Websoft University

www.radiomakalu.com || 021-522512


आर्थिक विकास प्राथमिकता : प्रधानमन्त्री

 काठमाडौँ, जेष्ठ १५ गते  ।   प्रधानमन्त्री केपी ओलीले आर्थिक, सामाजिक विकासको प्रक्रिया जति छिटो अघि बढ्छ त्यति लोकतान्त्रिक गणतन्त्रलाई समृद्ध र बलियो बनाउन सकिने बताएका छन्। त्यसका लागि आर्थिक विकासको दिशामा अघि बढ्ने गरी सबै समस्याका समाधान वार्ता र संवादबाट खोज्ने दिशामा लाग्न राजनीतिक दलहरूलाई आग्रह गरेका छन् ।



‘संविधान जारी भएपछि अब आर्थिक विकास हाम्रो प्राथमिकता भएको छ। विकास कसरी अघि बढाउने भन्नेबारे हामी सल्लाहबाट सही नीतिहरू तय गर्दै अघि बढ्न सक्छौं। र, बढ्नैपर्छ,’ गणतन्त्र दिवसका अवसरमा प्रधानमन्त्री ओलीले जारी गरेको शुभकामना सन्देशमा छ, ‘कहींकतै केही राजनीतिक वा अन्य भिन्न विचार वा असहमति भए वार्ता र संवादकै माध्यमबाट समाधान गर्न सकिन्छ। तसर्थ, संवादबाट समस्याको समाधान खोज्ने प्रयासमा संलग्न रहन म सबैसँग पुन: आग्रह गर्दछु।’ उनले राजनीतिक संक्रमण मूलत: अन्त्य भएका र मुलुक आर्थिक, सामाजिक दिशामा अघि बढेको उल्लेख गरेका छन्।



सरकार शान्ति, लोकतन्त्र, सामाजिक न्याय र समानता, सार्वभौमसत्ता, स्वाधीनता, भौगोलिक अखण्डता र देशको राष्ट्रिय हित र स्वाभिमानको रक्षा एवं सुदृढीकरणका लागि प्रतिबद्ध रहेको उल्लेख गर्दै ओलीले सबै राजनीतिक दलहरू र आम नेपाली जनतासँग मुलुकलाई समृद्धिको मार्गमा अघि बढाउन सहकार्यका लागि आग्रह गरेका छन्।

‘हाम्रो देश विविधता र प्राकृतिक स्रोतहरूले धनी छ। यी स्रोत र सम्पदाहरूको सही ढंगले प्रयोग गर्दै देशलाई समृद्धिको बाटोमा अघि बढाउन यतिबेला हामीलाई राष्ट्रिय एकता र संकल्पका साथ तीव्र प्रयासको आवश्यकता छ,’ प्रधानमन्त्री ओलीको सन्देशमा छ। भूकम्पको महाविनाश, तनाव, आन्दोलन, बन्द र आपूर्ति व्यवस्थामा पैदा भएका महासंकटहरूलाई पार गरेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले धुलो टकटक्याएर पुनर्निर्माण र नवनिर्माणमा जुटिरहेको बताएका छन्।

‘अब समृद्ध नेपाल र सुखी नेपालीको हाम्रो आकांक्षालाई साकार पार्न दृढता र तीव्रताका साथ अघि बढ्नु आवश्यक छ,’ प्रधानमन्त्रीको सन्देशमा छ। संविधान जारी हुनुले नेपाली जनताले विगतमा लामो समय गरेका संघर्ष र बलिदानको सम्मान र ती संघर्षबाट प्राप्त उपलब्धिहरू संस्थागत भएको प्रधानमन्त्री ओलीको दाबी छ। ‘गणतन्त्रात्मक लोकतन्त्र संस्थागत भएको छ। यस संविधानले सबै नेपालीलाई समान हकअधिकार प्रदान गरेको छ। संविधानले राजनीतिक मात्र होइन, आर्थिक, सामाजिक, सांस्कृतिक हक सुनिश्चित गरेको छ’ सन्देशमा छ।

संविधानले नेपालमा बसोबास गर्ने समस्त आदिवासी, जनजाति, महिला, दलित, अल्पसंख्यक, मुसलमान, मधेसी, थारू, पिछडिएका वर्गलगायत सम्पूर्ण नेपालीले आजसम्मको संघर्षबाट प्राप्त गरेका हक अधिकार र अवसरको सुनिश्चितालाई संस्थागत एवं सबैको भाषा, संस्कृति, परम्परा, धर्मको संरक्षण र संवद्र्धनको बाटो फराकिलो र सामाजिक न्यायको प्रत्याभूति गरेको पनि सन्देशमा छ।

उनले आधुनिक नेपालको मजबुत जग निर्माण गर्ने जनमुखी एवं लोकतान्त्रिक राज्य व्यवस्थाको सूत्रपात भएको युगान्तकारी क्षणका रूपमा गणतन्त्र दिवसलाई लिनु पनि उल्लेख गरेका छन्। राष्ट्रनिर्माण गर्न, रक्षा गर्न र लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न प्राण उत्सर्ग गर्ने सम्पूर्ण सहिदहरूप्रति प्रधानमन्त्रीले श्रद्धासुमन प्रकट गरेका छन्। सहिदहरूका सपना साकार पार्न सबैलाई एकताबद्ध भएर अघि बढ्न पनि अपिल गरेका छन्।


Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget