकुल हुँदा पार्टी फुटाएका नेताहरु एकता भयौं त भनेका छन् । तर, ती केवल टाउकोमा मात्रै एकता भएका हुन्, संगठनमा रहेका आफ्ना कार्यकर्ताहरुको कान, हात, खुट्टा, नाक, आँखा, कपाल, निधार, दाँत, घाँटी कहाँ कस्तो कुन अवस्थामा छन् ? तिनलाई अवगत छैन ।
प्रचण्डलाई फसाउने दुस्साहस नगरौं
जबसम्म यो देशमा धर्म निरपेक्ष संघीय लोकतान्त्रिक गणतन्त्र रहन्छ, तबसम्म माओवादीको अस्तित्व रहन्छ । प्रचण्ड माओवादीको संगठन र विचारधारा कमजोर भयो भन्दैमा माओवादी नै कमजोर भएको आँकलन कसैले गरिरहेको छ भने त्यो केवल दिवासपना हो ।
त्यसैले ज- जसले षड्यन्त्रका दिवासपना देखिरहेका छन्, ती दिवा सपनाबाट मुक्त हुन जरुरी देखिन्छ ।
राष्ट्रिय, अन्तरष्ट्रिय शक्तिकेन्द्रको प्रयोग गरेर प्रचण्डलाई भुत्ते गराउँछु वा समातेर जेलमा हाल्छु अनि उसको गौरवमय इतिहासलाई नामेट गराउँछु भन्ने योजना कसैले बुनेको छ वा चाहनासम्म राखेको छ भने त्यो पनि दुस्साहस हुनेछ । कहिल्यै सफल हुनेछैन ।
प्रचण्डमाथि सुनुयोजित आक्रमण हुनु भनेको धर्म निरपेक्ष संघीय गणतन्त्र नेपालमाथि नै आक्रमण हुनु हो ।
यतिबेला सांगठानिक रुपमा माओवादी कमजोर भएको छ । तर, आमरुपमा माओवादीका खेमाहरु त सकिएका छैनन् । प्रचण्ड नेतृत्वको माओवादीलाई अवसरवादीहरु मिलेर माकुरी जालमा पारे, संसारभरिका शक्तिहरु मिलेर टाउको उठाउनै नसक्ने बनाए भन्दैमा जनयुद्ध र शान्ति प्रकृयाप्रतिको अवधारणालाई फेरि भङ्ग गर्ने दुस्साहस नगरौं । यस्तो षड्यन्त्र दलाल मानसिकताका धुन्दुकारीहरुले मात्र गर्छन् ।
यदि कसैले प्रचण्डलाई चार्ल्स शोभराजसँग तुलना गरेर पक्राउ गराउने योजना बुनेको छ भने त्यो षड्यन्त्रको प्रारूप चाँडै नै बाहिर आउने छ । नेपाली जनताले फैसला गरेका परिवर्तनहरुमाथि आँच पुर्याउने र गिद्दे नजर लगाउने जो हुन्, ती मुकुण्डो लगाएर हिँडुन् वा समुन्द्र र जमीनमुनि घर बनाएर बसुन् । एक दिन ग्यालिलियोको दुरवीनले पत्ता लगाएरै छाड्नेछ ।
Post a Comment