यसअघि संघीय गठबन्धनले पुतलीसडक, हनुमानस्थान, माइतीघर मण्डला र भद्रकालीबाट सिंहदरबार घेराउ गर्ने जनाएको थियो । आन्दोलनको पूर्वसन्ध्यामा दुई स्थानबाट मात्र सिंहदरबार घेराउ गर्ने भन्दै आन्दोलन परिचालन उपसमितिका संयोजक आङ्काजी शेर्पाले सूचना सम्प्रेषण गरिरहेका छन् ।
शेर्पाले माइतीघरमण्डला र हनुमानस्थानमा आइतबार बिहान ९ देखि बेलुका पाँच बजेसम्म धर्नामा बस्न २९ दलीय गठबन्धनका सदस्यहरूलाई निर्देशन दिएका छन् । आन्दोलन परिचालन सचिवालयका सदस्य केशव झाले आइतबार र सोमबारको धर्नापछि पूर्वनिर्धारित स्थान पुतलीसडक, हनुमानस्थान, माइतीघर मण्डला र भद्रकालीबाट सिंहदरबार घेराउ गर्ने बताए ।
स्रोतका अनुसार संघीय गठबन्धनले धर्ना र घेराउका लागि माइतीघर मण्डलामा संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, नेतृत्वमा १७ साना दल र हुनमास्थानमा तराईमधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर, सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो, राष्ट्रिय मधेस समाजवादी पार्टीका अध्यक्ष शरत्सिंह भण्डारी, तराईमधेस सद्भावना पार्टीका अध्यक्ष महेन्द्रराय यादवलगायत १२ दलको सहभागिता हुने जानकारी झाले दिए ।
संघीय गठबन्धनले सुरक्षाकर्मीबाट बल प्रयोग भएमा त्यसको प्रतिकार गर्ने योजनासहित रणनीति बनाएको छ । स्रोतका अनुसार प्रहरीसँगको झडपका लागि योजना बनाउने जिम्मेवारी आङ्काजी शेर्पाले जिम्मेवारी पाएका छन् । मोर्चाले आइतबार र सोमबारको धर्नालाई शान्तिपूर्ण अघि बढाउँदै सरकारसँग वार्ताको ढोका खुला गर्ने नीति तय गरेको जानकारी एक शीर्ष नेताले दिए । उनले भने, ‘सरकार र गठबन्धनबीच अनौपचारिक वार्ता भइरहेको छ । त्यसैले मोर्चाले एकैपटक चार स्थानमा आन्दोलन अघि नबढाएको हो ।'
गठबन्धनका संयोजक एवं संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले २९ दलका २६ बुँदे माग पूरा नभएसम्म शान्तिपूर्ण घेराउ कार्यक्रम जारी रहने बताए । उनले भने, ‘गठबन्धनको शान्तिपूर्ण आन्दोलनमाथि सरकारले हस्तक्षेप गरेमा प्रतिकार हुनेछ । मोर्चाले हातमा ददी जमाएर बस्दैन ।' सद्भावना पार्टीका महासचिब मनीषकुमार सुमनले आइतबार दुई ठाउँबाट घेराउ गरी क्रमशः पुतलीसडक, हनुमानस्थान, माइतीघर र भद्रकालीबाट घेराउ गर्नेछौं ।'
गठबन्धनले पहिचानसहितको संविधान नबनाएसम्म वर्तमान संविधान स्वीकार नगर्ने भन्दै शनिबार सरकारविरुद्ध प्रदर्शन गरेको छ । तत्कालीन राज्य पुनर्संरचना आयोग, पहिलो संविधानसभाको राज्य पुनर्संरचना तथा राज्यशक्तिको बाँडफाँड समितिको प्रतिवेदनलाई बेवास्ता गरेर प्रदेशको सीमांकन गरी संविधान बनाएको विरोधमा मोर्चाले प्रदर्शन गरेको हो । रत्नपार्कबाट सुरु भएको प्रदर्शन भद्रकाली, सहिदगेट, न्युरोड, असन हुँदै ठमेलमा पुगेर कोणसभामा परिणत भएको थियो ।
लाठी बरामद
संघीय गठबन्धन आबद्ध दल तथा मोर्चाले जनप्रदर्शन गर्ने योजनासहित ल्याएका लाठी प्रहरीले बरामद गरेको छ । प्रहरीका अनुसार नेपाल शेर्पा संघका कार्यकताले काठमाडौं बानेश्वरस्थित निषेधित क्षेत्र तोडी रत्नपार्कतर्फ जाने क्रममा उनीहरूको साथमा रहेका २२ वटा लामा लाठी प्रहरीले शनिबार बरामद गरेको हो ।
त्यसैगरी काठमाडौं महानगरपालिका–३४ शान्तिनगरस्थित खाली चौरमा आइतबार हुने भनिएको २७ ददीय कार्यक्रमका लागि तयार गर्दै गरेको अवस्थामा दुई सय थान बाँसका लाठी प्रहरीले नियन्त्रणमा लिएको छ । लाठी बनाउने व्यक्तिहरू फरार रहेकाले खोजी भइरहेको बानेश्वर वृत्तका प्रमुख डीएसपी नारायण चिमोरियाले बताए ।
‘दुवै पक्षबाट बल प्रयोग नहोस्'
गठबन्धनको आन्दोलनमा दुवै पक्षबाट जबरजस्ती र बल प्रयोगका घटना हुन नहुने धारणा नागरिक समाजका अगुवाहरूले राखेका छन् । उनीहरूले भनेका छन्, ‘शान्तिपूर्ण आन्दोलनकै क्रममा सरकार र आन्दोलनकारीहरू संवादद्वारा उचित निष्कर्षमा पुग्ने विश्वास गरेका छौं ।' उनीहरूले आन्दोलनका एजेन्डामा हुने वार्ता र निष्कर्ष जबाफदेही तथा पारदर्शी बनाउनसमेत आग्रह गरेका छन् ।
यसरी आफ्नो भनाइ सार्वजनिक गर्नेमा सुशील प्याकुरेल, कनकमणि दीक्षित, चरण प्रसार्इं, सुबोध प्याकुरेल, दिनेश त्रिपाठी, गणेश मण्डल, शिव विसंखे, रवि ठाकुर, यज्ञ थापालगायत छन् ।
- अन्नपुर्ण पोस्ट बाट
Post a Comment