Websoft University

www.radiomakalu.com || 021-522512


तानाशाह किन चाहियो ?


प्रजातन्त्रका प्रमुख संस्था तहसनहस बनाएर बेथिति सिर्जिरहेका छन्

- युवराज गौतम , 
   नेपाली राजनीतिमा विदेशीका कृतदासका रूपमा परिचित एकजना वामपन्थी राजनीतिकर्मीले 'राष्ट्रले तानाशाह खोजेको। अभिव्यक्ति दिएपछि अन्नपूर्ण पोस्ट् दैनिकले भोलिपल्टै आफ्नो सम्पादकीयमा नेपाली सेना त्यस्तो शक्ति बनेर उदायो भने के गर्छौ भन्दै प्रश्न उठायो।


आफ्नै दल चलाउन नसक्ने यहाँका नेताहरू सिंगापुरका विकासप्रिय-लोकप्रिय राजनेता ली क्वान यु जस्ता त्यागी, दूरदर्शी, निष्पक्ष र क्षमतावान् छन् भन्ने विश्वास कसैलाई पनि छैन। शक्ति हातमा लिएर इमानदारीपूर्वक एकतन्त्री ढंगले काम गर्ने व्यक्तिले पनि अनुशासन, प्रगति र पद्धतिलाई केन्द्रमा राखी अभूतपूर्व रूपमा राष्ट्रोत्थान गरेका उदाहरण पाइन्छन्। ती कतैकतै सफल पनि भएका छन्। त्यस्तालाई 'बेनिभोलेन्ट डिक्टेटर। भनेर आलोचना र समर्थन गर्नेहरू पनि छन्।

राष्ट्रिय सुरक्षा र विकास दुवै क्षेत्रमा गुणात्मक उपलब्धि हासिल गरेर ली क्वान यु उदाहरणीय भएकाले विकासप्रिय तानाशाह पनि राजनीतिको मोडल बन्यो।
माथवरसिंह थापाको हत्यापछि राजदरबारमा बढेको गुटबन्दी उत्कर्षमा पुगेकै कारण जंगबहादुर राणा (वीरनरसिंह कुँवर) जस्ता निर्भीक र चतुरले 'तानाशाह। बन्ने मौका पाए नेपालमा।

धेरै इतिहासकारले उनलाई पूर्वागही भएर चित्रण र मूल्यांकन गरेका छन्। उनी र उनीजस्ता व्यक्तित्वको जसरी अपव्याख्या गरियो, त्यसमा मस्तिष्कभन्दा हृदय प्रबल भएको पाइन्छ। आवेग, घृणा, भावावेश, सम्मोहन वा प्रलोभनबाट ग्रस्त नेपाली बौद्धिक वर्ग छिमेकीले आफ्नो सम्पत्तिमा एक इन्च जमिन मिचेको छ भने पनि त्यो जात वा समुदायप्रति नै विद्वेष राख्ने रोगबाट ग्रस्त छ।

०६२/६३ सालको आन्दोलन सुरु नहुँदै राजनीतिक दलहरूभन्दा चार हात उफ्रेर नेपाल पत्रकार महासंघलगायतका संस्थाले तत्कालीन संविधान फ्याँक्नैपर्ने र नयाँ राजनीतिक पद्धतिमा जानुपर्ने फैसला सुनाए। आज संक्रमणकालका नाममा अर्बौं रुपैयाँ र नौ वर्ष लामो कालखण्ड व्यर्थमा व्यतीत हुँदा पनि ती संस्थाहरू आश्चर्यजनक ढंगले मौन छन्। मानौँ राष्ट्रिय स्वाभिमानको प्रश्न अब उनीहरूको एजेन्डामा पर्दैन।

टाठाबाठाले आज त राजनीतिक स्वार्थको लागि राजनीतिज्ञहरूलाई दिनहुँ उत्तेजित गराउँछन् र आफ्नो स्वार्थ पूरा गराउन दबाब दिन्छन् भने जंगबहादुरलाई उकास्ने सल्लाहकारहरू त्यसबेला पनि अवश्य थिए।वसन्तपुर-तहबिल, कौसी-तोषाखाना, तीनवटा कम्पु-पल्टनका सैनिकहरूको तैनाथीसमेत पाएका काजी जंगबहादुरलाई 'जर्नेल।

घोषणा गर्ने महारानी राज्यलक्ष्मीलाई त्यो दिन पश्चात्ताप भयो, जुन दिन तानाशाह बनेर जंगबहादुर राजेन्द्र विक्रम (राजा) र आफूभन्दा धेरै शक्तिशाली भए। दरबारभित्रैका शक्तिशाली गुटहरूमा फुट गराएर ब्रिटिस राजदूत ओट्ेलेले अत्यन्त कपटपूर्ण खेल खेलेकै कारण जंगबहादुरले कोतपर्व जस्तो वीभत्स हत्याकाण्ड रचेर शक्ति आर्जन गरेको इतिहासकार बाबुराम आचार्यले लेखेका छन्। अर्थात् विदेशीको षड्यन्त्र पुरानै रोग रहेछ। आज त्यसकै पुनरावृत्ति देखिन्छ।

कोतपर्व (हत्याकाण्ड) भएकै भोलिपल्ट जंगबहादुरलाई महारानी राज्यलक्ष्मीले 'कमान्डर इन चिफ। (त्यसबेला प्रधान सेनापति भनिएन।) बनाइन्। महारानीकै हुकुमअनुसार कोतको पटांगिनीमा हत्या गरे-गराएको बताएर राजालाई समेत तर्साउने जंगबहादुरकै नक्कल गर्दै चन्द्रशमशेरले राजा पृथ्वी वीरविक्रम शाहलाई पेस्तोल ताकेका थिए।

दाजु देवशमशेरलाई पदच्युत गरेपछि चन्द्रशमशेरले आफूलाई तत्काल श्री ३ घोषित गर्न र सैनिक सलामीका निम्ति हुकुम बक्सियोस् भन्दै राजाका कन्चटमा पेस्तोल ताकेको प्रसंग राणाकालीन इतिहासका अन्वेषक पुरुषोत्तम शमशेरले लेखेका छन्।नेपाली जनताले आज खोजेको राजनीतिक प्रणाली अधिनायकवाद, प्रभुत्ववाद, विस्तारवाद, साम्यवाद, समाजवाद र अतिवाद होइन।

राष्ट्रवाद प्रबल भयो भने त्यो राष्ट्र स्वतः सदृढ, समृद्ध र स्वावलम्बी हुन सक्छ भन्ने उदाहरण प्रस्तुत गर्दै जापान, इजरायल र सिंगापुरले विश्वलाई चकित बनाएका छन्। बुद्धको जन्मभूमि नेपाल दक्षिण एसियामा पनि शान्तिको दृष्टिले भुटानभन्दा पछाडि परेको छ। हालै अमेरिकाको विदेश मन्त्रालयले नेपाल अन्तर्राष्ट्रिय आतंककारीहरूको चौतारो बन्न सक्ने आशंका व्यक्त गरेको छ।

चीनले नेपालमा पश्चिमाहरूको अवाञ्छित गतिविधि अकन्टक रूपमा बढेकोमा पटकपटक चिन्ता व्यक्त गर्दै आएको छ। 'ब्रेकिङ इन्डिया। ग्रन्थका लेखक राजीव मलहोत्राले त कम्युनिस्ट्, कम्युनालिज्म (सम्प्रदायवाद) र अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (आईएनजीओ) सक्रिय गराएर पश्चिमाहरूले भारत टुक्र्याउने र नेपालमा आगो सल्काइरहने भविष्यवाणी गरेका छन्।

बितेका सात-आठ वर्षमा नेपालका दलहरू जुन बाटोमा हिँडिरहेका छन्, त्यो गन्तव्यहीन मार्ग (रोड टु नो ह्वेयर) सावित हुँदैछ। विवेकीहरू गन्तव्य नदेखेपछि पछाडि फर्किन्छन्। मूर्खहरू गलफत्ती गरेर समय बर्बाद गर्छन्। आजको नेपाली राजनीतिले यही संकेत गरिरहेको छ।
नेपाललाई समृद्ध र सुदृढ बनाउने हो भने कुनै तानाशाह चाहिँदैन। परम्परावादी शक्ति (राजसंस्था) र जनताबीच विश्वास, प्रेम, सहकार्य र एकता हुनुपर्छ। पृथ्वीनारायण शाहले एकीकरण गरेको नेपाल अखण्ड, स्वतन्त्र, स्वाधीन र समृद्ध हुनुपर्छ भन्ने राष्ट्रवादको बलियो धरातल बिर्सिएकै कारण आज राष्ट्र कमजोर बनिरहेको छ। राष्ट्रियता र प्रजातन्त्रको सुरक्षा गर्न राष्ट्रवादी र प्रजातन्त्रवादी शक्ति एकजुट हुनैपर्छ।
माओवादीहरू अतीतमोह (नोस्टाल्जिया ? ) बाट ग्रस्त छन्। पुष्पकमल दाहाललगायतले द्वन्द्वकालमा राखेको आफ्नै नाम अझै बोकेका छन्। सञ्चारमाध्यमलाई थाहा हुनुपर्ने हो, रत्नाकर डाँका 'सज्जन। भएपछि नयाँ नामले परिचित भए। पुरानो नाममा गर्व गरेनन्। किनभने त्यो दुःस्वप्न थियो।

हिजो सात हजारभन्दा धेरै घर, पसल र कारखानाबाट लुटेको अर्बौं रुपैयाँ, ६४ वटा बैंक लुटेर भेला पारिएको अथाह सम्पत्ति, लडाकुका नाममा प्राप्त एघार अर्ब रुपैयाँ, कब्जा गरिएका अर्बौं रुपैयाँबराबरका व्यक्तिगत सम्पत्ति ककसको अधीनमा छ भनेर अयोग्य भनिएका लडाकुहरूले नै 'डाकु। पत्ता लगाउन चाहे भने धेरै कथित नेता पुनः भूमिगत हुनेछन्। त्यस्तो अवस्थामा जनताले वादशाह रोज्छन् कि तानाशाह ? त्यो समयले बताउनेछ।

राष्ट्रियतालाई केवल नारा बनाएर हिँड्नेहरू गम्भीर नभएकाले दलका एजेन्डा र अडान पृथक्-पृथक् देखिएका छन्। उदाहरणको लागि, एमाले र उसको नेतृत्वको सरकारले 'एक चीन।

नीतिको समर्थन गर्छ भने एमालेका नेता कार्यकर्तामध्ये हजारौँले पश्चिमाहरूबाट प्राप्त आर्थिक सहायतामा गैरसरकारी संस्थाहरू चलाएका छन्। त्यसकै सहारामा धेरैले अकूत सम्पत्ति कमाएका छन्। यो छानबिन गर्छ, कसले ? त्यस्ता संस्थामध्ये धेरैजसो कुनै न कुनै रूपमा चीनविरोधी गतिविधिमा संलग्न रहेको पाइन्छ।

नेपाली कांग्रेसको कथा त्यस्तै छ। सो पार्टीमा नेपाली आत्मा भएका नेता विरलै छन्। जिल्लास्तरमा प्रायः सबै नेता राष्ट्रवादी र इमानदार भए पनि केन्द्रका नेताहरूमा राष्ट्रप्रेमको अभाव देखिन्छ। उनीहरूमध्ये धेरैजसो बाहिरी शक्तिका गोटी बनिरहेको पाइन्छ।

कुनै पनि तानाशाह रहर, आशीर्वाद र इच्छाले पैदा हुँदैन। विषम, जटिल, दुरुह, क्लिष्ट, दुर्दमनीय र भयावह परिस्थितिको बीचमा उभिएर हिम्मतका साथ राष्ट्र सम्हाल्न सक्ने दृढ विश्वासी व्यक्तित्वलाई जनताले समर्थन गरेर सर्वाधिकार दिएपछि बल्ल ऊ तानाशाह हुन्छ।

त्यस्तो व्यक्ति निजी, पारिवारिक, दलीय वा सबैखाले स्वार्थबाट माथि उठ्न सक्यो भने राष्ट्रवादी तानाशाह बन्छ। तर उसले समयमै असल व्यक्तिहरूको समर्थन जुटाउने प्रयास गर्नुपर्छ। सडेगलेका व्यक्तिहरूलाई अघिपछि लगाएर कोही पनि सफल बन्न सक्दैन। विदेशी पैसामा पनि फर्डिनान्ड मार्कोस जस्ता कैयन् तानाशाह भए तर जनताले लखेटेपछि भागेर पश्चिमी राष्ट्रतिरै लुक्न पुगे।

'राष्ट्रनिर्माता पृथ्वीनारायण शाहका दिव्योपदेशलाई राष्ट्रिय मूल नीतिको आधार बनाइएमा अहिलेको संक्रमणकाल, राजनीतिक र सामाजिक विषमता र बाह्य शक्तिको अविरल हस्तक्षेप रोक्न सकिन्छ। भन्दै राष्ट्रिय एकताका निम्ति बीसौँ वर्ष अघिदेखि निजी खर्चमा विभिन्न अभियान सञ्चालन गर्दै आएका पर्यटन व्यवसायी भरत बस्नेत भन्छन्, 'नेपाललाई समृद्ध र सुदृढ बनाउने हो भने कुनै तानाशाह चाहिँदैन।

परम्परावादी शक्ति (राजसंस्था) र जनताबीच विश्वास, प्रेम, सहकार्य र एकता हुनुपर्छ। पृथ्वीनारायण शाहले एकीकरण गरेको नेपाल अखण्ड, स्वतन्त्र, स्वाधीन र समृद्ध हुनुपर्छ भन्ने राष्ट्रवादको बलियो धरातल बिर्सिएकै कारण आज राष्ट्र कमजोर बनिरहेको छ। राष्ट्रियता र प्रजातन्त्रको सुरक्षा गर्न राष्ट्रवादी र प्रजातन्त्रवादी शक्ति एकजुट हुनैपर्छ। समयको चाहना पनि यही हो।

सर्वहारा वर्गको अधिनायकवाद भन्दै हिँडेका उग्र कम्युनिस्टहरूले अन्ततः चाहेको तानाशाही नै हो। त्यसैले उनीहरू राष्ट्रनिर्माणमा अभिरुचि राख्ने र प्रजातन्त्रका प्रमुख संस्थाहरू (कार्यपालिका, न्यायपालिका, व्यवस्थापिका र प्रेस जगत् आदि) तहसनहस बनाएर बेथिति सिर्जना गर्न खोजिरहेका छन्।

प्रजातान्त्रिक दल भनिएको नेपाली कांग्रेसले पनि प्रजातन्त्र, प्रेस, जनता र जनअधिकार सबै बिर्सेर सत्ता प्राप्तिलाई मूल ध्येय बनाएको देखिन्छ। प्रमुख प्रतिपक्षी दल कति जिम्मेवार हुनुपर्छ भने हेक्कासमेत छैन कांग्रेसलाई। राष्ट्र सधैँ यसरी नै छामछुम गरेर चल्दैन।

त्यसैले संक्रमणकाल अरू लम्बिँदै गयो भने सुदिन होइन, कुदिन मात्रै आउँछ। त्यही मौकामा भेष बदलेर अतिथि (तिथि नतोकी) जस्तै आउँछ कठोर तानाशाह। के हामीले त्यही दिन पर्खेको हो त ?
    - अन्नपूर्ण पोस्टबाट 
Labels:

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget