Websoft University

www.radiomakalu.com || 021-522512


स्वास्थ्यका विषय पढ्न कति चाहिन्छ ग्रेड, कति हुन्छ खर्च ?



रोजगारी पाउने संभावना हुने भएपछि धेरैको रोजाई प्राविधिक विषय हुन्छ । सीटीईभीटीका निर्देशक रमेश बखतीका अनुसार प्राविधिक विषयमा रोजगारका अवसर पनि छन् र आफंै पनि रोजगारको सिर्जना गर्न सकिन्छ । स्वास्थ्य क्षेत्रमा प्राविधिक बिषयमा धेरै विधामा अध्ययन तथा तालिमको अवसर पाउन सकिन्छ ।

प्राविधिक शिक्षालाई ‘बोली खानेभन्दा गरीखाने शिक्षा’ भनिन्छ । गरिखाने शिक्षाप्रति युवा पुस्ता आकर्षित छन् । सीटीईभीटी एसएलसीपछि प्राविधिक शिक्षा दिने एकमात्र निकाय हो । प्राविधिक शिक्षा प्राप्त जनशक्ति बेरोजगार रहनु पर्दैन जसले गर्दा अध्ययन गर्नेको संख्या पनि बढ्दै गएको छ । तीन बर्षको डिप्लोमा उत्तिर्ण गरेपछि राजपत्र अनंकित प्रथम श्रेणी प्राविधिक (सुब्बा सरह) को लागि योग्य मानिन्छन् ।

विद्यालय र विश्वविद्यालयमार्फत् उच्च शिक्षा अध्ययन गर्नेहरुका लागि तहगत व्यवस्था भए जस्तै परिषद् अन्तर्गतका शिक्षालय तथा कलेजमा अध्ययनरत विद्यार्थीहरुलाई पनि उच्च शिक्षासम्मको अध्ययन गर्ने अवसर प्रदान गरेको छ ।

वैदेशिक रोजगारका लागि बजार प्रवेश पाउन प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिम सहज माध्यम बनेको छ । हासिल गरेको सीप प्रयोग गरी उद्यमशील नागरिक बनेर स्वरोजगार भई अन्य व्यक्तिलाई समेत रोजगार सिर्जना गर्न सक्छन् ।

स्वास्थ्यतर्फ प्रमाणत्रपत्र तह नर्सिङ, डिप्लोमा इन फार्मेसी, सामान्य चिकित्सा (एचए), अप्थाल्मिक साइन्स, डेण्टल साइन्स, रेडियोग्राफी, मेडिकल ल्याब टेक्नोलोजी ल्याब अध्ययन गर्न सकिन्छ ।

स्टाफ नर्स
स्वास्थ्य संकायका अन्यभन्दा यो बिषय धेरै युवतीको रोजाईमा परेको छ । यसमा एक शैक्षिक सत्रमा झण्डै ३ हजार ७ सय २० जना विद्यार्थीले पढ्ने अवसर पाउछन् । स्टार्फ नर्स उत्पादनका लागि सीटीईभीटीका आंगिक र निजी क्षेत्र गरी ९७ भन्दा बढी शिक्षालय छन् । एउटा शिक्षालयमा ४० जनाको भर्ना क्षमता हुन्छ । यो बिषय उत्तिर्ण भएपछि एक वर्षको अनुभव लिएर स्नातक नर्सिङ अध्ययन गर्न योग्य मानिन्छन् । यो विषय अध्ययनका लागि चार लाख ७९ हजार रुपियाँ शुल्क लाग्छ । यो ३ वर्षे कोर्ष हो ।

डिप्लोमा इन फार्मेसी
डिप्लोमा इन फार्मेसी पनि अवसरको भएको कोर्ष हो । ३ वर्षे यो कोर्ष पढेपछि औषधि पसल तथा औषधि कम्पनीमा काम गर्न सकिन्छ वा आफैँ पनि औषधि पसल सञ्चालन गर्न सकिन्छ । एउटा शिक्षालयमा ४० जनाको क्षमता हुन्छ । त्यसअनुसार एक शैक्षिक सत्रमा १ हजार ४० जना विद्यार्थीले अध्ययनको अवसर पाउँछन् । डिप्लोमा इन फार्मेसी उत्तिर्ण भएपछि फार्मेसीमा स्नातक अध्ययन गर्न पाइन्छ । सरकारी रोजगारीका लागि स्वास्थ्य मन्त्रालय अन्तर्गतका विभिन्न अस्पताल, औषधि व्यवस्था विभाग, औषधि कम्पनीमा पाइन्छ ।

डिप्लोमा इन फार्मेसी गर्न सरकारले समेत छुट्टै नियम बनाएको छ । नगरपालिका क्षेत्रमा रहेको औषधि पसलमा कार्यरत ब्यक्ति कम्तिमा पनि डिप्लोमा इन फार्मेसी उत्तिर्ण गरेको हुनुपर्ने नियम बनाइएको छ । यो विषय अध्ययन गर्न तीन लाख ४७ हजार तीन सय ७९ रुपैयाँ निर्धारण गरिएको छ ।

सामान्य चिकित्सा (एचए)
एचए पढ्नेको संख्या बर्सेनि बढ्दै गएको छ । यो ३ वर्षे कोर्ष पास गरेपछि अस्पताल तथा स्वास्थ्य संस्थामा कामको अवसर पाइन्छ । लोकसेवा पास गरेपछि स्वास्थ्य चौकी प्रमुख हुन पाइन्छ । त्यसैले पनि आकर्षण बढेको हो । प्राथमिक स्वास्थ्य केन्द्र, परिवार नियोजन, खोप कार्यक्रम आदिमा रोजगारीको अवसर हुन्छ । त्यस्तै स्वास्थ्यसम्बन्धी सरकारी, गैरसरकारी तथा निजी स्वास्थ्यसम्बन्धी संघ संस्थामा पनि रोजगारीको अवसर उत्तिकै हुन्छ ।

जनरल मेडिसिन उत्तिर्ण भएपछि स्वदेशी तथा विदेशी विश्वविद्यालयमा ब्याचलर अफ पब्लिक हेल्थ (बिपिएच) अध्ययन गर्न पाइन्छ । सीटीईभीटीले यो विषय अध्ययन गर्न ४ लाख ११ हजार रुपैयाँ शुल्क निर्धारण गरेको छ । हरेक वर्ष १ हजार ८ सय ४० जना विद्यार्थीले यो कोर्ष पढ्ने अवसर पाउछन् ।

मेडिकल ल्याब टेक्नोलोजी
सीटीइभीटीले निकालेको तथ्याङ्कअनुसार नर्सिङ, डिप्लोमा इन फार्मेसी पछि ल्याब टेक्नोलोजी अध्ययन गर्ने धेरै छन् । ३ वर्षे यो बिषय उत्तिर्ण गरेपछि मेडिकल ल्याब टेक्नोलोजीमा ब्याचलर अध्ययन गर्न पाइन्छ । जिल्ला अस्पतालदेखि क्षेत्रीय र राष्ट्रिय स्तरका अस्पताल तथा प्रयोगशालामा रोजगारी पाइन्छ । निजी स्तरका क्लिनिक तथा अस्पतालमा पनि ल्याब असिस्टेन्टको रुपमा जागिर पाइन्छ ।

डिप्लोमा इन रेडियोग्राफी
सरकारी तथा निजी अस्पतालमा एक्स–रे गर्ने जनशक्ति डिप्लोमा इन रेडियोग्राफीको अध्ययन गरेको हुनुपर्छ । यो विश्वविद्यालयको प्रविणता प्रमाणपत्र तह रेडियोग्राफी समकक्षी कार्यक्रम हो । यो विषयको अध्यनपछि जिल्ला अस्पतालदेखि राष्ट्रिय स्तरका अस्पतालसम्म रोजगारीको अवसर हुन्छ । निजी स्तरबाट सञ्चालित अस्पतालमा नर्सिङ होमहरुमा पनि यो तहको जनशक्तिको माग छ । एउटा शिक्षालयमा ३० जनाको भर्ना क्षमता हुन्छ । हरेक वर्ष ५ सय ४० विद्यार्थीले यो कोर्ष पढ्ने अवसर पाउँछन् । यो ३ वर्षे कोर्ष हो ।

डिप्लोमा इन डेण्टल साइन्स
निजी स्तरमा सञ्चालित डेन्टल अस्पताल, क्लिनिकमा यो जनशक्तिको माग छ । डेन्टल साइन्स अध्यापन गराउने राजधानी र बाहिरी सहरमा गरी पाँचवटा शिक्षालय छन् । यो विषयमा सरकारी निकायमा कुनै दरबन्दी सिर्जना भएको छैन । यो ३ वर्षे कोर्ष हो ।

डिप्लोमा इन अप्थाल्मिक साइन्स
पछिल्लोपटक यो विषय पनि विद्यार्थीको रोजाईमा परेको छ । विद्यार्थीको चाप बढेपछि यसवर्षदेखि यो बिषय पढाई हुने कलेजसमेत थप गरिएको छ । यो बिषय अध्ययन गरेका जनशक्ति कम भएपछि माग बढेको हो । बिगतमा विद्यार्थी नभएर बन्द गरेका कलेजले समेत पुनः सञ्चालन गर्न खोजका छन् । आँखाका बिरामीको चाप बढेसँगै यो बिषयको पनि स्कोप बढेको हो । यो विषय पास गरेपछि सहायकको रुपमा आँखाको उपचार गर्न सकिन्छ । यो ३ वर्षे कोर्ष हो । यसैगरी डिप्लोमा वा प्रमाणपत्र तहमा सीटीईभीटीअन्तर्गत अन्य विषय पनि पढ्न सकिन्छ । होमियोप्याथी, आम्ची, अकुपन्चर÷अकुप्रेसर, आयुर्वेद जस्ता विषय पनि पढ्न सकिन्छ ।-स्वास्थ्य खबरपत्रिकाबाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget