Websoft University

www.radiomakalu.com || 021-522512


पाचन प्रणालीसम्बन्धी रोगका कारण




मुखबाट खाना खाएपछि मलद्वारबाट दिसाको रुपमा निस्कासन नभएसम्म पचाउने र त्यसमा भएको पोषणतत्व लिने समग्र प्रक्रियालाई पाचन प्रणाली भनेर हामी बुझ्छौं । हामीले खाना चपाएर मसिनो बनाएको अन्न निलेपछि अन्न नली हुँदै आमासयमा पुग्छ । आमासयले केही क्षणका लागि त्यो खानालाई भण्डारण गर्ने काम गर्छ । सानो आन्द्रामा पुग्नुअघि नै आमाशयले अन्नलाई अझै साना टुक्रा बनाउने काम पनि गर्छ ।

खानालाई टुक्रा पारेर पच्न सजिलो हुने बनाउनु आमासयको काम हो । आमासयले नै अन्नमा भएका कतिपय पोषण ग्रहण गर्छ । खानामा भएको पोषण र उर्जा लिने सानोआन्द्रा तथा त्यसको पनि माथिल्लो भागको काम हो । काब्रोहाइड्रेट, प्रोटिन, चिल्लोपदार्थ, भिटामिन, क्याल्सियम, आइरन लगायतका खानामा रहेका पोषण पचाउने काम सानो आन्द्राको माथिल्लो भागले गर्छ । सानो आन्द्राको तल्लो भागले भिटामिन बी १२ जस्ता केही निश्चित खालका पोषण पचाउने काम गर्छ ।

ठूलो आन्द्राले भने खाना पचाउने काम खासै गर्दैन । सानो आन्द्राले पचाउन नसकेको पोषण ठूलो आन्द्राले ग्रहण गर्छ । तर त्यसको मात्रा निकै कम हुन्छ । पानी, नुनको मात्रा शोषण गरेर दिसालाई केही कडापन दिनुमा ठूलो आन्द्राको भूमिका हुन्छ । ठूलो आन्द्राको दायाँ भागको काम दिसा आएपछि त्यसलाई केहीबेर होल्ड गरेर राख्नु हो । निस्कासनको अनुकुल वातावरण नभएसम्म होल्ड गर्न ठूलो आन्द्राकै दाया भागको भूमिका हुन्छ ।
पाचन समस्या

पाचन प्रणाली गडवड भएर आउने समस्याको मुख्य लक्षण दिसा पटक–पटक लाग्ने, पेट ढाडिने, फुलिने र कराउने आदि हुन्छ । यो लक्षणले खाना पच्न नसकेको संकेत गर्छ । त्यसमा पनि आन्द्राले कुन खालको खाना पचाउन गाह्रो भएको छ ? प्रोटिन, फ्याट, काब्रोहाइड्रेड लगायत कुन गाह्रो भएको छ ? गडवडीकोे थप विशेष लक्षण देखिन्छ । कुन चिज पचाउन गाह्रो भएको हो ? त्यसको सुनिश्चितताका लागि हामीले दिसा परीक्षण गर्ने, रगतको जाँच, सासको माध्यमबाट हेर्ने र इण्डोस्कोपीबाट सानो आन्द्राको झिल्ली निकालेर पनि पत्ता लगाउन सकिन्छ । कतिपय अवस्थामा हाम्रो पाचन प्रणालीले खानामा रहेका सबै पोषण नभई कुनै एउटा पक्षमात्रै पचाउन गाह्रो भएको पनि हुनसक्छ ।


किन आउछ अमिलो पानी ?



मानिसलाई खाना खाएपछि मुखमा अमिलो पानी आउने, छाती तथा घाँटी पोल्ने हुनसक्छ, जसलाई ‘हार्ट बर्न’ भनिन्छ । हार्ट बर्न भन्ने चलन भएपनि मुटु पोलेको होइन । यी लक्षणलाई मेडिकल शब्दाबलीमा जी.ई.आर.डी (ग्यास्ट्रो इसोफेजियल रिफ्लक्स डिजिज) भनिन्छ । अन्ननली र आमासयको बीचमा एउटा भल्भ हुन्छ । अन्न नलीबाट खाना जाने बेलामा केही खुकुलो हुने यो मासंपेशी अरु बेलामा साँघुरिएर बस्छ । यसको विशेषता भनेकै खाना एकतर्फी रुपमा पास गर्ने हो । तर कतिपयको अन्ननली र आमासयको बीचमा हुने भाग सामान्य अवस्थाभन्दा बढी खुकुलो भएकाले यस्तो समस्या हुन्छ । हर्निया भएका मानिसहरूको पनि आमासयको माथिल्लो भल्भ खुकुलो भएर अमिलो पानी आउने समस्या हुनसक्छ ।

कुनै विशेष कारणले आमासयको भल्भ केही समयका लागि खुकुलो भएर पनि अमिलो पानी या डकार आउने समस्या रहनसक्छ । गर्भवती अवस्था अर्को उदाहरण हो । उनीहरूको पेटको आकार बढेर आमासयमा दवाव पर्छ । त्यसले गर्दा भल्भ खुकुलो भएर अमिलो पानी आउने लक्षण बढ्छ । अर्को कारण गर्भवती अवस्थामा हुने हर्मोनको गडबड हो । त्यसले पनि अमिलो पानी आउने, वाकवाकी लाग्ने बनाइदिन्छ । कसैलाई पहिलो ३ महिना हुन्छ भने कसैको अवधि ९ महिनासम्म पनि जानसक्छ । यस्तो लक्षणले आत्तिनुपर्ने कुनै कारण त छैन । तर कतिपय महिलाहरूलाई भने कुनै खानेकुरा नखाने, पानी पनि नरहने भएकाले जलविनियोजन डिहाइड्रेसन भएर अस्पताल भर्ना गर्नेसम्म पनि हुनसक्छ । तर अधिकांशको पहिलो ३÷४ महिनापछि कम हुँदै जान्छ । त्यस क्रममै कतिपयलाई यति धेरै अमिलो पानी आइदिन्छ कि कुनै औषधिले पनि छुँदैंन ।

अन्य कतिपय कारणले पनि अन्ननली र आमासयको जङसनमा असर परेर अमिलो पानी आउछ । मानिसको आमाशयमा अम्ल हुन्छ । त्यो अम्ल फर्केर अन्ननलीमा वा मुखमै पनि आउन सक्छ, जसलाई हामीले अमिलो महसुस गर्छौं । आमाशयमा अम्ल बस्न नै अनुकुल संरचना हुने भएकाले त्यहाँ अम्ल रहँदा हामीले असजिलो महसुस गर्दैनौं । तर अन्ननली, मुख आदि अंग त्यस्तो अंम्लसँग सम्पर्क नहुने भएकाले त्यससँग लड्ने संरचना हँुदैन र अम्ल ती अंगमा पर्नासाथ हामीले पोलेको महसुस गर्छौं ।

हामीले खाएको खाना अन्ननली, आमासय, सानो÷ठूलो आन्द्रा हँुदै निस्कासन हुने निश्चित अवधि हुन्छ । हरेक अंगमा खाना केही समय भण्डारण हुन्छ । खानाको स्वरुप र प्रकृति हेरेर एउटा अंगबाट अर्कोमा जाने अवधि फरक पर्छ । झोल र पानी छिटो जान्छ भने ठोस पदार्थले केही समय लिन्छ । बोसो र चिल्लोयुक्त खाना खादा आमासयदेखि सानो आन्द्रामा जाने अवधि लम्बिन्छ । लामो अवधि आमासयमा रहने भएकाले बोसो र चिल्लोयुक्त खानाले अन्ननली र आमासयको जङ्सनलाई केही खुकुलो बनाइदिन्छ । फलस्वरुप हामीले अमिलो पानी आएको महसुस गछौं । गुलियो वा फलफूल खाँदा छिटो भोक लाग्छ । तर बोसो र चिल्लोयुक्त खाना खाएपनि अन्यको तुलनामा हामीलाई भोक पनि अलि ढिलो नै लाग्छ । आमासयबाट सानो आन्द्रामा खाना जान समय लाग्ने र पच्ने अवधि पनि लम्बिने भएकाले भोक ढिलो लाग्ने गरेको हो ।

डकार किन ?

डकार आउनु कुनै समस्या होइन र रोगपनि होइन । सामान्य अवस्थामा पनि हाम्रो शरीरमा दिनमा ४/५ लिटर ग्याँस बनिरहेको हुन्छ । हामी बोल्दाबोल्दै पनि अन्ननलीभित्र ग्याँस गइरहेको हुन्छ । थुक निल्दापनि ग्याँस गइरहेको हुन्छ । साथै खाना पचाउने क्रममा पनि मिथेन, कार्वनडाइअक्साईड लगायतका ग्याँस निस्कन्छ । कतिपय ग्याँस मलद्वारबाट निस्कासन हुन्छ । केही ग्याँस हामीलाई थाहा नै नभई अन्ननलीबाट मुख हुदै निस्कासन भएको हुन्छ । तर कतिपयले ग्याँस गएको बढी थाहा भएर ढ्याउ–ढ्याउ भएको अनुभव गर्छन् । कुनै–कुनै रोगका कारण पनि बढी ग्याँस उत्पादन हुन्छ । दुध वा दुधजन्य परिकार खाएमा पचाउन नसक्दा बढी ग्यास आउने हुन्छ । डकार आउनु सामान्य प्रक्रिया हो भने कतिपय अवस्था यो रोगको लक्षण पनि हुनसक्छ ।

पाचन प्रक्रियाका क्रममा आमासयदेखि सानो आन्द्रा, ठूलो आन्दामा समेत ग्याँस बन्छ । सानो आन्द्राले समेत पचाउन नसकेका खाद्यान्न ठूलो आन्द्राले पचाउन खोज्ने क्रममा त्यहाँ बढी ग्यास बन्छ र तल्लो भागबाट जान्छ । तर खाना पचाउने क्रममा बढी ग्याँस भने सानो आन्द्रामा नै बनेको हुन्छ । सागपात लगायतका खानेकुरा भने सहजै नपच्ने भएकाले ठूलो आन्द्रामा पचाउने प्रयास हुन्छ । त्यसक्रममै ग्याँस बन्छ । डकार जस्तै ग्याँस पनि कतिपय अवस्थामा सामान्य प्रक्रिया हो भने कतिपय अवस्थामा पेटसम्बन्धी रोगको लक्षण पनि हुनसक्छ ।

अल्सर के हो ?

आमाशय वा आन्द्राको भित्री भागमा कोतरिनु वा ब्रेक हुनु अल्सर हो । ती अंगको भित्री भागको छाला एकनासले गएको हुन्छ । त्यसमा चोट लागे, घाउ भए अल्सर हुन्छ । अल्सरका तत्कालिक र दीर्घकालिन असर हुन्छन् । अल्सरले विरामीको रक्तस्राव हुने, वाकवाकी लाग्ने, वान्ता हुने लक्षण हुन्छ । उपचार नभए लामो समयमा ती घाउमा प्वाल पनि पर्न सक्छन् । तर सुरुको मुख्य लक्षण रक्तस्राव नै हो ।

अनुसन्धानकर्ताहरूका अनुसार, अल्सरको मुख्य कारण एक प्रकारको जीवाणु हो, जसलाई ‘हेल्कोब्याक्टर पाइलोरी’ भनिन्छ । यस्तो जीवाणु सर्ने तरिकावारे उनीहरूको फरक–फरक मत छ । तर यो मानिसबाट मानिसमा सर्ने पुष्टि भइसकेको छ । सर्ने माध्यम र प्रक्रिया स्पष्ट हुन सकेको छैन । सानो शिशुको हेरचाहका क्रममा र कुवाको पानी लगायतबाट यो जीवाणु सर्नसक्ने भनेर उनीहरूले औल्याएका छन् । त्यो जीवाणु रहने मानव अंग आमासय नै हो । अल्सरको प्रमुख कारण ‘एच–पाइलोरी’ जीवाणु हो भनेर पत्ता लागेको पनि धेरै समय भएको छैन । सन् १९९० को दशकको अन्त्यतिर यो पत्ता लागेको हो । त्यसभन्दा अघि अल्सरको कारण धेरैलाई थाहा थिएन । यही अनुसन्धानका लागि सन् २००५ मा अष्ट्रेलियाका बैंज्ञानिकले नोबेल पुरस्कार पनि पाएका थिए । औषधि सेवनको असरस्वरुप पनि अल्सर हुने गरेको भेटिएको छ । एस्पिरिन, पेनकिलर खाइरहनुपर्ने बिरामीलाई अल्सरको समस्या देखिनसक्छ । क्यान्सर पनि ग्यास्टिकको अर्को कारण हुनसक्छ । खाना नपच्ने, नरुच्ने, पेट ढाडिएको जस्तो हुने आदि लक्षण देखिनसक्छ ।

पाचन रोगका कारणहरू

खानपानकै कारण ग्याष्ट्रिक हुन्छ भन्ने कुनै बैज्ञानिक कारण छैन । पीरो वा मसालेदार खानाका कारण अल्सर हुन्छ भन्ने कतिपयमा धारणा छ । बिरामीले पनि कुनै विशेष खानाले कम हुने र कुनै खानाले समस्या आउने अनुभव बताउछन् । तर त्यसमा कुनै बैज्ञानिक आधार र सत्यता छैन । स्वस्थ खाना अपरिहार्य छ । मुख्यतः सफा र सुघ्घर पानी नियमित रुपमा निकै पिउनुपर्छ । मानव शरीरको दुई तिहाइ भाग पानीले बनेको हुन्छ । हरेक कोषहरूमा पानीको मात्रा अत्यधिक हुन्छ, त्यसलाई कायम राख्न पानी आवश्यक पर्छ । हरेक अंग स्वभाविक रुपले सञ्चालन गर्न पानी आवश्यक पर्छ ।

लामो समय भोकै रहनु उचित होइन । लामो समय खाना नखाएमा आमासय र सानो आन्द्रामा पुग्ने अम्लले ज्यादा सक्रियता देखाउने स्थिति बन्छ । हामीले नियमित खाना खाए अम्ल खानासँग मिसिएर जान्छ भने खाना नहुँदा आमासयमा अम्लले सक्रिय हुने अवसर पाउछ । त्यसले अल्सरको सम्भावना बढ्छ भनिन्छ, यद्यपि यसमा पनि बैज्ञानिक पुष्टियुक्त आधार भने छैन ।

खाना आमासयदेखि सानो आन्द्रामा जान २ देखि ४ घण्टा लाग्छ । त्यसैले छिटो छिटो थोरै खाना खानु र पेट खाली नराख्नु राम्रो हो । त्यसमा पनि हामीले कुन खालको खाना खाएका छौं, त्यसले अवधि निर्धारण गर्छ । हामीले बोसोयुक्त खाना खाएको भए अली बढी समय पेटमा रहन्छ भोक पनि ढिलो लाग्छ भने कार्बोहाइड्रेट खालको खाना खाएमा कम समय रहन्छ र भोक छिटो लाग्छ । मानिसले खानासँगै पानी खानु हुँदैन भन्ने चलन छ, त्यसले शरीरमा हित गर्दैन भन्ने कुनै बैज्ञानिक कारण छैन ।

नियमित पानी पिउने गरेमा कब्जियत भएको बिरामीलाई अझै फाइदा हुन्छ । कतिपय औषधि सेवन गर्दा भने खाना र पानी खाने निश्चित तौरतरिका हुन्छ । कतिपय औषधि अन्ननलीमा लामो समय नरहोस् भन्ने उद्देश्यले त्यसो गरिएको हो । हामीले खाना खाँदा हतार नगरी चपाएर र सानो सानो टुक्रा पारेर खाएमा शरीरले पचाउन सजिलो हुन्छ । हाम्रो घाटीको संरचना नै ठोस खाना सजिलो छ । किनकि झोलका लागि निल्नुपर्छ । तर ठोसका लागि सहजै घाटीको संरचनाले सजिलो बनाइदिन्छ ।
कब्जियत

पेटसम्बन्धी देखिने धेरै समस्यामध्ये कब्जियत पनि एक हो । बुढ्यौली लागेको व्यक्तिमा अचानक कब्जियत देखियो भने कुनै रोगको कारण हुनसक्छ । पहिले समस्या नभएको तर उमेर ढल्किनासाथ अचानक कब्जियत देखियो भने क्यान्सरको लक्षण पनि हुनसक्छ । त्यस्तो विरामीले तत्काल जचाइहाल्नुपर्छ ।

खानाको प्रकार र स्वभावले पनि शौच गर्ने अवधि निर्धारण हुन्छ । खानामा फाइवरको मात्रा ज्यादा भएमा कब्जियतको समस्या नदेखिन पनि सक्छ । कोहीकोहीमा भने सानो उमेरदेखि नै शौचालयमा लामो समय लगाउने आदत हुन्छ । हामीले बालबालिकालाई कसरी शौचालयको आदत सिकाएका हुन्छौं, त्यसका आधारमा पनि उसले शौच बस्ने तौरतरिका र आदत निर्धारण हुन्छ । कब्जियतको समस्या हुनेले रोटी, सागपात जस्ता फाइवरयुक्त खानामा ज्यादा जोड दिनुपर्छ । फाइवर नहुने भएकाले जंकफुडमा जोड नदिँदा नै उचित हुन्छ ।

सानै उमेरदेखि शौचालयमा लामो समय लगाउनेहरूको भने आदत नै भइसकेको हुनाले कुनै रोगको लक्षण हो कि भनेर आत्तिनुपर्ने अवस्था रहँदैन । आजभोलिका बालबालिकामा कब्जियतको समस्या बढेको नै देखिन्छ । शौचालयमा जादा भिडियो गेम खेल्ने, मोवाइल चलाउने बानी बढ्दो छ । त्यसले गर्दा दिसा गर्ने क्रममा प्राकृतिक रुपले नै बल लगाउनुपर्ने मनस्थिति अन्यत्र मोडिएर जान्छ । र शौचालयमा उसले लामो समय लगाउँछ । यो आदतबाट कालान्तरमा कब्जियत देखिनसक्छ । कसैको भने जन्मजात नै कब्जियत हुनसक्छ । - डा. दीपेश गुर्वाचार्य
(ग्यास्टोइन्ट्रोलोजिष्ट गुर्वाचार्य पुल्चोकको निदान अस्पतालमा कार्यरत छन् ।)

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget